News 24 Television
गठबन्धनमा अलमल र हर्ष : निराश देउवा, गदगद ओली
Congress_Ra_Satta

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि सभापति शेरबहादुर देउवाले सक्रियता देखाएपनि सफलता हात पार्न सकेका छैनन् । साना दललाई अल्झाएर राख्ने र प्रचण्ड नेतृत्वको सरकारलाई बहुमत पुग्न नदिने रणनीति असफल भएपनि कांग्रेस छटपटीमा देखिन्छ । यस्तोमा महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको पछाडि नलाग्ने दाबी गर्दै गर्दा भने प्रदेशदेखि केन्द्रसम्म सत्ता प्राप्तिमा कांग्रेस खुब समय खर्चिन तयार देखिएको छरपष्ट छ ।

नेपाली कांग्रेसले मुखैमा आएको सत्ताको नेतृत्व मात्रै गुमाएन, प्रदेश सरकारबाट समेत बाहिरिनुपर्ने स्थिति बन्यो । कांग्रेस महासमिति बैठकदेखि कोशी प्रकरणका कारण चिढिएको माओवादी केन्द्रले सत्ता गठबन्धन फेरेपनि कांग्रेस अझैं वैकल्पिक सरकार बनाउन सकिन्छ कि भन्ने ध्याउन्नमा केन्द्रित रह्यो । तर, केन्द्रमा सफल हुनै सकेन । यद्दपी, प्रदेशमा भने कांग्रेसको कसरत खुब चलिरहेको छ । यस्तो अवस्थामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारको धन्दामा नलाग्ने दाबी गरेका छन् ।

महामन्त्री शर्माले यस्तो दाबी गर्नुअघि देउवा निवासमा देखिएको राजनीतिक दौडधुप र देउवाले माधव नेपाललाई दिएको महत्वले पनि कांग्रेस सत्ता आशक्तिमा कति केन्द्रित थियो भन्ने त पुष्टी गर्छ नै तर अब प्रचण्ड नेतृत्वको सरकारलाई सहज बहुमत प्राप्त भएको मात्रै छैन, केहि साना पार्टीहरु आन्तरिक द्वन्द्धमा समेत फसेका छन् । नयाँ सत्ता गठबन्धनप्रति सत्तारुढ दलका नेताहरुले नै शुद्ध नभएको र केहि व्यक्ति बिवादीत रहेको भन्दै आक्रोपूर्ण अभिव्यक्ति दिएपनि वामपन्थी सहकार्यको विषय जोडेर यसलाई सहज भनिरहेका छन् ।

एमाले नेतृत्वको सत्ता गठबन्धन पनि सत्ताभोगकै निरन्तरताबाहेक हुन नसक्ने संकेतहरु देखा परेको भन्दै कतिपयले यसको विरोध गरिरहेका छन् । तर, एमाले नेतृत्वले भने गठबन्धनलाई लामो समयसम्म लैजानुपर्नेमा दृढता चाहिने तर्क गरिरहेको छ । अझ, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त यो गठबन्धन २०८४ सालको चुनावमा समेत उपयोग हुने दाबी गरेका छन् ।

सत्ता गठबन्धन बनेको केहिदिन मात्रै भएकाले पनि यसबारे प्रतिक्रिया आउनेक्रम चलिरहेको छ । गठबन्धनप्रति आशा देखाउनेहरु नभएका पनि होइनन् तर, मधेस केन्द्रित राजनीति गरिरहेका नेता राजेन्द्र महतोले पनि अहिलेको गठबन्धनबाट केहि प्राप्त नहुने जिकिर लिइरहेका छन् ।

कांग्रेसको नजर कता ?

सत्ताबाट कांग्रेस बिमुख बनेपछि गठबन्धनबारे आउने प्रतिक्रिया मिश्रित देखिएपनि कांग्रेस आफै भने सरकारका लागि मरिहत्ते गरिरहेको छ । कांग्रेस सभापति देउवाले पदाधिकारीदेखि शीर्ष नेताहरुलाई बोलाएर छलफल गरिरहेको अवस्था छ । उनले साना दललाई समेत समेटेर छलफल गरेको देखिन्छ । लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतलाई बुढानिलकण्ठ बोलाएर छलफल गरेका देउवाले नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई समेत समेट्न खोजेका थिए । तर, देउवाको रणनीति सफल हुन सकेन् । त्यसपछि कांग्रेस महामन्त्री गगन थापाले साना दलमाथि आक्रोश नै पोखेका थिए ।

प्रदेशमा कांग्रेसको अड्को

आफूले नेतृत्व गरेका प्रदेशमा कांग्रेसले नेतृत्वलाई टिकाउने प्रयास गरिरहेको छ । तर, कोशी र गण्डकीमा भने स्थिति थप संकटग्रस्त बन्ने सम्भावना बलियो छ । गण्डकीमा संसदीय अंकगणितका कारण समस्या निम्तिने खतरा छ भने, कोशीमा संवैधानिक संकट आउने आशंका गरिएको छ । कोशीमा अहिलेको सत्ता गठबन्धनसँग स्पष्ट बहुमत भएपनि संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार भएकाले उनले संसद नै विघटन गरिदिने चेतावनी दिदै आएकाले कोशीको विषय थप संकटमा पर्नसक्ने देखिएको छ ।

https://youtu.be/sWJBz1rWFtE

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update