
- सन्दिप शर्मा
काठमाडौँ । न्याय माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका मिटर व्याज पीडितहरु अहिले पनि धर्नामै छन् । लामो समयदेखिको आन्दोलनमा रहेका उनीहरुमा स्वाथ्य समस्या देखिन थालेको छ । खानपान गतिलो नहुनु र त्रिपाल मुनि रात कटाउनु पर्दा उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, झाडा बान्ता हुने, रुघाखोकी लाग्ने र घाटी दुख्ने जस्ता समस्या देखिन थालेका हुन् ।
उनी बर्दियाको इन्द्र सुनार हुन् । मिटर व्याजी साहुकारको चंङ्गोलमा परेपछि न्याय खोज्दै पटक पटक काठमाडौं आइन् । यसअघि पटक पटक उनी न्यायको खोजीमा काठमाडौं आएकी थिइन् । उनी फेरि गत मंसिरमा काठमाडौं छिरिन् । माइतीघरमा निषेध गरेपछि शान्तिबाटीकामा धर्नामा बसेका उनीहरुलाई काठमाडौं महानगरपालिकाले लखेट्यो । अहिले इन्द्रसहित मिटरब्याजपीडितहरु भृकटीमण्डपमा बसिरहेका छन् । मौसम परिवर्तन तथा काठमाडौंको धुवाँधुलोका कारण इन्द्रलाई ज्वरो आउने, टाउको, घाँटी र छाती दुख्ने जस्ता समस्या देखिन थालेको छ । साहुको चंगोलमा परेर बिहान बेलुकी छाक टार्न समस्या पर्ने थुप्रै छन् । न्याय खोज्दा बिरामी परेकी उनले देशमा सरकार भएको महसुस सम्म गर्न सकेकी छैनन् ।
सुनारसंगै उनकी ३ बर्षे छोरी पनि बिरामी छिन् । छोरीलाई निमोनिया भएको छ । तर उपचार गर्ने सामथ्र्य नहुदाँ सिटामोल खुवाउँदै छोरीलाई साथमा राखेकी छन् ।
यी पीडितहरुको निःशुल्क उपचार गर्नेे कुनै अस्पताल काठमाडौंमा छैनन् । उनीहरुको अवस्था देखेर दाताले दिएको सिटामोल नै सबै रोगको औषधि बनेको छ । पीडितहरुप्रति दयाभाव देखाँउदै कसैले चामल दिए खाना खान्छन्, नत्र भोकै सुत्न बाध्य छन् ।
आन्दोलनमा आएका १४ सय जना मध्ये ७ सय जति बिरामी परेका छन् । केही थला नै परेपछि रोग बोकेर घर फर्किएका छन् भने केही न्याय नपाए प्राण नै त्याग्ने बताउँदै त्रिपाल मुनि पल्टिरहेका भेटिन्छन् । तर सरकारले वास्ता नगरेको उनीहरुको गुनासो छ ।
लामो समयदेखि आन्दोलन गर्दा पनि उनीहरुले न्याय त पाएका छैनन् नै । काठमाडौंमा रहेर आन्दोलन गरेका उनीहरु विरामी हुँदा उपचारसमेत पाउन सकेका छैनन् । सरकारले न्याय दिनुको साटो पीडितहरुको ज्यानै जाने सम्मको अवस्था निर्माण गरेको छ । संविधानको भाग ३ को धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हक रुपमा व्याख्या गर्दै राज्यले नागरीक पक्षमा गर्नु पर्ने कार्यलाई उल्लेख गरेको छ । तर त्यसको पूर्ण कार्यान्वयन त परको कुरा नागरीकको बाँच्न पाउने अधिकार समेत राज्यले खोसेको मिटरव्याजपीडितका अनुहारले झल्काइरहेको छ ।