
काठमाडौं । समकालीन राजनीतिका सबैभन्दा प्रतिस्पर्धी नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल हुन् । राजनीतिक समय चक्रका कारण उनीहरु ०७४ सालको आम निर्वाचनमा एकै दलमासमेत सामेल हुन पुगे । तर अहिले उनीहरु फरक–फरक दलको नेतृत्व गरिरहेका छन् । प्रधानमन्त्री समेत रहेका प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष छन् भने ओली नेकपा एमालेको नेतृत्व गरिरहेका छन् ।
त्यस्तै माधव नेपाल एमालेबाटै विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष छन् । काँग्रेसलाई एकछिन् बाहिर राखेर पात्रगत हिसाबले हेर्ने हो भने प्रचण्ड, ओली र माधवबीच कैयन पटक संघर्ष र प्रतिस्पर्धा भएका छन् ।
अझ माओवादी जनयुद्ध अगाबैदेखि ओली र प्रचण्डको नीति र सिद्धान्त बाझिन्थे । प्रारम्भमा माओवादी जनयुद्धप्रति ओलीले ‘वयालगाड चढेर अमेरिका नपुगिने’ भन्दै निचको टिप्पणी गर्ने गर्दथे। युद्धको अन्त्यपछि पनि ओलीका लागि सबैभन्दा मन नपर्ने शब्द नै ‘जनयुद्ध’ थियो । ओली जनयुद्धप्रति सँधै नकारात्मक कोणबाट विश्लेषणसमेत गर्दै आइरहे ।
जनयुद्धलाई अनावश्यक टिप्पणी गर्ने ओली ०७४ मा आइपुग्दा माओवादीसँग पार्टी एकता गर्ने उद्घोषसहित चुनावमा होमिए । त्यसअघि माधव नेपालसँगै भिषण संघर्ष गरेर ओली एमाले अध्यक्षमा चुनिएका थिए । यसले ओली र माधवबीच पनि सम्बन्ध चिस्याएको थियो । एमाले नेतृत्वमा ओलीको आगमनसँगै पार्टी स्पष्ट रुपमा दुई गुटमा विभाजित थियो ।
यही अवस्थामा वाम गठबन्धनमार्फत भएको चुनावी परिणाममा नेकपालाई झण्डै दुई तिहाई मत प्राप्त भयो । यही जनाधारामाथि टेकेर ओली ३ वर्ष बढी प्रधानमन्त्री बने । तर ओली, प्रचण्ड र माधवकै बेमेल र संघर्षले नेकपा सरकार ढल्यो ।
त्यो बेला सरकार मात्रै ढलेन पार्टी पनि तीन टुक्रामा विभाजित बन्यो । फलस्वरुप ओली साविक एमाले र प्रचण्ड माओवादी केन्द्रको अध्यक्षमै कामय हुन पुगे ।
उता माधव नेपाल भने केही नेता र सांसदलाई लिएर नयाँ दल नेकपा एकीकृत समाजलवादी पार्टी गठन गरेर अध्यक्ष बने ।
त्यसपछि काँग्रेससँग गठबन्धन गरेर सत्ता साझेदारी गरेका प्रचण्ड–माधवको ओलीसँग दैनिक जसो वाकयुद्ध चल्दै आयो । प्रचण्ड र माधव एक कित्तामा उभिँदा ओलीसँग उनीहरुको पानी बाराबारको स्थिति बन्यो ।
आफूलाई प्रतिगनकारी र निरङ्कुशतावादी आरोप लगाएपछि ओलीले पनि प्रचण्ड र माधवमाथि इगो साँध्दै आए ।
प्रचण्ड–माधवविरुद्ध गाली गलौजसहित मैदानमा उत्रने ओलीले गत वर्ष चितवनमा सम्बोधन गर्दै माधवको नाम लिएपछि मुख कुल्ला गर्नेसम्मको टिप्पणी गरे ।
तत्कालीन समयमा २ – २ पटक संसद विघटन गरेर संवैधानिक आतंक मच्चाका ओलीको कदमलाई सर्वोच्चले समेत असंवैधानिक सावित गराइदियो । जबकी ओलीको कदलमविरुद्ध माधव र प्रचण्डले नै सडक आन्दोलन गरेका थिए । तर ओली अहिले उनै प्रचण्ड र माधवप्रति एकाएक नम्र बनेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग नजिकिएका ओली काँग्रेससँगको गठबन्धनलाई टुटाएर एमालेलाई सत्तामा सामेल गराउन समेत सफल भइसकेका छन् । त्यतिमात्रै होइन, प्रचण्डसँग ओलीले सत्ता नेतृत्वको सम्झौता समेत गरिसकेका छन् ।
संसदको बाँकी कार्यकालको २ \ २ वर्ष प्रधानमन्त्री बन्ने समझदारी गरेका ओली प्रचण्डले माधव नेपाललाई समेत गठबन्धनमा सामेल गराइसकेका छन् । फागुन २० गते रातारात वालुवाटारमा सहमति जुटाएका ओली प्रचण्डबीच सत्ता सहकार्यको दीगोपनबारे खुलेर सार्वजनिक अभिव्यक्तिसमेत दिन थालिसकेका छन् ।
अध्यक्ष ओलीले नयाँ सत्ता समीकरण निर्माण भए लगत्तै अबको नयाँ गठबन्धन नटुट्ने दावी गर्न थालेका छन् ।
ओलीले देश विग्रिएकाले माओवादीसँग गठबन्धन गर्न पुगेकोे टिप्पणी गरेका छन् । उता संसदमा पनि एमालेले विगतको भोगाइ र सिकाइबाट पाठ सिक्दै नयाँ गठबन्धन कायम गरेको बताएको छ ।
अध्यक्ष ओलीले समेत अन्य दलहरुसँग गठबन्धन गर्न एमाले बाध्यात्मक मुडमा पुगेको संकेत गर्दै दिइरहेका छन् । गठबन्धन लगत्तै ओली र प्रचण्डसमेत माधव नेपाल निवास कोटेश्वर पुगेका थिए ।
शनिबार पनि ओली, प्रचण्ड र माधवबीच छुट्टाछुटै गोप्य वार्ता भएको बुभिएको छ । उनीहरुबीच भेटवार्ता हुन अघि एक कार्यक्रममा सम्बोधन गरेका ओलीले वर्तमान समयमा मुलुकको अवस्था र व्यवस्थामै सकारात्मक परिवर्तन आइसकेको उल्लेख गरे ।
ओलीले मुलुकको हरेक क्षेत्रमा समानुपातिकाता र समावेशीता स्थापित भइरहेको भन्दै विगतको भन्दा मुलुकमा अतुलनिय परिवर्तन आइसकेको स्वीकारे ।
यसरी विगतमा विचार र सिद्धान्तामा बाझिने गरेका ओली प्रचण्ड अहिलेको विन्दुमा आइपुग्दा एकै लयमा आउन खोजेको देखिन्छ ।
नेकपा बनाएर एकै दलमा रहँदा होस् वा त्यस बाहिर हुँदा सैद्धान्तिक, वैचारिक र नीतिगत विमत्तिमार्फत सिर्जिएको विवादलाई यही बिन्दुबाट एकीकृत भएको सन्देश ओली, प्रचण्ड र माधवले दिन खोजेको देखिन्छ । तर यसको दीगोपनामा भने अझै विश्वस्त हुने अवस्थ छैन ।