
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौँ । सत्तामा नयाँ समीरकणदेखि स्वास्थ्य मन्त्री विहिन बनेको स्वास्थ्य मन्त्रालयले नयाँ मन्त्रीका रुपमा उपेन्द्र यादवलाई पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालायमा नियुक्त भएका यादवले पद तथा गोपनियताको सपथपछि आइतबार पदबहाली समेत गरिसकेका छन् । पाँच वर्ष अगाडी स्वास्थ्य मन्त्री बनेका यादव यो पटक पुनः स्वास्थ्य मन्त्री बन्न सफल बनेका हु्न् । पदवाहाली गर्दै मन्त्री यादवले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । तर, मन्त्री यादवले स्वास्थ्य क्षेत्र सुधारका लागि कस्ता काम गर्न आवश्य देखिन्छ त ?
कांग्रेसभित्रको किलचोका कारण प्रभावित बन्दै गएपछि सत्तामा नयाँ समीकरण बन्यो । योसँगै १० महिना अघि स्वास्थ्य मन्त्री बनेका नेपाली कांग्रेस सांसद मोहनबाहादुर बस्नेत पदबाट वर्खास्त भए । बस्नेत बर्खास्त भएपछि केहि समय रिक्त बनेको स्वास्थ्य मन्त्रीको पदमा जनता समाजवार्दी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्रीका रुपमा भित्रिएका छन् । उनले वि.स २०७५ मा पनि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा काम गरेका थिए । तर उनले आफ्नो त्यस कार्यकालमा स्वास्थ्य क्षेत्रमा सम्झन योग्य खासै काम गर्न भने सकेका थिएनन् ।
अहिले पुनः उनी स्वास्थ्य मन्त्री पदमा आएका छन् । त्यसैले उनले स्वास्थ्य क्षेत्रको सुधारका साथै विगतमा आफुले गर्न नसकेको कामलाई पूर्णता दिने अवसरका अब आएको बताएका छन् । स्वास्थ्य मन्त्रीको पदवाहलीसंगै उनले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनु,संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाइलाई घटाउन छिटोछरितो बनाउन आवश्यक निर्देशन दिने लगायतका निर्णय गरेका छन् ।
स्वास्थ्य क्षेत्र निकै संवेदनशील क्षेत्र हो । स्वास्थ्य मन्त्री बनेर यो पदमा आएर काम गर्न चुनौति मात्र छैन कामसंगै आलोचित बढि हुने पदका रुपमा समेत लिने गरिन्छ । मानव स्वास्थ्यसंग सरोकार राख्ने विषय भएका कारण पनि स्वास्थ्य मन्त्रालयको मन्त्री पद सम्हाल्नु र जनअपेक्षा अनुरुप काम गर्नु आफैमा पनि चुनौतीपूर्ण छ । तर यो असंभव पक्कै होइन । स्वास्थ्य क्षेत्रमा अहिले मात्र नभर विगत देखि थुप्रदै आएका विभिन्न समस्या अहिले पनि स्वास्थ्य क्षेत्रका लागि टाउको दुखाईको विषय बनेको छ ।
स्वास्थ्य मन्त्री यादवलाई विज्ञहरुको सुझाव
– स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन दरवन्दी संख्या बढाउनु, रिक्त दरबन्दी परिपूर्ति गर्नु तथा विज्ञताका आधारमा जिम्मेवारी प्रदान गर्नु पर्ने
– स्वास्थ्य बीमामा वेथिति बढ्दै गएकाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका त्रुटि पहिचान तथा बीमा कार्यक्रम प्रभावकारी बनाउन उचित कार्ययोजना सहित तत्काल लागू गर्न आवश्यक
– आधारभूत स्वास्थ्य सेवा सबैको सहज पहुँचमा पु-याउन जोड दिन आवश्यक जसले गर्दा केन्द्रीय अस्पतालमा चाप घटाउन सकिने र विशेषज्ञ स्वास्थ्य उपचारमा समेत सहजता हुने
– नेपालले संम्भावना बोकेको आयुर्वेदको उपचार सेवालाई विकास र विस्तार गर्न सिंहदरबार वैद्यखाना, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अहिलेको समस्या समाधान गरी यसको विकास र विस्तारका लागि बलियो कार्ययोजना बनाउन आवश्यक
– स्वास्थ्य सामग्री खरिद प्रक्रियामा हुने गरेका अनियमता घटाउन उचित कार्ययोजना बनाउन तथा लागू गर्न आवश्यक
पाँच वर्षपछि पुनः स्वास्थ्य मन्त्री बनेर आएका यादवले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि कस्तो योजना बनाएर काम गर्लान् त्यो भने आगामी दिनहरुले देखाउने छ ।