News 24 Television
थरीथरीका विचलन रोक्न मलाई विश्वासको मत दिनुहोस् : प्रधानमन्त्री
pm

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिन आग्रह गर्दै सो प्रस्ताव पेस गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संविधानको भावनाविपरीतका थरीथरीका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न सांसदहरूसामु आग्रह गरेका हुन् । विश्वासको मत लिनुअघि उनले प्रतिनिधिसभालाई सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले विश्वासको मत पाउन जरुरी रहेको बताए ।

“पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसद्को समर्थन चाहिएको छ,” प्रधानमन्त्रीले भने, “म सम्मानित संसद्लाई विश्वास दिलाउँछु हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता केही महिनामै सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ ।”

सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइने बताए । प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update