
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली जोखिम मोल्ने मामलामा अग्रपंक्तिमै देखिन्छन् । आफूले चाहेको निर्णय गर्ने मामलामा समेत कट्टर मानिने ओलीले एमालेभित्र अवसर वितरण र प्राथमिकतालाई समेत नयाँपन दिने प्रयास गर्छन् । अहिले सत्ता गठबन्धनमा समेत ओलीले चालेको कदम र उनको रणनीतिलाई नयाँ ढंगले हेरिएको छ ।
एमाले अध्यक्ष केपी ओली प्रतिपक्षमाथि पेश हुने मामलामा निर्मम पाइन्छन् । आफूलाई मन नपरेको विषयमा निर्धक्क बोल्ने र त्यसको पुष्टीका लागि अनेकन बल लगाउने उनको शैली नै हो । राजनीतिक रुपमा समेत ओलीको सक्रियतालाई चाखलाग्दो ढंगले हेर्ने गरिन्छ । भने, उनी सामाजिक मुद्दामा समेत चनाखो रुपमा पेश हुने हुनाले ओलीलाई धेरैले ’बा’ सम्बोधन गर्ने गर्छन् । पछिल्लो समय सबैखाले तिक्ततालाई दुर लगाए जसरी उनी पेस भएका छन भने पार्टीभित्रको जिम्मेवारी बाँडफाँटमा समेत उनले फरकपना दिन खोजेका छन् । तर, उनका रोजाईमा पर्नेहरुले भने ओलीलाई नै विवादमा समेत ल्याउने गरेका पाइन्छन् ।
केपी ओली पार्टीले प्राप्त गर्ने सबैखाले अवसरको वितरणलाई लिएर केहि नयाँपनको आभास दिने कोसिस गरिरहेको देखिन्छ । युवा तथा बालबालिकालाई असाध्यै मन पराउने ओली कहिले बालबालिकासँग झुल्किन्छन त कहिले तिखो प्रहार गरेर चर्चामा आइरहन्छन् । यस्तोमा ओलीले अवसर दिएका केहि दृष्टान्त र विवाद यस्ता छन् :
१. गोकुल बास्कोटा
केपी ओलीले अत्यन्तै विश्वास गर्ने पात्र हुन, गोकुल बास्कोटा । ओलीले बास्कोटालाई सांसदमात्रै बनाएनन, उनले तत्कालीन नेकपाको ठूलो दबदबामा राज्यमन्त्रीबाट बडुवा गर्दै सञ्चार मन्त्री नै बनाइदिए । सञ्चार मन्त्री बनेका गोकुल ७० करोड रकम लेनदेन भनिएको अपुष्ट अडियोका कारण विवादीत बने र उनले पदबाट राजीनामा नै दिए । यो प्रकरणमा अहिले अख्तियारले अनुसन्धान गरिरहेको दाबी गरेको छ । तर, अब सत्ता गठबन्धनको बदलावले कस्तो प्रभाव पार्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन् ।
२. महेश बस्नेत
महेश बस्नेतलाई गुण्डागर्दीको ट्याग लगाएर धेरैले आरोपित गर्ने गर्छन् । ओलीको पक्षमा खरो पेश हुने महेश उद्योग मन्त्री पनि बने । ओलीले रुचाएका महेश पनि पछिल्लो समय एक महिलासँगको विवादीत सम्बन्धका कारण धरमरमा छन् । उनीविरुद्ध ती महिलाले सञ्चार माध्यममै बयान दिए पनि यो विषय अनुसन्धानको दायरामा आएको भने छैन ।
३. ऐन महर
तत्कालीन नेकपा कालमा ओलीले ऐन महरलाई विद्यार्थीको नेतृत्व दिए । महर ओलीका पक्षमा खुलेर बहस गर्ने नेतामा समेत पर्छन् । यसरी नै ओलीले उनलाई प्रतिनिधिसभाको चुनावमा टिकट दिए पनि उनी जित निकाल्न सफल भएनन् । अहिले उनीमाथि समेत अवैध सम्बन्धको आरोप एमाले वृत्तमा व्याप्त छ ।
जिम्मेवारी पाए पनि कडा पेश हुन नसक्ने को ?
१. नविना लामा
तत्कालीन अनेरास्ववियुको अध्यक्ष बनेकी नविना लामालाई ओलीले समानुपातिकतर्फबाट सांसद बनाए । सांसद बनाए पनि नविनाले संसदमा खरो पेश हुनै सकिनन् । अझं उनले संसदमा गरेको भाषण विवादमा नै आयो । संसदमा बोल्दा लरबराएको जस्तो देखिएपछि उनले दोहोर्याएर जिम्मेवारी प्राप्त गर्ने अवसर जुरेको देखिन्न ।
अर्को प्रयोग
१. महेश वर्ताैला
तत्कालीन अनेरास्ववियुको उपाध्यक्ष रहिसकेका महेश बर्ताैला एमालेमाथि संकट चलिरहेको बेला प्रतिनिधिसभामा निर्वाचित भए । सांसद निर्वाचित भएपछि बर्ताैला सचेतक बनाइए । सचेतकको रुपमा बर्ताैलाले संसददेखि सडकमा समेत प्रभाव छाड्न सफल भएपछि उनी प्रमुख सचेतकमा बडुवा भएका छन् ।
२. सुनिता बराल
तत्कालीन नेकपा विभाजनको बेला एमालेको विद्यार्थी संगठनलाई हाँकेकी सुनिता बराल समानुपातिकतर्फबाट सांसद छिन् । सांसद भएपनि संसदमा खास प्रभावकारी नदेखिएकी उनलाई ओलीले सचेतकको जिम्मेवारी सुम्पिएका छन् । उसोतः सुनिताले आफूलाई प्रमाणित गर्न सके एमालेभित्र अवसरको कमी नहुने संकेत ओलीले गरिसकेका छन् ।
जोखिम, लचकता र निर्ममता
ओली जोखिम मोल्ने मामलामा समेत उत्तिकै प्रावकारी कदम चाल्नेमा पर्छन् । तत्कालीन नेकपा विभाजन र संसद विघटनमा उनले आफ्नो विचारलाई कुनैपनि हालतमा लागू गराए । अदालतले उनको विपक्षमा फैसला गरेपनि ओलीले देखाएको दृढता भने चर्चा हुने गरेको छ । यस्तै, ओली निर्मम बन्न पनि उत्तिकै माहिर छन् । पार्टी विभाजनको लामो समयसम्म नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको सम्बन्ध सुधारको साटो विभिन्न आक्षेप लगाइरहे । यस्तो आक्षेप लगाउने गरेका ओली फेरि सत्ता समिकरणको हिसाब मिलानसँगै वामपन्थी एकता र सहकार्यका लागि भन्दै माधवसँग हदैसम्म लचक बनेको चर्चा चलिरहेको छ ।