
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले संसदबाट तेश्रो पटक विश्वासको मत पाएका छन् । यस अवधिमा गठबन्धन अदलबदल गरेका प्रचण्डले कांग्रेससँग नोकझोकमात्रै गरेनन्, एमालेसँग मिल्न चुनौति समेत दिएका छन् । बुधबार संसद बैठकमा कांग्रेसले धोकेबाज भन्दै प्रचण्डलाई प्रहार गरेपनि एमालेसहितका सत्तारुढ दलले भने कांग्रेसलाई एकाग्रह भएर जवाफ फर्काइरहे ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो तेश्रो कार्यकालमा तेश्रो पटक विश्वासको मत पाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रियामै संसदमा शान्ति भने कायम भएन । प्रचण्ड स्वयं नोकझोकमा उत्रिए । सांसदहरु त झन् के कम । संसदमा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सांसदले धोकेबाज मात्रै भनेनन्, एमाले–कांग्रेस मिले के हुन्छ भन्दै चेतावनी समेत दिए ।
कांग्रेसको यस्तो प्रश्न र धोकेबाज भन्ने शब्दमा चित्त दुखाएका प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एमालेसँग मिलेर देखाउन चुनौति दिए । उनले माओवादी युद्धका समयको प्रसंग जोड्दै हिजो मिलेर टाउको काट्न खोज्नु भएकै हो भनि प्रचण्डले एमाले र कांग्रेस सम्बन्धबारे टिप्पण मात्रै गरेनन्, कांग्रेसँगको आक्रोशलाई थप बढोत्तरी बनाएर लगे ।
संसदमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न र आक्रोशको वर्षात नै गरेपछि एमाले अध्यक्ष केपी ओलीले समेत कांग्रेसमाथि राजनीतिक हमला गरे ।
संसदको नोकझोक आक्रोश र सत्ताको छटपटीमा वितेपनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेपछि आफूमाथि नयाँ अभिभारा बढेको र जिम्मेवारी थपिएको दाबी गरे ।
उसोतः प्रचण्डमाथि विभिन्न किसिमले आक्रोश सत्ता पक्षबाटै आएका छन् । सत्ता पक्षका सांसदले विरोध मिश्रित विश्वासको मत दिएपछि प्रचण्डले उनीहरुलाई समेत लचकता अपनाएको भए हुन्थ्यो भन्दै अभिव्यक्ति दिए । तर, अहिलेको सत्ता गठबन्धन पनि स्वार्थ र सत्ता केन्द्रित बनेको आरोप भने लागिरहेको छ ।
विश्वासको मतको अंकगणित
संसदमा उपस्थित २६८ सांसदमध्ये १५७ जनाले प्रचण्डलाई विश्वासको मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ बसे ।
कसले दिए, कसले दिएनन् विश्वासको मत ?
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले प्रचण्डलाई विश्वासको मत दिएका छन् । भने नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी, जनमत र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका हुन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तठस्थ बस्यो ।