News 24 Television
सत्ताको स्वादमा मख्ख रञ्जिता : आयोगको धक्का र रेशमको सक्रियता
Naupama_Tanab

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी पति–पत्नीबीचको तनावका कारण फुटको अन्तिम संघारमा पुगेको छ । निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा मान्यता नदिएपछि रञ्जिता श्रेष्ठले सक्रियता बढाएकी छन् । पति–पत्नीबीचको शक्ति संघर्षका कारण पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल हुन पुगेको हो ।

नागरिक उन्मुक्ति पार्टी रेशम चौधरीले जेलबाटै कल्पना गरेर स्थापना गरेको पार्टी हो । स्थापनाकालमा नै रेशम आफै अध्यक्ष बन्न खोजेपनि निर्वाचन आयोगले उनलाई मान्यता नदिएपछि रञ्जितालाई अघि सारेर रेशमले पार्टी स्थापना गरे । सुदूरपश्चिम प्रदेशमा ७ सांसद जिताएको नाउपा केन्द्रमा ४ सांसदसहित छ । केन्द्रमा ४ र प्रदेशमा १२ गरि १६ सांसद जितेको नाउपा पछिल्लो समय शक्ति संघर्षका कारण नै फुटको संघारमा पुगेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारमा जाने विषयमा रेशम र रञ्जिताबीचको विवाद उत्कर्षमा पुगेको छ । पार्टीसँग कुनै सल्लाह नगरि प्रदेश सरकारमा नाउपाका ४ मन्त्री गएपछि विवाद उत्कर्षमा पुगेको विषय बाहिरिएको हो ।

केहि समय पहिलेदेखि नै विवाद चलिरहेको थियो । रञ्जिताले आफै अध्यक्ष बन्ने गरि योजना बनाएपनि रेशमले हस्तक्षेप गरेपछि उनी निराश देखिन्थिन् । प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी उनी रेशमकै रणनीतिका कारण फेरि सकारमा जान पाइनन् । यता, रेशमले रन्जितालाई रोक्नका लागि कांग्रेससँग मिलेर सुदूरपश्चिममा नयाँ रणनीति जुराए । त्यसपछि रञ्जिताले ती मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएपनि रेशमले उनीहरुलाई निर्धक्क काम गर्न निर्देशन दिएका छन् । बुटवलमा पत्रकार सम्मेलन नै आयोजना गरेर रेशमले मन्त्री फिर्ता नहुने र राम्रो काम गर्ने भन्दै रञ्जिताको निर्देशनलाई चुनौति दिएका छन् ।

रञ्जिताले बोलाइन् आकस्मिक बैठक

निर्वाचन आयोगले रञ्जितालाई नै अध्यक्षमा थमाइदिएपछि उनको सक्रियता थप रोचक बन्न पुगेको छ । रञ्जिताले संस्थापक केन्द्रिय सदस्यको बैठक डाकेकी छन् । रेशमले आयोगविरुद्ध अदालत जाने निर्णय सुनाउदै गर्दा रञ्जिताले प्रचण्ड नेतृत्वको सरकारसँगको दूरी कम गर्ने गरी अघि बढेकी छन् । यसले पनि नाउपा पति–पत्नीबीचको विवादकै कारण फुटको संघारमा पुगेको देखिन्छ ।

नाउपा फुटाउने शक्तिको सक्रियता

नागरिक उन्मुक्ति पार्टी फुटाउन मधेस केन्द्रित केहिदलले ठूलो सक्रियता बढाएका छन् । उनीहरुले नाउपाको रेशम पक्ष र रञ्जिता पक्षलाई छुट्टाछुट्टै राखेर कदम अघि बढाएपछि पति–पत्नीबीच विवाद थप उत्कर्षमा पुगेको हो । लोसपाबाट विद्रोह गरेका राजेन्द्र महतोले नाउपालाई फुटाएर नयाँ शक्ति निर्माण गर्ने योजनालाई तीब्रता दिएको हल्ला नाउपामै चलिरहेको छ । यस्तो काममा कुनैबेला नाउपाले नै कारबाही गरेका सुरेन्द्र चौधरी लगायतका नेताको हात रहेको विश्लेषण समेत भइरहेको छ । रेशम–रञ्जिताको तिक्तता अब रोकिने भन्दा पनि पार्टी फुटको दिशामै अग्रसर हुने र यसले सार्थकता पाउने सम्भावना बलियो बनेको बताइन्छ ।

https://youtu.be/1MvtYQJYNlM

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update