News 24 Television
१३ महिनापछि गृहमा रविको ‘कम्ब्याक’, दुई–दुई पटक सहजै जिते चुनाव र मन्त्री ! (भिडियो)
rabi lamichhane

काठमाडौं । केही समयको विश्रामपछि रास्वपा पुनः सत्तामा सामेल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक सत्ता समीकरण बदल्दा रास्वपा पनि सरकारमा सहभागी भएको हो ।

काँग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धनमा सरकार निर्माण हुँदा रास्वपाले गृहसहित अन्य चार मन्त्रालयको जिम्मेवारी पाएको हो ।

रास्वपाबाट सभापति रवि लामिछाने गृहमन्त्री बनेका छन् । छोटो समयमै राष्ट्रिय राजनीतिमा छाएका रवि दोस्रो पटक उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघि पनि उनी प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा थिए । सोमबार गृहमन्त्रालयको कार्यभार सम्हाल्दै रविले मुलुकमा शान्ति सुरक्षा कायम गर्न आफू सँधै तल्लिन रहने दावी गरे ।

उनले सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन भन्दा पनि कानूनको परिपालना गराउन आफू सँधै सहयोगी भूमिकामा रहने अठोट गरे ।

रविको छलाङ

राजनीतिमा होमिएको छोटो समयमै दुई–दुई पटक गृहमन्त्री बनेका रवि पूर्वसंचारकर्मीसमेत हुन् ।

नेपाल टेलिभिजन, न्यूज २४ टेलिभिजन र ग्यालेक्सी फोरके टेलिभिजनमासमेत काम गरेका रविले २०७९ जेठबाट संचारकर्मबाट विदा लिए ।

त्यसको एक महिना पछि असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरेका रविले औपचारिक रुपमै राजनीतिमा होमिएको घोषणा गरे ।

त्यसयता विविधि आरोह अवरोह खेपेका रवि राजनीतिमा भने अविच्छिन्न सफलता प्राप्त गर्दै आएका छन् ।

०७९ साल मंसिरमै सम्पन्न भएको आम निर्वाचनमा रवि चितवन – २ बाट निर्वाचित भए । जबकी उनी त्यो बेला राजनीतिमा होमिएको ६ महिना मात्रै भएको थियो । सो निर्वाचनमा उनले रास्वपालाई मुलुकको चौँथो ठूलो दलको रुपमा स्थापित गराए ।

रविको गति यतिमै रोकिएन । निर्वाचनपछि बनेको गठबन्धन सरकारमै उनी पहिलो पटक उपप्रधान तथा गृहमन्त्री बने ।

पहिलो पटक सरकारमा सामेल भएको रास्वपाबाट रविसहित ४ जना मन्त्री बनका थिए । तर त्यसको केही दिनमै नागरिकता विवादमा रविविरुद्ध मुद्धा पर्यो । जसमा दोषी ठहरिएका रविले संसद र मन्त्री पद एकै पटक गुमाए ।

यद्यपि हार नमानेका रवि पुनः नागरिकता सच्याएर उपनिर्वाचनमा होमिए । गतवर्ष बैशाखमा भएको उपनिर्वाचनमा रवि भारी मतसहित पुनः चितवन – २ बाटै प्रतिनिधिसभामा निर्वाचित भए । यही कार्यकालमार्फत हाल रवि गृहमन्त्री बनेका हुन् ।

रविका नाममा वल्र्ड रेकड पनि

गृहमन्त्री रवि लामिछानेले संचार कर्ममा लामो समय व्यतित गर्दा आफ्नो नाममा वल्ड रेकर्ड पनि कायम गरेका थिए ।

नेपाल टेलिभिजनको सिधाकुरा प्रधानमन्त्रीसँग कार्यक्रमको परिकल्पनाकारसमेत रहेका उनले टिभीमार्फत नै जनताको गुनासाहरु सरकारलाई पुर्याउने गर्दथे । त्यसपछि न्यूज २४ टिभीमा आबद्ध भएका रविले ७ वर्षसम्म सीधाकुरा जनतासँग कार्यक्रम चलाए ।

यही दौरानमा उनले ६२ घण्टा १२ मिनेट लामो टक सो गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि कायम गरे ।

https://youtu.be/vCVnV87ARvA?si=0XCzCbpt-qC4L59n

न्यूज २४ पछि उनले आफ्नै अगुवाइमा ग्यालेग्सी फोरके टेलिभिजन सञ्चालनमा ल्याए । यद्यपि उनले सो टेलिभिजनबाट एक वर्षमै विदा लिए । संचारकर्मबाटै समाजिक विक्रिति र विसंगतीलाई निर्मुल गर्ने उदेश्य बोकेका रवि गत वर्ष राजनीतिमा होमिएका हुन् ।

राजनीतिको छोटो दौरानमै उल्लेख्य सफलता प्राप्त गरेका रविले अहिले पुनः सरकारमा रहेर काम गर्ने अवसर प्राप्त गरेका छन् ।

सँधै जनताका हितमा सरकारमाथि प्रश्न गर्ने रवि अहिले जवाफ दिने ठाउँमा पुगेका छन् । अघिल्लो चरणमा ३२ दिन मात्रै सरकारमा सामेल भएका रविलाई यो पटक भने कदीर्घकालीन रुपमा जनताको पक्षमा काम गर्दै आफुलाई प्रमाणित गर्ने अवसर प्राप्त भएको छ ।

पुराना र परीक्षण भइसकेका नेताहरुको विकल्प बन्ने अठोट गर्दै राजनीतिमा होमिएका रविले सरकारमा रहेर जनताको मन जित्न कति सफल होलान्, त्यो भने पर्खाइको विषय बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update