News 24 Television
सुदूरपश्चिम सरकार अल्पमतमा, एकीकृत समाजवादीले पनि छाड्यो साथ
सुदुरपश्चिम-समाजवादी-मन्त्री-बर्खास्त
  • सुशील ढुङ्गाना

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । हिजो माओवादी केन्द्रले र आज नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको परेको हो ।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा माओवादीका सभामुख सहित ११ जना र नेकपा एकीकृत समाजवादी ४ जना सांसद थिए । अब मुख्यमन्त्री शाहलाई आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यको मात्रै समर्थन रहेको छ ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथ रहँदा पनि मुख्यमन्त्री शाहले बहुमत पाउन सक्दैनन् । तर, सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र १ जना र राप्रपाका १ जना सांसद छन् उनीहरूको साथ पाए मुख्यमन्त्री सुरक्षित हुन सक्छन् ।

नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म नयाँ गठबन्धनमा जाने वा पुरानैमा रहने भन्ने विषयमा कुनै टुङ्गो लगाएको छैन । नागरिक उन्मुक्तिले एमाले माओवादीको गठबन्धनमा सहभागी हुने निर्णय गर्दा मुख्यमन्त्री शाहले राजीनामा दिनु वा राजीनामा दिने गरी विश्वासको मत लिनु बाहेकको अन्य कुनै विकल्प पाउने छैनन् ।

तर, अहिले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई मिलाउने प्रयासमा मुख्यमन्त्री शाह लागेका छन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार नेपाली काँग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी पनि छलफल सुरु भएको दाबी गरेको छ । पुरानै गठबन्धन जोगाउन सुदूरपश्चिममा मुख्यमन्त्री नाउपालाई दिन सकिने समझदारी बनेको छ नेपाली काँग्रे स्रोतले बताएको छ ।

तर, नाउपाले काग्रे्रेससँग सहकार्य नगर्ने निर्णय गरेपछि मुख्यमन्त्रीका सबै बाटो बन्द हुने छन् । त्यो अवस्थामा उनले एक महिना अल्पमतमै रहेर विश्वासको मत लिँदा सम्मको राजनैतिक समीकरण कुर्न वा त्यो भन्दा अघि नै राजीनामा दिने बाहेकका विकल्प छैनन् । नाउपाले समर्थन कांग्रेसलाई नहुँदा उनले विश्वासको मत नपाउने निश्चित छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update