
- सुनिता विष्ट
मकवानपुर । केन्द्रमा माओवादी केन्द्र, एमाले, रास्वपा, एकीकृत समाजवादी र जसपा मिलेर नयाँ गठबन्धन बनेसँगै प्रदेशमा पनि नेतृत्व परिवर्तनको रस्साकस्सी शुरु भएको छ । बाग्मतीमा भने केन्द्रीय सत्ता समीकरण अनुसार नै एमाले, माओवादी र एकीकृत समाजवादीको प्रतिनिधित्व छ । कांग्रेस भने सरकारबाट बाहिरिसकेको छ । हाल बागमती प्रदेश सरकारको नेतृत्वमा माओवादीका पोलिट्व्यूरो सदस्य समेत रहेका शालिकराम जम्मकट्टेल छन् । केन्द्रमा मन्त्रीहरु फेरबदल भएसँगै बागमती प्रदेशको नेतृत्व कुन दलले पाउला ? भन्ने चर्चाको बिषय बनिरहेको छ ।
बागमती प्रदेशमा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री छन् । अघिल्लो गठबन्धनमा रहेको कांग्रेस भने बुधबार सरकारबाट बाहिरिसकेको छ । कांग्रेसको बर्हिगमनपछि मुख्यमन्त्री जम्मकट्टेल अल्पमतमा छन् । केन्द्रमा फेरिएको सत्ता समीकरणअनुसार बाग्मती प्रदेश कस्को भागमा पर्ने अनिश्चित छ । त्यसैले अब नयाँ समीकरणअनुसारको सरकारमा उनले नै निरन्तरता पाउलान् कि नपाउलान् भन्ने चर्चा चुलिएको छ । प्रदेश नेताहरु केन्द्रको निर्देशक कुरेर बसेका छन् । केन्द्रीय तहका नेताहरुबाट जस्तो निर्देशन आउँछ सोही अनुरुपमा आफूहरु सरकार गठनमा लाग्नुको विकल्प नभएको उनीहरुको बुझाइ छ ।
यता, गठबन्धनको सबैभन्दा ठूलो घटक एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै केन्द्रीय तहमा लबिङ गरिरहेका छन् । केन्द्रीय गठबन्धन अनुसार बागमतीमा एमाले, माओवादी र एकीकृत समाजवादी छ । ती दलहरुमध्ये ठुलो दल भएकै कारण र माओवादीले हालसम्म झण्डै डेढ बर्ष मुख्यमन्त्री खाइसकेको भन्दै एमाले नेतृत्वमा सरकार बन्नुपर्नेमा एमाले नेताहरुले जोड दिइरहेका छन् ।
बागमती प्रदेशको नेतृत्व हत्याउने दाउमा एमाले मात्र होइन, एकीकृत समाजवादी पनि छ । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा दुई मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्रीको बटमलाईन राखेर सत्ता समीकरणमा होमिने निर्णय गरेको भन्दै समाजवादी पनि आशावादी छ । नेपाली कांग्रेस भने वर्तमान समीकरणलाई असफल पार्न लागिपरेको छ । ३ दलको संख्याले मुख्यमन्त्रीले विश्वासको मत नपाउने र केन्द्रीय समीकरण भन्दा फरक रहेर भए पनि बागमतीमा कांग्रेस नेतृत्वको सरकार गठन गर्ने लविङमा कांग्रेस नेताहरु छन् ।
बागमती सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । ७ राजनीतिक दल रहेको बागमतीमा गठबन्धनको सबैभन्दा ठूलो घटक एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ सिट छ । तीन दलको संख्या ५५ मात्रै हुँदा गठबन्धनलाई अरु एक सिट आवश्यक देखिन्छ । त्यसका लागि अघिल्लो गठबन्धनमा साथ दिँदै आएको हाम्रो नेपाली पार्टीको २ सिट हात पार्ने रणनीतिमा सत्ता गठबन्धन दलहरु लागिपरेका छन् । केन्द्र तथा अन्य प्रदेशमा सून्य उपस्थिति रहेको हाम्रो नेपाली पार्टीको बाग्मतीमा २ सिट रहेको छ । नेमकिपाले सरकार फेरबदलको आलोचना गर्दै आएको छ भने राप्रपा केन्द्रदेखि नै विपक्षमा देखिएको छ । त्यसैले सत्ता गठबन्धन सुरक्षित रहनका लागि हाम्रो नेपाली पार्टीको मत निर्णायक देखिएको छ ।