
काठमाडौँ । फागुन २९ गतेका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता भएको छ । योसँगै माओवादी केन्द्र र कांग्रेसबीच राष्ट्रियसभा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको छ । राष्ट्रियसभाको अध्यक्ष चयनका लागि सत्ता पक्षलाई स्पष्ट बहुमत देखिएको भन्दै उत्साहित गठबन्धन र कांग्रेसबीचको रणनीतिक प्रतिष्पर्धा थप रोचक हुने देखिन्छ ।
राष्ट्रियसभाका लागि नेपाली कांग्रेसले अप्रत्यासित निर्णय गर्नुपर्ने स्थिति आइलाग्यो । शुरुमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता गठबन्धन टुटेसँगै फरक भूमिकामा उभिने स्थिति बनेको हो । सिटौलाले आफूलाई प्रधानमन्त्री प्रचण्डले धोका दिएको भन्दै क्रुद्ध बनिरहेका बेला हार्ने चुनाव भन्दै कांग्रेसले युवराज शर्मालाई अघि सार्ने निर्णय ग¥यो भने माओवादी केन्द्रले उस्ताहित हुँदै नारायण दाहाललाई अघि सार्ने निर्णय ग-यो ।
राष्ट्रियसभामा दुई पार्टीबीचको प्रतिष्पर्धा हुने भएपनि निर्वाचनको माहोल भने रोचक बन्न पुगेको छ । सत्ता गठबन्धनलाई राष्ट्रियसभाको सबैभन्दा ठलो दल माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको समर्थन हुनेछ भने कांग्रेसलाई लोसपाको मात्रै समर्थन छ । यस्तोमा दाहाल निर्वाचित हुनेमा कुनै आशंका भने देखिन्न । तर, उम्मेदवारी मनोनयनपछि कांग्रेसका युवराज शर्माले आफू निर्वाचित भए राष्ट्रियसभाको गरिमा बढाउनका लागि काम गर्ने दाबी गरेका छन् ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका नारायण दाहालले भने आफू राष्ट्रपतिबाट मनोनित भएकाले दलीय ह्याङओभर नहुने र निष्पक्ष काम गर्न सक्ने दाबी दोहो¥याए ।
सत्ता समिकरणमा भएको फेरबदलपछि दाहालले राष्ट्रियसभा अध्यक्षको भूमिका निर्वाह गर्ने मौका पाउने देखिन्छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेकाले दाहाल निर्वाचित हुने अपेक्षा गरिएको छ । तर, माओवादी केन्द्रभित्र दाहालको उम्मेदवारीलाई लिएर विवाद भने तीब्र बनिरहेको छ । प्रचण्डले परिवारवाद लागू गराउन खोजेको भन्दै विरोध चलेको छ । अध्यक्षको दौडमा रहेका झक्कुप्रसाद सुवेदी, राष्ट्रियसभा उपाध्यक्ष रहेकी उर्मिला अर्याल र कांग्रेसका कृष्णप्रसाद सिटौला भने किनाराकृत भएका छन् ।