News 24 Television
उपनिर्वाचनमा एमाले र रास्वपाकै भिडन्त, सत्ता गठबन्धनमा भूकम्पको खतरा ! (भिडियो)
ilam 2

काठमाडौं । उपनिर्वाचन नजिकिँदै गर्दा केन्द्र सरकारमा नयाँ सत्तासमीकरण कायम भएको छ । यही फागुन २१ मा मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसलाई लत्याएर अन्य दलहरुको साथ रोजे । त्यसपछि नयाँ गठबन्धनको जन्म भयो ।

नयाँ बनेको सत्ता समीकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एस छन् । सत्तको कुनै जोखिम नरहेको अवस्थामा पनि प्रधानमन्त्रीले समीकरण बदलेपछि तत्कालीन सत्ता साझेदार दल काँग्रेस अचम्मित बनिरहेको छ ।

योसँगै नवगठित गठबन्धनको आयुमा समेत कतिपयले प्रश्न गरिरहेका छन् । कतिपयले आगामी उपनिर्वाचनलाई समेत नयाँ गठबन्धनको संकटको कारण बन्नसक्ने दावी गर्न थालिसकेका छन् ।

निर्वाचन आयोगले आगामी बैशाख १५ गते इलाम – २ मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । यो तत्कालीन एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित क्षेत्र हो । तर यस क्षेत्रमा सत्ता गठबन्धन भित्रकै दलहरुको हानथापका कारण विवाद सिर्जना हुनसक्ने आंकलनहरु भइरहेका हुन् ।

इलाम – २ हालको सरकारमा रहेका दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा र नेकपा एसको आ–आफ्नै दाउको केन्द्र बनिरहेको छ ।

प्रतिनिधिसभा सदस्यको लागि अहिले हुन लागेको उपनिर्वाचन इलाम – २ मात्रै हो । अन्य क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।

यसका अलावा प्रदेशका लागि मात्रै उपनिर्वाचन हुनेछन् । तर प्रदेशमा निर्वाचनमा सत्ता साझेदार दल रास्वपाले अहिलेसम्म भाग लिएको छैन । र, आउँदो उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ रास्वपाले एक्लै प्रतिस्पर्धा गर्ने उद्घोष गरिसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको तयारीस्वरुप ६ सांसदलाई यही फागुन १९ गते इलाम पठाएको थियो । पार्टीको निर्णय अनुसार रास्वपाले निर्वाचन क्षेत्रभित्र पर्ने प्रत्येक पालिकामा एक–एक सांसदहरु पठाएको थियो ।

त्यस्तै रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डरको रुपमा अघि सारेको छ । रास्वपाले अहिलेसम्म उम्मेदवार चयन गर्न नसकेपनि सहमहामन्त्री बुर्लाकोटीको नाम अघि सार्ने चर्च छ । तर, पार्टी भित्र केन्द्रीय सदस्य रमेश प्रसाईँलाई उठाउन दबाब रहेको बताइन्छ । जे होस् रास्वपाले इलाम – २ को उपनिर्वाचनमा अरुलाई नसघाई आफ्नै दलाबाट उम्मेदवार उठाउने निश्चितजस्तै छ ।

उता सत्ता गठबन्धनकै सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि निर्वाचनको सरगमी बढाएको छ । यद्यपि एमालेले पनि उम्मेदवार भने टुङ्ग्याइ सकेको छैन ।

आफ्नै विरासद रहेको यो क्षेत्रमा एमालेले अन्य दलको उम्मेदवारलाई सहयोग गरेर अघि बढ्ने कल्पनासमेत गर्दैन । किनकी यो क्षेत्रमा २०५६ देखि लगातार एमालेबाट सुवास नेम्वाङ विजयी हुँदै आएका थिए । त्यसैले यो उपनिर्वाचनमा पनि एमालेले नेम्वाङ पुत्र सुहाङ नेम्वाङलाई नै उठाउन सक्ने चर्चाहरु भइरहेका छन् ।

त्यसैकारण यो क्षेत्रमा प्रमुख त एमाले र रास्वपाकै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । त्यस्तैगरी सत्ता साझेदार दोस्रो ठूलो दल माओवादी पनि इलाम जिल्लामा आफ्नो जनप्रतिनिधि निर्वाचित गराउने कोसिसमा रहने छ । इलाममा पछिल्लो समय स्थानीय तह, प्रदेश र केन्द्रमै माओवादीबाट जनप्रतिनिनिधि कमै निर्वाचित हुँदै आएका छन् ।

https://youtu.be/zeNfvlNt1F8?si=dpK1M_dF5wNNT7qb

उता अर्को सत्ता साझेदलार दल नेकपा एसले पनि इलाम २ लाई तार्गेट गरेर उम्मेदवारी दावी गर्ने कोसिस गरिरहेको छ । यसले गर्दा यो उपनिर्वाचनमार्फत नै सत्ता गठबन्धन भित्र चोसोपना ल्याउने संकेतहरु पैदा हुन थालिसकेका छन् ।

यसका अलावा उपनिर्वाचनमा गठबन्धन भित्रका दलहरु काँग्रेससँग मिल्ने संभावना छैन । नयाँ गठबन्धन निर्माण हुँदै गर्दा दलहरुबीच भने राष्ट्रियसभा अध्यक्षको चुनावमा गठबन्धन गर्ने सहमती भइसकेको छ ।

एमाले, माओवादी र रास्वपाले मुख्यगरी उपनिर्वाचनमा आ–आफ्नै दाउ हेरिरहेको अवस्थामा सत्ता गठबन्धका लागि इलाम नै किचलोको केन्द्र नबन्ला भन्ने अवस्था छैन ।

राष्ट्रियसभाको निर्वाचन र केन्द्रीय सरकारमा गठबन्धन गरेका दलहरु मुलुकको संवेदनशील राजनीतिक मुडमा समेत छन् । यही अवस्थामा हुन लागेको उपनिर्वाचनमा उनीहरु कसरी सहकार्यलाई निरन्तरता दिन्छन् ।

यो आम चासोको विषय बनिरहेको छ । यही अवस्था रहिरहे दलहरुबीच भइरहेको हालको सहकार्य र सहमति भंग नहोला भन्ने अवस्था छैन । त्यसैले उपनिर्वाचन नै नयाँ गठबन्धन फुटको कारण नबन्ला भन सकिने अवस्था देखिँदैन ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update