
- प्रकाश न्यौपाने
भैरहवा । युवादेखि पाकापुस्ता, कृषकदेखि शिक्षक, चित्रकारदेखि व्यवसायीसमेत ठूलो संख्यामा अल्पकालिन भिक्षु बनेका छन् । विभिन्न पेशा ब्यवसायका नागरिक अल्पकालीन भिक्षु बनेका हुन् । शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा एकैपटक १ हजार २५० जना विभिन्न जिल्ला तथा क्षेत्रका नागरिक अल्पकालीन भिक्षु बनेका हुन् ।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित माया देवी मन्दिर परिसरमा एकै दिन १ हजार २५० जना स्वदेशी तथा विदेशी नागरिक अल्पकालीन भिक्षु अर्थात श्रामणेर बनेका छन् । श्रामणेर भनेको भिक्षु जीवन प्रवेशको पहिलो चरण अर्थात् भिक्षु जीवनमा प्रवेश गर्नु हो । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ तथा लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाले शनिबार मायादेवी मन्दिर परिसरमा उनीहरुलाई कुलपुत्र प्रव्रज्या –अल्पकालीन भिक्षु) बन्ने अवसर प्रदान गरेका हुन् । विभिन्न ठाउँका नेपाली नागरिक मात्र नभई थाइल्याण्डका नागरिकसमेत अल्पकालीन भिक्षु बनेका छन् । अल्पकालीन भिक्षुहरुले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा नियमहरु पालना गर्नुपर्ने प्रावधान छ । सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भएपनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरुपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्ने हुन्छ भने पूर्णरुपमा भिक्षु बन्नकालागि भने बुद्ध धर्मका विभिन्न २ सय २७ वटा नियमहरु पालना गर्नुपर्ने बौद्धभिक्षुहरु बताउँछन् । अल्पकालीन भिक्षु बनेकाले विभिन्न चरण पूरा गर्दै सबै नियमपालना गरेपछि पूर्णरुपमा भिक्षु बन्ने बाटो खुल्नेछ ।
फागुन १६ गतेदेखि शुरु भएको प्रवज्यामा लुम्बिनीमै आएर सबै जनाले केश मुन्डन गरेर चिवर प्राप्त गरेका छन् । अल्पकालीन भिक्षुकालागि योग्य भएका उनीहरुले पहेंलो चिवरण ग्रहण गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् ।
चिवर प्राप्त गरेका सबैजनालाई पञ्चशील, अष्टशील र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराउने गरिएको छ । छोटो अवधिमा चिवर प्राप्त गरी बुद्धको शिक्षा ग्रहण गराउन श्रामणेर बनाउने गरिएको हो । लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र शान्तिको सन्देश विश्वभर नै फैलाउन सहयोग पुग्ने छ । यसले धार्मिक गतिविधि बढाउँदै पर्यटन प्रबद्र्धनमा समेत सहयोग हुने विश्वास गरिएको छ ।
यसअघि सन् २०११ मा एक हजार, २०१५ मा एक हजार १ सय १२, सन् २०१९ मा एक हजार १ सय १९ र सन् २०२३ मा ५ सय जनालाई अल्पकालीन भिक्षु बनाइएको थियो । यसपटकको प्रव्रज्यामा नेपालका २० बढी जिल्लाका साथै थाइल्याण्ड लगायतका मुलुकबाट पनि सहभागिता रहेको छ । अल्पकालीन भिक्षु बनेकाहरुले आइतबारदेखि नै भिक्षाटन गर्नेछन् । साथै उनीहरुल्े चैत्र ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत रामग्राम र तिलौराकोटको धर्मयात्रा गर्नेछन् । चैत ८ गते अल्पकालीन भिक्षुहरुको समय सकिनेछ । बुद्ध शिक्षालाई सतही रुपमा मात्रै नभई बुद्धभूमिमै आएर अल्पकालीन भिक्षु ग्रहण गरि व्यवहारमै बुझ्ने कार्यलाई अझ सकारात्मक मानिएको छ ।