News 24 Television
प्रहरीलाई गृहमन्त्रीको निर्देशन– ‘अनुहार, पद, प्रतिष्ठा नहेरी निष्पक्ष अनुसन्धान गर्नुस्’
Rabi

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनुहार, पद, प्रतिष्ठा नहेरी प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन समेत निर्देशन गरे ।

नेपाल प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभइ प्रमाणका आधारमा बनाउन निर्देशन दिएका हुन् । उनले भने, “कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान हुँदै गर्दाको प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्, अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानुनको नजरमा सबै बराबर हुनुपर्दछ ।”

गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण समेत गरे । निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए ।

उनले सङ्गठन निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्वप्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूप्रति सम्मान समेत प्रकट गरे । कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने बताउँदै गृहमन्त्री लामिछानेले कर्मचारीको सरूवा, बढुवा तथा वृत्ति विकासका लागि आवश्यक नीति र योजना बनाएर ल्याउन आग्रह गरे ।

वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्षजनशक्तिको विकास आवश्यक रहेको समेत उनले बताए । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, अपाङ्गता भएकाहरुको न्यायका लागि अझ बढी सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उनले निर्देशन समेत दिए ।

मिटरब्याजपीडित, सहकारीपीडितको समस्या ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागुऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न पनि आग्रह गरे ।

समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीबाट भएको निर्देशन कार्यान्वयनका लागि सङ्गठन पूर्ण प्रतिबद्ध रहेको बताएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update