
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अन्ततः उपप्रधानसहित गृहमन्त्री बनेका छन् । गृहलाई बटमलाइन बनाएर कांग्रेसको प्रधानमन्त्री कार्ड बोकेका रवि स्वार्थ बाझिने मन्त्रालय रोजेर सरकारमा सहभागी भएपछि उनीमाथि आक्रोशको ओइरो लागेको छ । रविले स्वार्थ बाझिने मन्त्रालय नै किन रोजे त ?
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृह मन्त्रालयबाट सुशासनको पक्षमा काम गर्ने र पुराना दलसँगको सहकार्यलाई पुष्टी गर्ने दाबी गरिरहेको छ । गृहबाट सुशासन कायम गराउने भन्दै सरकारमा गएको रास्वपामाथि भने स्वार्थ बाझिने मन्त्रालय रोजेको भन्दै आक्रोश चुलिएको छ । रविलाई उनका समर्थकले समेत यसबारे प्रश्न गर्न थालेका छन् । तर, रविले स्वार्थ बाझिने विषयलाई अनदेखा गर्दै मन्त्रीको सपथ लिए ।
सरकारमा जाँदै नजाने, मिसन ०८४ बाट बहुमत प्राप्त गरेर रास्वपाको नेतृत्वमा सरकार गठन गर्ने दाबी गर्दै आएका रविले आफूसहित चार जनालाई मन्त्री बनाउन सफल भएका छन् । जसमा गृहमा रविसहित श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठ जाने भएका छन् । तर, उनीहरुले सरकारमा नजाने भन्दै गरेका बाँचा अहिले विरोधस्वरुप सार्वजनिक भइरहेका छन् ।
गृह मन्त्रालयको अडान पछाडिका कारण के ?
गितेन्द्रबाबु राई (जीबी) समुहले सहकारी क्षेत्रमा गरेको ब्रह्मलुट अनुसन्धानको चरणमा छ । जीबी मलेसियामा लुकेर बसेको पाईएपछि रविको मलेसिया भ्रमण नै विवादमा परेको थियो । रविले मलेसिया पुगेर जीबीलाई भेटेकोदेखि सबै कुरा मिलाएर आएको आरोप समेत लाग्यो । यतिमात्रै नभएर अधिकांश कार्यक्रममा रविमाथि सहकारी प्रकरणको प्रश्न ओइरिने गर्छ । यद्दपी, उनले यो विषयमा आफू पनि डटेर लड्ने दाबी त् गर्छन तर आम सर्वसाधारणले उनीमाथि समेत आशंकाको दृष्टीले हेर्ने गरेका छन् । भने प्रहरीको अनुसन्धान रविविरुद्ध पनि चलिरहेको छ । यस्तोमा रविले किन स्वार्थ बाझिने मन्त्रालय रोजे ? धेरैले यो विषयमा आश्चार्य मात्रै प्रकट गरिरहेका छैनन्, उनले आफूविरुद्धका सबै आरोप सामसूम पार्ने भन्दै गम्भीर आशंका समेत गरिएको छ ।
अन्य मन्त्रीमाथि समेत प्रश्न
रविजस्तै शिक्षा मन्त्री बनेकी सुमना श्रेष्ठबारे समेत आशंका गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिदेखि सरकारका हरेक कामलाई खरो प्रतिकार गर्दै आएकी सुमनाले अब शिक्षा मन्त्रालय नै सम्हालेपछि कसरी कार्य सम्पादन गर्लिन् यो विषय चासोमा छ । यस्तै, डीपी श्रम र विराजभक्त खेलकुद मन्त्री बनेका छन् । रास्वपाका मन्त्रीहरु अन्य पार्टीका मन्त्रीभन्दा धेरै प्रश्नको घेरामा छन् । अहिले नै रास्वपा सरकारमा नजाने ठानेका सर्वसाधारणले यो विषयलाई आक्रोशमा बदलिरहेका छन् ।