News 24 Television
प्रचण्डले धाेका दिएपछि हातैमा आइसकेको राष्ट्रियसभा अध्यक्ष पद फुत्कियाे
Sitaula_Ra_Prachanda_100

काठमाडौँ । राष्ट्रियसभाको चुनाव फागुन २९ गतेका लागि तय भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चुनावको मिति केहिदिन सार्न गरेको आग्रहलाई राष्ट्रियसभाले अस्वीकृत गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि अध्यक्षको दौडकै लागि हौसिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला आक्रोशित छन् । सिटौला यसरी आक्रोशित हुनु पछाडीका राजनीतिक घटनाक्रम के छन् त ?

राष्ट्रियसभाको चुनाव फागुन २९ गतेका लागि तय भएको छ । फागुन २९ गते निर्वाचन कार्यतालिका बनेपछि अब उम्मेदवारको टुंगो लगाउनु पर्नेछ । यस्तोमा सत्ता पक्षले माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनाउने सहमति नै सार्वजनिक गरिसकेको छ, भने प्रतिपक्ष कांग्रेस अब राष्ट्रियसभामा हार्ने चुनावका लागि उम्मेदवारी दिने तयारीमा छ । तर, गठबन्धन फेरिनुअघि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कांग्रेस नेता सिटौलालाई अध्यक्षमा अघि सार्न सहमति जनाएका थिए, जुन कुरा प्रचण्ड आफैले स्वीकार गरिसकेका छन् ।

कांग्रेससहितको गठबन्धन रहेको बेला सिटौलालाई अध्यक्ष बनाउने भन्दै कांग्रेसले उम्मेदवर बनाएर निर्वाचित नै गराएपनि प्रचण्डले कोशीमा कांग्रेसबाट आफ्नो उम्मेदवारलाई हराएको रिस पोख्ने गरि गठबन्धन फेरिसकेका छन् । यस्तोमा माओवादीले अघि सार्ने उम्मेदवार नै अबको राष्ट्रियसभा अध्यक्ष बन्ने लगभग निश्चित भएकाले सिटौलाले प्रचण्डलाई भेटेरै असन्तुष्टि पोखेका हुन् ।

सिटौलाको असन्तुष्टि किन ?

कांग्रेसको सक्रिय राजनीतिमा रहेर पनि उच्च तहमा आउनै नसकेका सिटौला संसदीय राजनीतिमा किनाराकृत बन्दै गएका छन् । प्रतिनिधिसभा सदस्य बन्ने उनको योजनालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्त्य गरिदिने गर्नाले पनि उनी संकटमा थिए । तर, शान्ति प्रक्रियाका लागि उनले खेलेको भूमिका लगायत विषयलाई केन्द्रमा राख्दै प्रचण्डले उनलाई राष्ट्रियसभा अध्यक्षमा अघि सार्ने वचन कांग्रेसलाई दिए । त्यसपछि अध्यक्ष बन्ने रहरसहित आएका सिटौला अब धोका भयो भन्न थालेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई सिटौलाले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएकोमा पश्चाताप गरिरहेको विषय स्मरण गराउदै अहिलेको निर्णय भारी पर्ने चेतावनी नै दिए । प्रचण्डले गठबन्धन फेर्नका लागि धोकाको राजनीति गरेको दाबि गरेका सिटौलाले आफूलाई फसाइएको र त्यसमा प्रचण्डकै भूमिका रहेको जिकिर समेत गरेका छन् । आक्रोशपूर्ण अभिव्यक्ति दिनकै लागि बालुवाटार पुगेका सिटौलाले प्रचण्डमाथि रोष प्रकट गरेपनि प्रचण्डले कांग्रेससँग गठबन्धन तोड्नुको कारणको बेलीविस्तार लगाएको बताइन्छ । कांग्रेसले कोशीमा सिटौलालाई निर्वाचित गराउँदा माओवादीकी चम्पादेवी कार्कीलाई पराजित गराइयो । मुखैमा आएको मुख्यमन्त्री पद पनि फुस्क्याइयो ।

महासमिति बैठकमा गठबन्धनको मानमर्दन गरियो र धर्मको राजनीतिलाई अघि सार्ने विषय किन उठाइयो भन्दै प्रचण्डले प्रश्न गरेको र कोशी प्रकरणमा कांग्रेस नेताहरु मौन बसेको बताइन्छ । तर, सिटौलाले पोखेको आक्रोश कति सहि र कति गलत भन्ने विषय राजनीतिक दृष्टीकोणका आधारमा भन्दा पनि विषयवस्तुको गम्भीर्यता र राजनीतिक ध्रुविकरणको हिसाबले हेर्नुपर्ने आवाज उठिरहेको देखिन्छ ।

https://youtu.be/b1DFZDcuMYs

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update