News 24 Television
हैरानी दिएपछि लात हानेको प्रचण्डको दाबी, अब संसदमा दुःख दिने काँग्रेसको चेतावनी !
Congress

काठमाडौँ । एकाएक काँग्रेससँगको सत्ता गठबन्धनलाई ‘लात हानेर’ नयाँ सत्ता समीकरण बनाएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसलाई आफूले घात नगरेको दाबी गरेका छन् । उल्टै काँग्रेसबाट आफूलाई विश्वासघात भएको र काँग्रेसभित्रका अनेक विचार समूहले आफूलाई हैरानी दिएको उनले बताएका छन् । काँग्रेसको विश्वासघात र हैरानीकै कारण आफूले एमालेसहितका दलहरूसँग नयाँ गठबन्धन बनाएको उनको दाबी छ ।

बुधवार विश्वासको मत लिनुअघि प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काँग्रेसको विश्वासघातको जगमा नयाँ सत्ता गठबन्धन खडा भएको बताए । सत्ताच्युत हुँदा काँग्रेसमा छटपटी बढेको र शोकगीत गाउँदै हिँडेको समेत उनले बताए । आफू पनि विगतमा सत्ताच्युत हुँदा कहिल्यै शोकगीत गाउँदै नहिँडेको भन्दै उनले त्यतिबेला पनि देश संकटमा रहँदा प्रतिपक्षको भूमिकामा नभई सरकारकै सहयोगमा लागेको जिकिर गरे । उनले पछिल्लो एक वर्षमा सत्तामा रहेको काँग्रेसभित्रका अनेक विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू हैरान भएर नै गठबन्धन फेरेको स्पष्ट पारे । गठबन्धन टुटेपछि काँग्रेसभित्रका सबै विरोधी समूह साम्य भएको र काँग्रेसको आन्तरिक एकता बलियो भएको समेत उनको भनाइ छ । काँग्रेसभित्रको पछिल्लो एकता र शान्ति आफ्नो कारणले भएको भन्दै उनले यसलाई राम्रोसँग टिकाउन आग्रह गरे । गठबन्धन फेरिँदा काँग्रेसभित्रको कचिङ्गल सफा भएकोमा आफू खुशी रहेको उनको भनाइ छ ।

काँग्रेसका शेखर, गगन लगायत समूहले सरकार र गठबन्धनको खोइरो मात्र खनेको, राम्रा कामको समेत प्रचार नगरेको र अन्तरघात गरेको कुरातर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले आफू साह्रो रिसाएको अवगत गराउँदै आएका छन् । हुँदाखाँदाको गठबन्धन टुट्नुमा काँग्रेसकै स्वार्थ समूह र असहयोगी चरित्र कारक रहेको उनले आरोप लगाउँदै आएका छन् । तर काँग्रेस प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीका सबै आरोप झुटा रहेको भन्दै खण्डन गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताए । आफ्नो पार्टीलाई दोषारोपण गर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उनले आपत्ति समेत जनाए । आफू अर्थमन्त्री हुँदा तयार पारेको मार्गचित्र नै मुलुकको अर्थतन्त्रलाई झनै गति दिने खालको रहेको दाबी गर्दै प्रवक्ता महतले उक्त मार्गचित्र वर्तमान सरकारले छोडेमा अर्थतन्त्र फेरि अप्ठ्यारोमा पर्ने चेतावनी समेत दिए ।

https://youtu.be/P-BA361cyRc

बुधबारकै प्रतिनिधिसभा बैठकमा काँग्रेसले अब संसदबाट सरकारलाई दुःख दिने चेतावनी दिइसकेको छ । आगामी दिनमा संसद सहजै चल्छ भनी सरकारले नसोच हुन्छ भन्दै काँग्रेसकी सचेतक सुशीला थिङले ‘दाग लागेका’ व्यक्तिलाई मन्त्री नियुक्त गर्नुको जवाफ समेत मागिन् । सहकारी ठगीमा मुछिएका र अनुसन्धानको दायरामा रहेका रवि लामिछानेलाई गृहमन्त्री बनाएर विद्यमान कानूनमा नै उथलपुथल ल्याउने काम प्रधानमन्त्री प्रचण्डबाट भएको भन्दै उनले यस सम्बन्धमा तत्काल जवाफ दिन समेत प्रधानमन्त्रीसँग माग गरिन् । उनले पूर्व–उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुरा बाहिर आएको र यस विषयको निराकरण नभएसम्म सदनका आगामी बैठक चल्न नदिने समेत चेतावनी दिइन् ।

हुँदाखाँदाको गठबन्धन टुटेर कांग्रेस सत्ताच्युत भएपछि प्रधानमन्त्री प्रचण्ड र सिंगो कांग्रेसबीच एकप्रकारको वाकयुद्ध नै चलेको छ । प्रचण्डले सरकारले गति लिन नसक्नु र एक वर्षसम्म पनि केही उपलब्धि हासिल नहुनुमा कांग्रेसी मन्त्रीहरू र पार्टीका गुटबाट असहयोग नै कारण देखाउँदै आरोपित गरिरहेका छन् । उता कांग्रेसका सबै गुट एकमत भएर प्रचण्डले धोका दिएको भन्दै उनको प्रतिवादमा उत्रिएका छन् । तर पनि प्रधानमन्त्री प्रचण्डले अझै पनि सबै दल एकजुट भएर देश विकासमा लाग्न र राष्ट्रिय सहमति बनाउन बताइरहेका छन् । उनले शान्ति प्रक्रियाका बाँकी काम पनि सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेकोले संसदमा अनेक बखेडा झिकेर अवरोध नगर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update