News 24 Television
यस्तो छ सुन तस्करीको विगतदेखि वर्तमानसम्मको नालीबेली
Sun-Taskari_100
  • सन्दिप शर्मा

काठमाडौँ । सुन तस्करीमा पूर्व उपराष्ट्रपतिको छोरा सहित सचिवालयकै संलग्नता रहेको खुलेपछि हाइप्रोफाइकै संलग्नतामा कसरी सुन तस्करी हुन्छ भन्ने चित्र देखिएको छ । विगतमा राजपरिवार सदस्य र गृहमन्त्री भएकै बेला कांग्रेस नेता खुमबाहादुर खड्का, तत्कालीन एमाले नेता बामदेव गौतम लगाएतका नेताहरुपनि सुन तस्करमा संलग्न रहेको अरोप लाग्ने गरेको थियो । अहिले माओवादीका नेता तथा उनीहरुका छोराहरु संलग्न भएको एक पछि अर्काे सुन तस्करीको काण्ड सार्वजनिक हुँदै आएको छ ।

पञ्चायत कालमा राजा महेन्द्रले मनाङका बासिन्दालाई व्यापारिक काममा अगाडि बढाए र तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उनीहरुलाई तेस्रो मुलुकबाट सुन ल्याउँदै भारत पुर्याउने काममा संलग्न गराँउदै सुन तस्करीमा संलग्न गराएको आरोप छ । यहिबाट नेपालमो सुन तस्करीको इतिहास शुरु भएको मानिन्छ ।

पञ्चायत कालमै २०४२ फागुन २३ गते तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा तीन किलो सुनसहित समातिएका थिए । ०४४ सालमा तत्कालीन अधिराजकुमार धिरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डीबी लामा सुन तस्करीको अभियोगमा पक्राउ परेका थिए । ०४६ को राजनीतिक परिवर्तनपछि तस्करीको लाइन झनै खुल्यो । तस्करहरुले २०४६ सालपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मुख्य नाका बनाए । सञ्चार उद्यमी तथा व्यापारी जमिम शाह पनि सुन तस्किरीमा संलग्न रहेको आरोप छ । शाह हत्याको छानबिन गर्न गठित आयोगमा प्रकाश टिवडेवालले सुन तस्करीमा उच्च पदस्थ व्यक्तिको संलग्नता रहेको बयान दिएका थिए ।

तत्कालीन गृहमन्त्री वामदेव गौतमको नाम उनले लिएका थिए । सेप्टेम्बर ३, २००८ मा पठाइएको अमेरिकी सरकारको केबलमा समेत गौतम सुन तस्करीमा संलग्न भएको उल्लेख गरिएको छ । टिवडेवालले सुन तस्करी गर्नेहरुले सरकार बनाउनेदेखि ढाल्नेसम्मको काम गरेको बयान दिएका थिए । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार ढालिएपछि शेरबहादुर देउवा नेतृत्वमा सरकारमा खुमबहादुर खड्का गृहमन्त्री बने र उनकै संरक्षणमा सुन तस्करी मौलाएको आरोप छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की पनि सुन तस्करीमा मुछिएका थिए । उनीमाथि अख्तियार प्रमुख हँुदा विमानस्थलमै टोली खटाएर तस्करीको सहजीकरण गरेको आरोप छ ।

मोतीलाल बोहरा आइजिपी हुँदा जमिमले विमानस्थलबाट सुन तस्करी गरेको टिवडेवालले बताएका थिए । दाउद इब्राहिमका भाई अनिश इब्राहिमले दुबईबाट काठमाडौँमा सुन पठाउने गरेको र त्यसको व्यवस्थापन जमिमले गरेको बयानमा उल्लेख छ । अर्थमन्त्री हुँदा विमानस्थलबाट सुन तस्करीमा संलग्न भएका रविन्द्रनाथ शर्मा मरणोपरान्त अदालतबाट दोषी ठहर भएका थिए ।

२०६२÷०६३ सालको आन्दोलनपछि नेकपा माओवादी सरकार पुगेपछि अहिले माओवादीका नेता तथा कार्यकर्ताहरु सुन तस्करीमा मुछिएको घटना बढेको छ । २०७४ भदौमा सिआइबीद्वारा १५ किलो सुन बरामद भएपछि सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका तत्कालीन प्रमुख राजकुमार पौडेल फरार भए । उनी माओवादी निकट थिए । उनी मात्र होइन, माओवादीका उपल्लो तहका नेताहरू पनि सुन तस्करीमा सोही बेला मुछिएका थिए । तर प्रहरीले प्रमाण अभावमा पक्राउ गर्न सकेको थिएन ।

गत पुस १० गते त्रिभुवन विमानस्थलमा ल्याइएको तस्करीको ९ किलो सुनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको संलग्नता रहेको कुरा बाहियो । राहुल अनुसन्धानका लागि हिरासतमा छन् भने कृष्णबहादुर महरालाई समेत प्रहरीले बयान लिएको थियो ।

त्यसैगरी वर्तमान् अर्थमन्त्री तथा माओवादी नेता बर्षमान पुन पनि सुन तस्करीमा संलग्न रहेको आरोप छ । उनका कान्छा भाई प्रनिस पुन मगर ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ गिरोहको व्यापारीक साझेदार रहेको खुल्न आएको थियो । दावा छिरिङले रोल्पाकी अमला रोकासंग विवाह गरेका छन् ।

दावाको पूर्व सभामुख समेत रहेकी बर्षमान् पत्नि ओन्सरी घर्तिमगरसंग पनि सम्बन्ध राम्रो रहेको अनुसन्धान अधिकारीहरु बताउँछन् । त्यसैगरी सुन तस्करी प्रकरणमा माओवादी नेता तथा पुर्व उप–राष्ट्र«ति नन्दकिशोर पुनका छोरा जितेन्द्र पुन मगर सहित सचिवालयका व्यक्तिहरु पनि संलग्न रहेको तथ्यहरु बाहिरिएका छन् । त्यसैगरी पूर्व उपराष्ट्र«पतिका छोरा जितेन्द्र पुनले चीनबाट नेपालमा सुन तस्करी गरेर ल्याउने गरेको पनि देखिएको छ ।

https://youtu.be/mqwnBe609Ag

चीनको सेन्जेन सिन्वाङजियाओ ज्वेलरी कम्पनीबाट करिब पाँच पटक कारोबार गरेका जितेन्द्रले २०७६ असोजमा चार किलो सुन ल्याउँदा अढाई करोड मूल्य निर्धारण गरी एक वर्षभित्र भुक्तानी गर्न तमसुक गरिएको र दैनिक २० हजारका दरले एक वर्षमा ७१ लाख ब्याजसमेत जोडी करिब सबा तीन करोड भुक्तान गर्न तमसुकमा हस्ताक्षर र ल्याप्चे पनि लगाएको भिडियो बाहिएको छ । तर जितेन्दले्र सुन ल्याए पनि हालसम्म चिनियाँ व्यापारीलाई सुनको रकम भुक्तान नगरेको बताइन्छ ।

यसरी खरिद गरेको सुन जितेन्द्रले तिब्बतको पुराङ काउन्टी (ताक्लाकोट) मा तमसुक गरेर हुम्लाको हिल्सा नाका हुँदै ल्याउने गरेका थिए । त्यसका लागि उनले शक्तिको दुरुपयोग गर्दै हुम्लाको सिमकोट ठेगाना देखाई सीमावर्ती क्षेत्रको बासिन्दाका रूपमा वारपार गर्न गृह मन्त्रालयबाट पास लिएको खुल्न आएको छ ।

सुन तस्करीको अनुसन्धान बारे के भन्छ सिआईबी

सुन तस्करीमा एक पछि अर्काे गर्दै हाईप्रोफाइल, उनीहरुको परिवारका सदस्य सहित माओवादी पार्टी सचिवालयकै व्यक्तिहरुको संलग्नता खुल्दै आएपछि सुन तस्करीको जालो ठुलै रहेको देखिन्छ । यसबारे अनुसन्धान गर्दै आएको सिआईबीले सानो ठुलो व्यक्ति नभनी सिआईबीको सहयोगमा भन्सार कार्यालयबाट पछिल्लो सुन प्रकरणबरे अनुसन्धान भै रहेको जनाएको छ ।

नेपालमा हुने सुन तस्करीको घटनामा हाइप्रोफाइलकै संलग्नता रहेको पुष्टि गर्ने आधारहरु धेरै हुदाँ पनि अनुसन्धानको दायरामा कमै मात्रामा आउने गरेको विगतको इतिहास छ । यसपटक पनि सोही प्रवृत्ति दोहोरीएमा देश चोरलाई चौतारा बन्दै गएको कथन पुष्टि हुन जान्छ । त्यसैले यो प्रकरणमा संलग्न देखिएका सबैलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update