News 24 Television
बिग्रिएको राजनीतिक परिस्थितिमाथि रास्वपाकाे हस्तक्षेप !
santos

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिग्रेको राजनीतिक परिस्थितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गरेर नयाँ गठबन्धन बनेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक परियारले बिग्रिएको राजनीतिक परिस्थितिलाई पार्टी सभापति रवि लामिछानेको पहलमा हस्तक्षेप गरिएको बताएका हुन् ।

उनले रास्वपाले नयाँ गठबन्धन बनाउन मुख्य भुमिका खेलेको दाबी समेत गरे । पुराना पार्टीहरुले सदनमा प्रतिष्पर्धा र निर्वाचनमा सहकार्य गर्ने गरेकाे भन्दै आगामी दिनमा निर्वाचनमा प्रतिष्पर्धा र सदनमा सहकार्य गर्नुपर्ने उनले बताए । साथै इलाम- २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनावमा होमिने र जित्ने दाबी समेत उनले गरे ।

‘अहिलेको अवस्थामा रहेको देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न, संविधानले व्यवस्था गरेका जनताका अधिकारहरुलाई सुनिश्चित गर्न प्रधानमन्त्रीले जुन मन्त्रिमण्डल गठन गर्नुभयाे, आज एउटा ऐतिहासिक क्षण हो भन्ने लाग्छ मलाई,' उनले भने, 'राष्ट्रिय स्वतन्त्र पार्टी सदनमा आइरहँदा सदनको यही रोष्टममा पहिलोपटक बोलिरहँदाखेरी पार्टीको तर्फबाट आफ्नो बिचारहरु राखिरहँदाखेरी मैले भनेको थिएँ कि हामी दुई, चारजना व्यक्ति मात्रै आएका छैनौँ । तत्कालिन समयको, आजको हाम्रो समयको पेचिलो मुद्दाहरुलाई बुझेर समाज रुपान्तरणको विचारसहित नयाँ हस्तक्षेप गर्न आएका छौँ भनेर हामीले भनेका थियौँ । म जानकारी गराउन चाहन्छु, बिग्रेको राजनीतिक परिस्थितिलाई आज हाम्रो पार्टीका सभापतिको पहलमा हामीले हस्तक्षेप गरेका छौँ । र हामीले यो नयाँ गठबन्धन बनाउनमा मुख्य भुमिका खेलेका छौँ । हामी त सदनमा सहकार्य गरौँ भन्न चाहन्छौँ । निर्वाचनमा प्रतिष्पर्धा गरौँ भन्न चाहन्छौँ । तर हाम्रो संसदीय अभ्यासमा हिजोदेखि तपाईहरुले के गर्नुभयो ? सदनमा सधैँ प्रतिष्पर्धा गर्नुभयो । र निर्वाचनमा गएर सहकार्य गर्नुभयो । जसले गर्दाखेरी, लोकतन्त्रलाई पनि कमजोर बनाइदिनु भयो । म जानकारी गराउन चाहान्छु, एउटा दुखद घटनाका कारण इलाममा निर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी भन्न चाहान्छ, इलामको निर्वाचनमा हामी प्रतिष्पर्धा गरौँ । सहकार्य नगरौँ । राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै उभिएर त्यो निर्वाचनमा प्रतिष्पर्धा गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को निर्वाचन जित्छ पनि ।’

उनले आफूहरु प्रश्न गर्ने मात्रै नभएर समस्याको समाधान गर्न पनि सरकारमा सामेल भएको बताए । विगतमा नेपाल बनाउन शुरु नै नगरिएको जिकिर गर्दै उनले अब नेपाल बनाउने काम शुरु हुने दाबी गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update