News 24 Television
राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित
PRO-KTM-IMG_0701

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरिन् ।

त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भएका थिए । एक सांसद तटस्थ बसे । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम छन् ।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरिन् ।

सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update