News 24 Television
गठबन्धन टुट्दा गगन खुसी– ‘अब कसैले पनि चुनावअघि गठबन्धन गर्दैनन्’
gagan

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् । उनले गठबन्धन टुटेकोमा आफूलाई खुसी लागेको समेत बताए ।

आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेत खुलेसँगै अब चुनावअघि गठबन्धन नहुने बताए ।

नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने भन्दै उनले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको बताए । उनले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताउँदै अब निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको तर्क गरे ।

‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला,’ उनले भने, ‘एउटा कुरा मलाई खुशी लागेको छ । यो चुनाव भन्दाअघि पार्टीहरु मिलेर, चुनावमा जाने । खास त्यो पार्टीहरु मिल्ने नै होइन, नेताहरु मिल्ने हो । नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो । थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसावकिताव हुन्छ । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ । नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ । यसले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको समेत बताए । प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताउँदै उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे । डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने समेत बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update