
काठमाडौं । सत्ता समिकरणमा आएको बदलावपछि छिमेकी मुलुकको सक्रियता फेरि बढेको छ । भारत–चीनले सक्रियताका साथ सरकारबारे चासो र चिन्ता व्यक्त गरेपछि यसले थुप्रै आशंकाहरु उब्जाएको देखिन्छ ।
सत्ता समिकरण फेरबदल हुनुमा विदेशीको चलखेल बढेको आरोप लागिरहेको बेला चीन–भारतको सक्रियतामा किन आशंका गर्न थालियो त ?
नेपाली कांग्रेससहितको सत्ता गठबन्धनको बेला मौनजस्ता देखिएका छिमेकीहरु नयाँ सरकार बनेपछि औपचारिक रुपमा बधाई दिने र सहकार्यको लागि प्रस्ताव राख्ने काममा सक्रिय बन्नु सामान्य नै हो ।
विभिन्न विचारधारा बोक्ने पार्टीको गठजोडमा सरकार बनेको बेला सोहि अनुसार छिमेकी मुलुक पनि पेश हुने गर्नाले पनि छिमेकीमाथि आशंका गर्ने गरिएको छ ।
यस्तोमा कांग्रेससँगको गठबन्धन भत्किएर एमालेसहितको वामपन्थी बाहुल्यताको गठबन्धन बनेपछि चीन–भारतले पनि सक्रियता बढाएका छन् ।
वामपन्थी दलहरु मिलेर सरकार गठन हुनुलाई नै चिनियाँ पक्षले नयाँ ढंगले लिएको दावी आइरहेको बेला वाम विश्लेषक श्याम श्रेष्ठ भने चीन फ्याक्टरका कारण अहिलेको सत्ता गठबन्धन निर्माण नभएको दाबी गरिरहेका छन् ।
एमालेसहित वामपन्थी बाहुल्यताको सरकार बनेपछि अहिलेको सरकार बन्नुमा चीनको हात रहेको भन्दै भारतमा समेत चर्चा चुलिएको छ ।
भारतीय सञ्चार माध्यमहरुले त चिनियाँ सक्रियताकै कारण कांग्रेस सत्ताबाट बाहिरिएको समेत आरोप लगाइ सकेको छ ।
यता, दलका नेताहरुले समेत सरकार बन्ने र गठबन्धन फेरिने विषयलाइ विदेशी हस्तक्षेपको रुपमा अर्थ्याएका छन् ।
चिनियाँ पक्षले पहिलो भ्रमणको निम्तो दिएपनि पहिलो विदेश भ्रमण भारतबाटै गर्नलाई आनाकानी गर्दै तन्किएका प्रधानमन्त्री प्रचण्ड भारतमा पुगेर गेरुवस्त्र धारण गरिदिए ।
मठ मन्दिर धाउनेदेखि कांग्रेससँगको सत्ता गठबन्धनलाई अग्रमन र संविधान रक्षाको पहिलो सर्त भन्दै उचालिएका प्रचण्ड विस्तारै कांग्रेससँग चिढिए । यसमा थुप्रै कारण रहेको प्रधानमन्त्रीले संसदमा दिएको जवाफले पनि केहि पुष्टी त गर्छ नै ।
प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्किनुका विविध कारण देखाएपनि कांग्रेसले प्रतिप्रश्न भने गरिरहेकै छ । तर, त्यो भन्दा पहिलो विषय केहि समय पहिले प्रधानमन्त्री प्रचण्ड प्रबुद्ध समूहले तयार पारेको इपीजी प्रतिवेदनबारे संसदीय समितिमा गम्भीर रुपमा पेश भए ।
भारतले इपीजी प्रतिवेदन बुझ्न नमाने नेपालले निर्णय गर्ने चेतावनी नै दिए । प्रचण्डको यस्तो चेतावनी त्यो बेला आयो, जुन बेला वामपन्थीहरु मिल्ने विषयको आन्तरिक तयारी सघन रुपमा चलिरहेको थियो ।
संक्रमणकालीन न्यायदेखि सत्ता साझेदारीबारे मिहिन ढंगले छलफल चलिरहेको बेला प्रचण्डले भारतविरुद्ध खोलेको फायरबारे कांग्रेसले मेसो पाउनै सकेन । यता, ओलीले पनि सरकारविरुद्धको प्रहारलाई थप आक्रमक बनाइरहे । त्यसपछि गठबन्धन फेरियो ।
गठबन्धन फेरिएपछि बल्ल विदेशी चलखेल भन्दै विभिन्न विषय उठाउने क्रम शुरु भएको देखिन्छ । तर, यता केपी ओलीले भने भारतले छिमेकीको व्यवहार नगरेको बन्दै लामो समयदेखि असन्तोष व्यक्त गरिरहेका छन् ।
कुन देशको प्रभाव कस्तो ?
नेपालभित्र भारतले माइक्रो म्यानेजमेन्ट गर्ने पं्रसंग कतैबाट छिपेको छैन ।
नेपालमा राजनीतिक दलहरु आफ्नो शक्ति प्रदर्शन गर्न दिल्ली निकट भएको प्रमाण पनि पेश गर्छन् । नेपालमा हस्तक्षेप गर्ने देश र शक्ति धेरै छन् ।
विभिन्न आँकडा, विश्लेषकहरुको विश्लेषण र देशभित्र हुने परिवर्तनहरुका आधारमा नेपालको राजनीतिकमा प्रत्यक्ष हस्तक्षेप गर्ने देश वा शक्तिको सूचीमा भारत पहिलो नंवरमा आउँछ ।
भारतपछि प्रभाव पार्ने देशको दोस्रो सूचीमा चीन पर्छ । नेपालको आन्तरिक राजनीतिमा दखल दिनेहरुमा अमेरिका, युरोपियन युनियन र रुस क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा पर्ने राजनीतिकर्मीहरु नै बताउने गर्छन् ।
जसपाबारेको प्रश्न
सत्ता गठबन्धन फेरिएकै दिन जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने निर्णयमा हस्ताक्षर ग¥यो ।
अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने निर्णय गरेपनि उनी पार्टीभित्र चरम संकटमा समेत हेलिएको जसपाभित्र चर्चा चलिरहेको छ ।
उपेन्द्रको पार्टीभित्र विद्रोहको चेतावनी नै आएपनि अन्ततः उनले समाजवादी मोर्चा र सरकारले दल फुटाउने गरि सहज स्थिति सिर्जना नगरिदिने देखेपछि पेलेरै गए र आफू सरकारमा सहभागी हुने निर्णय गराउन सफल भए । तर, यस्तो हुनुमा जसपाभित्र भारतको प्रभाव परेको भन्दै विश्लेषण नभएका भने होइनन् ।
यता, कांग्रेसले समेत सरकारले बहुमत प्राप्त नगर्ने भन्दै थालेको पहलमाथि समेत दक्षिणको शक्ति हाबी भएको अर्थमा धेरैले अर्थ्याउने गरेका छन् ।