News 24 Television
नयाँ गठबन्धन भत्काउन काँग्रेस सक्रिय, भारतको पनि चासो
bharat ko chaso__100%
  • सुजन चालिसे

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले धोका दिएर गठबन्धन फेरेको निश्कर्ष निकालेको नेपाली कांग्रेसले सहजै हार नमान्ने संकेत गरिरहेको छ । यद्यपि नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले वर्तमान सरकारमा आफ्नो मन्त्रीहरु पठाएपछि तत्कालै एमाले–माओवादीलाई पाखा लगाएर बन्न सक्ने अर्को गठबन्धनको सम्भावना भने टरेको छ । कांग्रेसको छटपटी र वर्तमान सरकारलाई लिएर छिमेकी भारतको असन्तुष्टी हेर्दा यो समिकरण पनि दिगो हुन नसक्ने विश्लेषण हुन थालेको छ ।

बुधवार दिउँसो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश केन्द्रीत साना दलहरुसँग छलफल गरे । नयाँ गठबन्धनको टिकट नपाएका जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा वैकल्पिक गठबन्धनका बारेमा छलफल भएको बताइएको छ । नेपाली कांग्रेसले यसअघि नै चरणबद्ध बैठक राखेर आफ्नो हरसम्भव सहयोग रहँदा रहँदै पनि प्रचण्डले कुनै कारणबिना गठबन्धन तोडेको आरोप लगाइसकेको छ । यसलाई काउण्टर दिनका लागि कांग्रेसले कसरत गरिरहेकै छ ।

राजनीतिक वृत्तमा छलफलमा कांग्रेस सभापति देउवाले चीनको प्रभावका कारण गठबन्धनमा समस्या आएको संकेत गरेका थिए । चीनियाँ परियोेजना बिआरआईलाई अनुदानका रुपमा मात्र ग्रहण गर्ने नेपाली कांग्रेसको अडानले गठबन्धन तोडिएको संकेत देउवाको थियो । भारतीय राजनीतिक वृत्तमा त यकिनका साथ चिनको हस्तक्षेपका कारण ओली–प्रचण्ड एकठाउँमा उभिएको चर्चा भइरहेको छ । अझ प्रधानमन्त्रीमा प्रचण्ड तथा परराष्ट्रमा चीन अनुकुल मानिने नारायणकाजी श्रेष्ठको उपस्थितीले भारतलाई बिझाएको छ । नेपालमा आफ्नो प्रभाव जमाउन चीन–भारत विगतदेखि नै प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले वर्तमान सरकारसँग बेखुश भारत पनि चुप लागेर बस्ने मुडमा देखिँदैन । भारतले आफ्ना विश्वास पात्रहरुलाई चलायमान बनाइरहने नै छ ।

नेपाली राजनीतिमा भारत–चीन प्रभाव नकार्न नसकिने भए पनि यो गठबन्धन बन्ने भत्किने खेलमा दलहरुको स्वार्थ प्रमुख कारण भएको राजनीतिक विश्लेषकहरुको बताउँछन् । भारतको प्रयास भए पनि नभए पनि वर्तमान गठबन्धन दिगो हुने सम्भावना न्यून रहेको आम बुझाइ छ । त्यसकारण निकट भविष्यमै अर्को धु्रवबाट कांग्रेसको वैकल्पिक गठबन्धन बन्ने सम्भावनालाई पनि नकार्न सकिदैन ।

तत्कालीन सत्ता गठबन्धन टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा माधव नेपालको निवासमै पुगेर सत्ता सहकार्यको प्रस्ताव राखे । राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत प्रधानमन्त्रीको अफर गरेको हल्ला बाहिरियो । शान्त स्वभावमै राजनीतिक खेल खेल्ने देउवाको यो सक्रियता केहि अस्वभाविक देखिन्छ । प्रचण्डबाट पाएको धोकालाई सहजै क्षमा गर्ने मुडमा कांग्रेस देखिँदैन । यो आगोमा भारतको सक्रियताले अझ बल पुर्याउने देखिएको छ ।

https://youtu.be/WVlTD3gkFlM

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update