
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शंका र अविश्वास भएका कारण नेपाली काँग्रेससँगको गठबन्धन भत्काएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस पार्टी र आफूहरुका बीचमा वैचारिक विषयमा शंका र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको बताएका हुन् ।
उनले आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको प्रष्ट पारे । काँग्रेसको नेतृत्व र आफ्नाबीच व्यक्तिगत अविश्वास पनि केही नभए पनि व्यक्तिगत भन्दा पनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताए । कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरीत लाग्दा पनि कारबाही नभएको र राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको उनले बताए । उनले काँग्रेस महासमिति बैठकले गठबन्धनको विरुद्धमा निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर अभियान चलाउनु नै गठबन्धन टुट्नुको कारण रहेको प्रस्ट पारेका छन् । त्यसैगरी काँग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठिक भएको आशय उल्लेख गरिनु पनि सम्बन्ध टुट्नुको कारण भएको बताए ।
प्रधानमन्त्री प्रचण्डकाे सम्बाेधनकाे अंश :
‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रुपमा म कुनै समस्या वा अप्ठ्यारोमा थिइनँ । न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मेराबीच व्यक्तिगत अविश्वास केही पनि थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि त्यहाँ थिएन । पछिल्लो ११ महिना लामो साथ र सहकार्यप्रति म विशेषत्ः नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवा र साथीहरुप्रति आभारी छु । अहिले पनि हाम्रो नीजि सम्बन्धमा मेरो तर्फबाट कम्तिमा उत्तिकै सद्भाव छ ।
तर, राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणामहरु निर्णायक हुन पुग्दारहेछन् र अघिल्ला गठबन्धनमा त्यही भयो । निर्वाचनमा नेकपा(माओवादी केन्द्र)ले जुन तहमा कांग्रेसलाई सघायो । त्यही तहमा आफूले सहयोग पाएन भन्ने मनोविज्ञान देशभरी थियो । त्यसले आपसी विश्वास केही कमजोर बनाएकै थियो । निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतीबाट नेतृत्व पछि हट्दा त्यसले एउटा अर्को मनोविज्ञान बन्न गयो । एउटा परिस्थिति फेरिएर फेरी जोडिएपछि कोशी प्रदेशमा त काँग्रेसको एउटा समुहले माओवादीका बिरुद्ध एक किसिमको विरुद्ध नै गर्यो । गठबन्धनको नैतिकताको कसिमा त्यो दण्डित हुनुपथ्र्यो तर त्यसो हुन सकेन बरु भयो पुरस्कृत । राष्ट्रिय सभा निर्वाचनमा त्यही पक्षले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्यो ।
यता काँग्रेस महासमिति बैठकमा बिना सन्दर्भ त्यही गठबन्धनको निन्दा जस्तै गरी गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो भन्ने कुरा बिर्सिएर चर्चा, परिचर्चा, छलफल र निष्कर्ष निकालियो गठबन्धनको विरुद्ध । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारमाथि अनावश्यक र बेमौसमको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक मान्न सकिएन । गणतन्त्रका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्म निरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली काँग्रेसको महासमितिको बैठकमा स्टल नै राखेर जसरी धर्मको नाममा हस्ताक्षर अभियान चलाइयो त्यसले काँग्रेसको संविधानप्रतिको प्रतिवद्धता माथि पनि एक हदसम्म प्रश्न उठाउने ठाउँ बन्न गयो ।
महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्युनिकरण मात्र होइन त्यसलाई विद्रुपीकरण गरियो र ०४७ सालकै संविधान ठिक भएको आशयको प्रतिवेदन वितरण गरियो । यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्न गयो ।’