
काठमाडौँ । नेपालमा संघीय गणतन्त्रमाथि खतरा बढिरहेको छ भन्ने विषयमा आम धारणा निर्माणको काम चलिरहेको छ । गणतन्त्रले केहि गर्न सकेन् । यसले उपलब्धि दिनै सकेन जस्ता विषय उठान गर्नाले नागरिक स्तरमा अत्यास त फैलिएको छ नै, व्यवस्थाविरोधी शक्तिहरुको चलखेल र व्यवस्थामाथिका खतराबारे किन अधिक चर्चा चलिरहेको छ त ?
संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक समावेशीतासहितको व्यवस्था चलिरहेको छ । राजनीतिक नेतृत्वले गणतन्त्रको सुदृढीकरणभन्दा सत्ता नेतृत्वको हारालुछमै समय व्यतित गर्दा व्यवस्थाविरुद्धका आवाज बलिया बन्न पुगेका छन् । यसरी हजारौंको बलिदानीबाट प्राप्त व्यवस्थामाथि यो व्यवस्था ल्याउन भूमिका खेल्नेहरुबाटै खतरा पैदा भएको भन्दै चिन्ता व्यक्त गरिन थालिएका छन् ।
बाबुरामले व्यवस्था ल्याउनेबाटै खतरा सिर्जना भएको भन्दै प्रचण्डमाथि प्रहार गरेपनि राजतन्त्रको वकालत गर्दै हिन्दु राष्ट्रको माग गरिरहेको राप्रपाले अहिलेको राजनीतिक स्थितिले व्यवस्था फाल्ने आन्दोलनलाई थप सहजता प्रदान गरिदिएको खुलेआम चुनौति दिए ।
राप्रपाले व्यवस्था फाल्ने आन्दोलन गर्ने दाबी गरेपनि यसले खासै प्रगति प्राप्त भने गर्न सकेको छैन् । राप्रपाको आन्दोलनले गति लिने नलिने विषयमा अन्योलता छाएकै बेला संसदमै राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीलाई प्रतिगामी शक्ति भनेकोमा चित्त मात्रै दुखाएनन्, उनले सरकार बनाउन आफ्नो दललाई गुहार्ने स्थिति नबनोस भनेर कुर्लिए पनि ।
यसरी व्यवस्थाविरोधी आवाज उठ्न थालेपछि एमाले अध्यक्ष केपी ओलीले पनि बोल्न थालेका छन् । यो व्यवस्था नै उत्तम रहेको दाबी गर्दै आएका ओलीले केहि पनि भएन भन्ने विषय सहि नभएको बताएका छन् । महिला सहभागिताको विषय जोडेका ओलीले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरेका छन् ।
गणतन्त्रमाथिका खतरा वेवास्ता गर्दै संघीयतालाई बलियो पार्नेमा भन्दा दलीय दृष्टीकोण सत्ता केन्द्रित बन्दा यस्ता आवाजले प्रशस्त स्थान पाइरहेको चर्चा चल्ने गरेको छ । गणतन्त्रमाथि उठेका प्रश्न जनताको जीवनस्तर उकास्न उचित कदम चाल्न नसक्दा नै सिर्जित भएकोमा कुनै शंका छैन् । तर, सत्ताको हारालुछ र जनतामा छाएको निराशा चिर्न नसक्दा मानिसहरु विभिन्न खाले बहकावमा उत्रिने र सडकमै उत्रिने स्थिति बन्न पुगेको छ । यस्तोमा सचेततापूर्वक कदम नचालिए व्यवस्थामाथिका खतरा थप बढ्नेमा कुनै शंका छैन् ।