News 24 Television
प्रचण्ड फेरि धरमरमा, ओली–देउवा खेलले तनाव !
pp

काठमाडौँ । माओवादी केन्द्रको नेतृत्वमा एमालेसहित बनेको सत्ता गठबन्धनमा अनेक प्रश्न उब्जिनेक्रम जारी छ । सत्ता गठबन्धन सत्ता बारगेनिङदेखि अनेक माग पुरा गराउन खोज्ने विषय बनेपछि यसको स्थिरतामाथि नै प्रश्न उठेको छ । के यो सकार बाँकी कार्यकाल सहकार्य गर्न सफल होला त ? के छन् सम्भावनाका आधार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेसँगै विश्वासको मत लिने तयारी तीब्र पारेका छन् । राष्ट्रियसभाको चुनावमा माओवादी केन्द्रले बाजी मार्ने अपेक्षा र विश्वासको मतमा समस्या निम्तिन नदिने एमालेको प्रयासमा केहि अप्ठ्यारो स्थिति सिर्जना हुने त होइन ? आशंका उब्जिन थालेको छ । सत्ता सहकार्य जटिल परिस्थितिमा बनेकाले यसलाई टिकाउन समस्या भएको र चुनौति पनि रहेको एमालेकै प्रष्टोक्ति छ ।

सत्ता गठबन्धनको स्थिरता र सहकार्यको सम्भावनाबारे सत्तारुढ दलभित्रै मतभिन्नता देखिएको बेला सरकारमा सहभागीता जनाएपनि विभिन्न अड्को थाप्दै सरकारलाई विश्वासको मत दिने विषयलाई समेत बार्गेनिङको विषय बनाउन खोजिएको छ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले लिखित सहमति नजनाए विश्वासको मत दिन आवश्यक छैन भन्दै दिएको धम्कीले पनि सत्ता गठबन्धनभित्र शक्तिको खेल उदाङ्गो बनेको प्रष्ट संकेत गरेको छ ।

सत्ता गठबन्धनलाई लिएर विभिन्न प्रक्षेपण चलेपनि एमालेले यसलाई राजनीतिक दायित्वको रुपमा लिएको दाबी गर्दै आएको छ । तर, सरकारको स्थायित्वमाथि भने प्रश्न कायमै छ ।

कांग्रेसको प्रयास जारी

सत्ताबाट प्रतिपक्षी बनेको कांग्रेस प्रधानमन्त्री प्रचण्डले धोका दिएको भन्दै आक्रोशित छ । प्रचण्डले जनमतको अपमान गरेको भन्दै उनले यसको मूल्य चुकाउनुपर्ने दाबी कांग्रेसको छ भने कांग्रेस महामन्त्री गगन थापा अब चुनावी गठबन्धन नहुने भन्दै खुशी व्यक्त गरिरहेका छन् ।

कांग्रेसले आक्रोश मात्रै पोखिरहेको भने छैन् । उसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मतमा समस्या सिर्जना गर्ने गरि रणनीति तयार गरिरहेको छ । कांग्रेसले आफ्ना सांसदलाई फागुन ३० गते संसदमा अनिवार्य उपस्थित हुन र विश्वासको मत नदिन ह्वीप नै जारी गरेको छ । कांग्रेसले ह्वीप जारी गर्ने मात्रै नभएर प्रचण्डसँग बदला लिने गरि सत्ता गठबन्धनलाई ढाल्ने प्रयास तीब्र पारेकाले पनि सत्ता गठबन्धनमा रहेका साना दलहरुले च्याँखे थाप्नेक्रम शुरु भएको कतिपयको विश्लेषण छ । यस्तोमा नयाँ सत्ता गठबन्धन भत्काउने कांग्रेस रणनीति सफल होला ? प्रश्न र आशंका उत्तिकै छन् ।

https://youtu.be/Svq6rBsdEJg

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update