News 24 Television
तस्कर, गुण्डा र अपराधी समात्न मेरो आदेश कुर्नु पर्दैन : गृहमन्त्री रवि
Rabi-3

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरका प्रहरीलाई निर्देशन दिँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पक्रन निर्देशन दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले गैरकानुनी धन्दा र आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही गर्न माथिको आदेश कुरेर नबस्न र कानुन अनुसार अघि बढ्न अपिल नै गरेका छन् । उनले गैरकानुनी धन्दा, कर छली, तस्करी, गुण्डागर्दी, धाकधम्की लगायत गतिविधिमा संलग्न जोकोही भए पनि कानुनका दफा देखाएर सीधै कारबाही गर्न निर्देशन दिएका हुन् । कानूनी राज्य के हो भनेर त्यस्ता व्यक्तिलाई दखाइदिन समेत उनले आग्रह गरे ।

आफूले प्रहरीको स्यालुट लिने नभई बरु असल काम गरेमा प्रहरीलाई नै आफूले स्यालुट ठोक्ने भन्दै लेखिएको उनको स्टाटसमा मिश्रित प्रतिक्रिया आएका छन् । कतिले भनेका छन्– फेसबुकमा लेख्न त हर्क साम्पाङ छँदै छन्, रविले त चुपचाप काम गरेर नतिजा दलेखाउनुप-यो । धरानका मेयर साम्पाङ फेसबुकमा धेरै लेखेर फुर्ति देखाउने मेयरको रुपमा बदनाम हुँदै आएका छन् । गृहमन्त्री लामिछानेले आफूले गृह मन्त्रालय पाएमा डेलिभरी दिने बताउँदै आएका थिए । केही दिनअघि उनले चेक लिस्ट लिएरै आएको र केही समयमै परिणाम देखाउने भनेर स्टाटस लेखेका थिए । उनको आशय आपराधिक गतिविधिमा मुछिएका र संलग्नहरु को–कोलाई कारबाही हुने, पक्राउ गरिने वा अनुसन्धान थालिने भन्ने नामावली नै आफूसँग छ भन्ने थियो ।

पूर्व सञ्चारकर्मी रहेका लामिछाने छोटो समयमै राजनीतिमा उदाएर दोस्रोपटक गृहमन्त्रालयको नेतृत्व हातमा लिन सफल भएका छन् । यसअघि गत वर्ष करिब एक महिना मात्र गृहमन्त्री बनेका लामिछाने नागरिकता काण्डमा मुछिएपछि निलम्बित भएका थिए । पुनः निर्वाचित भएर अहिले दोस्रोपटक शक्तिशाली रुपमा उदाएका उनले अब बोलेजसरी काम गर्न सक्छन् कि सक्दैनन्, परीक्षा बल्ल सुरु भएको छ ।

आइतबार गृहमन्त्रीको रुपमा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका लामिछानेले त्यस क्रममा पनि हरेक नागरिकले सुरक्षाको अनुभूति हुनेगरी सेवा प्रवाह गर्न र कसैको अनुहार, पद, प्रतिष्ठा नहेरी प्रमाणका आधारमा निष्पक्ष भएर अपराध अनुसन्धान तथा कारबाही अघि बढाउन निर्देशन दिएका थिए । उनले कुनै पनि घटनाका प्रतिवादीलाई कसैको आदेशका आधारमा नभई प्रमाणका आधारमा दोषी ठह-याउन र आवश्यक कारबाही गर्ने भनेका थिए । प्रहरी कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रही निर्वाह गर्नुपर्ने र उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने समेत उनले बताएका थिए । पछिल्लो समय मिटरब्याजपीडित, सहकारीपीडितको समस्या ठूलो चुनौतीको रूपमा देखा परेको भन्दै गृहमन्त्रीले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागुऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न पनि प्रहरीलाई आग्रह गरे ।

https://youtu.be/bobUrCw_nLY

हुन त मन्त्री बनेपछि अवलोकन, निरीक्षण भ्रमणमा जाने, निर्देशन दिने पुरानै परिपाटी हो । यो केवल औपचारिकताका लागि गर्ने गरिन्छ । वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विगत एक वर्षदेखि राम्रो कामको रटान लाउँदै निर्देशन दिनेमा एक नम्बर थिए । तर सरकारका कामको कुनै प्रभावकारिता नदेखिएपछि उनले गठबन्धन नै फेरेर नयाँ मन्त्रीमण्डल गठन गर्ने जोखिम उठाए । नयाँ मन्त्रीहरुमा रविजस्ता ‘अनटेस्टेड’ र आशलाग्दा अनुहार देखिनु सकारात्मक कुरा हो । यद्यपि चटक देखाउनका लागि मात्रै फेसबुके निर्देशन दिने, भाषण छाट्ने, फुर्ति लाउने भन्दा पनि दूरदर्शी सोच राखेर काममा जुट्नु अहिलेको आवश्यकता हो । चौतर्फी भ्रष्ट्राचारले मुलुक आक्रान्त भइरहँदा र प्रमुख नेताकै नातेदारहरु तस्करी, भ्रष्टाचार, सरकारी जग्गा हडप्ने लगायत आपराधिक काममा संलग्न रहँदा गृहमन्त्री लामिछानेले के कस्तो एक्सन लिन सक्छन् वा सक्दैनन्, यो अबको आम चासोको विषय हो ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update