News 24 Television
ओली–प्रचण्डबीच झाँगियो प्रेम (भिडियो)
oli prachanda

काठमाडौं । नयाँ गठबन्धन बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्धमा एका–एक सुधार आएको देखिन्छ ।

विगतमा पानी बाराबारको स्थिति रहेको यी दुई पात्रबीच नयाँ गठबन्धनपछि काँध हालाहालको स्थिति देखिन्छ । यही फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले काँग्रेससँगको गठबन्धनलाई लत्याएर एमालेसहितको दलहरुको सहयोगमा नयाँ सरकार गठन गरेका छन् । त्यसपछि एमाले र माओवादी केन्द्रबीच एका–एक मिलन भएको हो ।

यो सँगै ओली र प्रचण्डबीच अहिले गठबन्धनमार्फत नयाँ समझदारी र सम्झौता भइरहेका छन् । निर्वाचन अघिको काँग्रेस र माओवादी गठबन्धनलाई भत्काएर एमाले अहिले सरकारमा सामेल हुन सफल भएको छ ।

सरकारमा सामेल भएलगत्तै देखि एमालेले संसद र सडकबाटै सरकारको पक्षमा चर्को आवाज उठाइरहेको देखिन्छ । नयाँ गठबन्धनपछि संसदमा सम्बोधन गर्दै एमालेले संसदको कार्यकाल भरी यो गठबन्धन कायम रहने घोषणा गर्यो ।

विगतको अनुभव र भोगाईबाट पाठ सिक्दै नयाँ गठबन्धन गरिएकाले यो सहकार्य टुटिहाल्छ भन्ने आशा नगर्न प्रतिपक्षी दललाई एमालेले चेतावनीसमेत दिइसकेको छ ।

नयाँ गठबन्धन बन्नु अघि एमाले र माओवादीबीच बाँकी ४ मध्ये २–२ वर्ष सरकारको नेृतृत्व गर्ने समझदारी भएको चर्चा छ । यही सम्झौतालाई परिपूर्ति गर्न प्रचण्ड र ओलीले नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा समेल गराउन पहल गर्दै गरेको थियो ।

माधवले भने सरकारमा आउन विभिन्न सर्त पेश गरेका थिए । उक्त सर्त पूर्ती हुने आशमा नेकपा एस पनि सरकारमा आइसकेको छ । बुधबार बसेको नेकपा एससहितको बैठकमार्फत पनि माधवलाई थप फकाउने प्रयास भएको थियो । उक्त बैठक सकारात्मक भएको माधवले समेत संकेत दिइसकेका छन् ।

फलस्वरुप नेकपा एसले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादीका उम्मेदवारलाई मत दिइसकेको छ । उता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डलाई दह्रो साथ दिने संकेत गरिरहेका छन् ।

उनले सार्वजनिक रुपमै सरकारको अनावश्यक आलोचना नगर्न नेताहरुलाई निर्देशन दिन दिइसकेका छन् ।

विगतमा प्रचण्डबाट ठूला–ठूला गल्ती भएपनि अहिले अनुचित गठबन्धनलाई तोडेर उचित गठबन्धनमा आएको भन्दै एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सम्म तयार भएको हो ।

वर्तमान सरकारमा एमालेका ८ मन्त्री सामेल छन् । त्यस्तै नयाँ गठबन्धन बनेपछि त्यसलाई टिकाउन एमालेले नै अन्य दलहरुलाई सरकारमा सामेल गराउन पहल गरेको थियो । त्यस्तैगरी नेकपा एकीकृत समाजवादीलाई पनि गठबन्धनमा सामेल गराउन प्रचण्ड र ओली तत्काल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए ।

त्यसयता माधवलार्ई ओली र प्रचण्डले छुट्टाछुटै भेटवार्ता गरेको बताइन्छ । मंगलबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुनुअघि पनि तीन नेताहरुबीच छलफल भएको थियो ।

नयाँ गठबन्धन बने लगत्तै काठमाडौमै आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले वर्तमान समयमा मुलुकको अवस्था र व्यवस्थामै सकारात्मक परिवर्तन आइसकेको उल्लेख गरेका थिए ।

मुलुकको हरेक क्षेत्रमा समानुपातिकता र समावेशीता स्थापित भइरहेको भन्दै विगतको भन्दा मुलुकमा अतुलनिय परिवर्तन आइसकेको जिकिर गरेका थिए । साथै उनले उक्त कार्यक्रमै वर्तमान सरकारको समेत खुलेर प्रशंसा गरेका थिए ।

(भिडियो)

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update