News 24 Television
महाशिवरात्रिमा देशभरका फरक फरक दृष्य
sivaratri

काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व हिन्दु धर्मावलम्वीहरुले शुक्रबार उल्लासका साथ मनाएका छन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

यसै अवसरमा शुक्रबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड रहयो । यस दिनलाई दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । काठमाडौंका अन्य शिवालयमा पनि भीडभाड नै देखियो ।

उता, मोरङको विराटनगरका शिवालयहरुमा पनि विधिपुर्वक पुजाआराधना गरी धुमधामका साथ महाशिवरात्रि मनाइएको छ ।

महाशिवरात्रिकै अवसरमा पर्साको विभिन्न शिव मन्दिरहरुमा मेला लागेको छ । बिरगंजको अलखिया मठ, पोखरीयाको शिव मन्दिर ग्रामिण भेगको जगरनाथपुर गाउँपालिकाको मसियानी मंन्दिर, सखुवाप्रसौनी गाउँपालिकाको महुवन पारसनाथ मंन्दिर, पर्सागढी नगरपालिकाको बागेश्वरीचित्रौना मंन्दिर, बिन्दवासिनी गाउँपालिकाको बहुअवर्वाभाटठा मंन्दिर, धोबिनी गाउँपालिकाको जगरनाथपुर गाउँको शिव मंन्दिर, पटेर्वा सुगौली गाउँपालिकाको भाठा मंन्दिर, जिराभवानी गाउँपालिकाको महादेवपटि मंन्दिर, कालिकामाई गाउँपालिकाको भेडिहारी मंन्दिर, पकहामैनपुर गाउँपालिकाको खेस्राहा शिव मंन्दिरमा मेला लागेको छ ।

बर्दियामा पनि महाशिवरात्रिलाई उल्लासका साथ मनाइदै छ । बाँसगढी नगरपालिकास्थित केदारेश्वर धाम, गुलेरिया स्थित बंगलामुखी माताको मन्दिर, कोठै मन्दिर, केदारश्वर धाम क्षेत्रमा भक्तजनको भीड थियो । यहाँ रातभरपनि भजनकिर्तन हुनेगर्छ ।

बाँकेको बागेश्वरी मन्दिर, राप्ती सोनारी गाउँपालिकामा रहेको सन्तानेश्वर मन्दिरमा समेत रौनक थियो । म्याग्दीको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालयमा श्रद्धालु, भक्तजनहरुको भीड लागेको छ ।

यो धाम दोस्रो पशुपतिनाथको नामले परिचित छ । मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर धाम ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिलामाथि कालीगण्डकीको तटमा अवस्थित छ गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरुलाई लक्षित गरेर विभिन्न समितिहरु गठन गरी सहज रुपमा पुजाअर्चना गर्ने व्यवस्था मिलाइएको थियो ।

त्यस्तै अछामको वैद्दनाथ धाम धार्मिक हिसाबले एकदमै महत्व वोकेको ठाउँ हो । यश धाममा हरेक बर्ष शिवरात्रीको दिन मेला लाग्ने गर्दछ ।

यहाँ दर्शन गर्न अछाम संगै बाजुरा, बझाङ, डोटी, डडेल्धुरा लगायतका जिल्लाबाट हजारौ भक्तजन आउने गरेका छन् । यसबर्ष पनि शिवरात्रिकै दिन सम्पन्न हुनेगरी कोटिहोम महायज्ञ लगाइएको थियो । यस महायज्ञमा ५० हजार भन्दा बढि भक्तजनको उपस्थिीती रहेको थियो ।

तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेस्वर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको हो ।

महाशिवरात्रिमा रातभर भगवान शिवको भजनकिर्तन गरिने हुनाले पनि रातभर उल्लासको वातावरण रहने गर्दछ ।

https://youtu.be/E7noBXOer90?si=S2w4nld7k-sjA24F

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update