News 24 Television
नयाँ गठबन्धनमा एमालेको दोहोरो स्वार्थ, प्रचण्डको पार्टीभित्रै आलोचना !
amale-sidhayaune-khel__

काठमाडौँ । एकाएक कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति अहिले पार्टीभित्र र बाहिरसमेत आलोचनाका तीर सोझिएका छन् । कांग्रेस–माओवादी गठबन्धन बनेर सत्ता–सहयात्रा गरेदेखि नै भत्काउने अनेक उपाय रचिरहेको नेकपा एमाले करिब एक वर्षपछि सत्तामा फर्किन सफल भएको छ । पछिल्लो समय प्रधानमन्त्रीलाई विश्वासमा लिन एमाले अध्यक्ष केपी ओली कसरी सफल भए, सरकारमा पनि मुख्य मन्त्रायलयहरू छाडेर कनिष्ठ नेताहरूलाई मामुली ठहरिएका मन्त्रालयमै पठाउन उनी हदैसम्म लचक किन भए ? कतै ओलीले प्रचण्डलाई धोका दिएर कांग्रेससँग अर्को सरकार बनाउने दाउ त हैन ? यी र यस्ता अनेक प्रश्न अहिले सतहमा आएका छन् ।

एक वर्षअघि पनि एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले महिनादिनमै एमालेलाई धोका दिँदै कांग्रेससहितको नयाँ सत्ता गठबन्धन बनाएका थिए । त्यस घटनाबाट झस्किएको एमालेले यसपटक भने अत्यन्त सचेत र लचक रुपमा प्रचण्डलाई आफ्नो कित्तामा पार्न सफल भएको छ । कांग्रेसले यो गठबन्धन भत्काउन र अन्य कुनै विकल्पद्वारा भए पनि प्रचण्डलाई सत्ताच्युत गराउन दाउ खोजिरहेकै बेला प्रचण्डले हतारमै विश्वासको मत लिने तयारी गरिरहेका छन् । आखिर एमालेको के स्वार्थका कारण प्रचण्डलाई समर्थन गरेर गबन्धन बनायो त ? यसबारे एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केही खुलासा गरेका छन् ।

तत्कालीन नेकपाको अध्यक्षका हैसियतले शक्तिशाली प्रधानमन्त्री रहेका ओलीले दुईपटक संसद विघटन गरेपछि माओवादी, कांग्रेस लगायत दलहरूको बलियो गठबन्धन र घेराबन्दीमा एमाले प¥यो । एमालेले चुनावमा बहुमत ल्याउन त सकेन, दोस्रो दल बने पनि माओवादी–कांग्रेस गठबन्धनकै कारण उसले केन्द्रदेखि प्रदेशसम्म सत्ता विमुख हुनुप¥यो । यही छटपटी र पीडाबोध भएर एमालेले नयाँ समीकरण बनाउने सत्तामा पुनरागमन पनि गरेको छ भने मिसन ०८४ लाई समेत दह्रो रुपमा अगाडि बढाउँदै वाम गठबन्धनको बलको आगामी चुनावमा पहिलो पार्टी बन्ने रणनीतिक लक्ष्य लिएको बुझ्न सकिन्छ । पूर्व–उपप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभित्र र बाहिरका केही शक्तिहरूले त्यहीबेलादेखि नै एमालेलाई सिध्याउने प्रयोजनका लागि माओवादी–काँग्रेस गठबन्धन बनाएको र त्यो खेल अब खतम भएको बताएका छन् ।

https://youtu.be/18YemE7eOkM

माओवादी–कांग्रेस गठबन्धनलाई ‘आपराधिक गठबन्धन’ भन्दै आएको एमालेले त्यो टुटाएर नयाँ समिकरण बनाउन सफल भएको पोखरेलको दाबी छ । शनिबार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा बोल्दै उनले नयाँ सत्ता समिकरणलाई पनि मिसन– ०८४ पूरा गर्न सहयोगी हतियारका रुपमा प्रयोग गर्ने योजना समेत रहेको उनले खुलासा गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पु¥याउने लक्ष्यसहित अघि बढाएको मिसन ०८४ जारी रहने बताए । त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको उनले बताए । आगामी निर्वाचनमा कुनै दलले पनि बहुमत ल्याएनन् भने अहिलेकै बेथिति र सत्ता तमासा जारी रहने भएकाले आफूहरूले नयाँ समीकरण बनाएको उनको भनाइ छ ।

अन्य दलहरूको गठबन्धनको घेराबन्दीमै रहेमा एमालेको मिसन ०८४ पूरा नहुने महसुस गरी माओवादी लगायत दलहरूसँग नयाँ गठबन्धन सत्ताभित्र र बाहिरबाट दोहोरो स्वार्थ पूरा गर्दै अघि बढ्ने एमालेको रणनीति रहेको छ । त्यसका लागि वामपन्थीहरूको गठबन्धन वा पार्टी एकतालाई एमालेले जोड दिन सक्छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारविरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् । उसो त प्रचण्ड सरकारको अभियान नै भ्रष्टाचार विरोधी र सुशासन अभियानका रुपमा अघि बढाउन खोजिएको छ । सत्तामा आएदेखि नै प्रधानमन्त्री प्रचण्डले सुशासन अभियानको रटान लगाउँदै आएका छन् र यस बीचमा केही ठूला भ्रष्टाचार काण्डका फाइलहरू समेत खोलिएका छन् ।

एमालेसहितको सरकारको पहिलो प्राथमिकता पनि सुशासन र समृद्धि अभियान हुने प्रधानमन्त्रीले बताएका छन् । शनिबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा पनि उनले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउँदै सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको प्रस्ट पारे । सो बैठकमा माओवादीबाट केही मन्त्रीलाई चैँ नयाँ सरकारमा दोहो¥याएको र केहीलाई भने पाखा लगाएको भनेर प्रचण्डको खरो आलोचना भएको थियो । कांग्रेससँगको गठबन्धन रातारात तोडेर एमाले कित्तामा उभिएको र मन्त्री चयनमा पार्टी नेतृत्वले मनोमानी गरेको भन्दै माओवादी सांसद सांसदहरू माधव सापकोटा, सूर्यमान दोङ तथा अमनलाल मोदी लगायतले प्रधानमन्त्री प्रचण्डलाई कडा शब्दमा आलोचना गरेका थिए । सो क्रममा प्रचण्डले परिस्थितिवश सरकारको नयाँ समीकरण बनाउनुपरेको भन्दै थामथुम गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update