
काठमाडौँ । माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्न भन्दै अन्तिम तयारी चलिरहेको दाबीलाई बाबुराम भट्टराईले अन्तिम किनारा लगाउन थालेका छन् । पार्टी एकताका लागि राजी हुनै नसकेका बाुबराम सत्ता समिकरणबाटै चिढिएको अभिव्यक्ति दिएर एकता प्रक्रियालाई स्थगनतर्फ लैजाने प्रयत्नलाई तीब्र पारेका छन् ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताको चर्चा चलेको लामो समय भइसकेको छ । बाबुरामको विचारधाराले पार्टी बौरिने सम्भावना नदेखिएपछि नेसपा गएको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा होमियो । बाबुराम भट्टराईले प्रचण्डलाई भावी प्रधानमन्त्री भन्दै आफ्नो निर्वाचन क्षेत्र नै छाडिदिए । त्यसपछि सत्तामा जान प्रचण्डले संसदीय अंकगणित समात्न खोज्दा बाबुराम चिढिन पुगे ।
यसरी चिढिएका बाबुराम पार्टीमा बहुमतले एकता गर्ने विषयमा पेलानमा पार्न थालेपछि उनी एकता संयोजन समितिको समयोजक त बनेका छन् तर, उनी अहिले पनि माओवादीसँग एकता गर्न इच्छुक देखिएका छैनन् । यसकै पुनरावृत्तिको रुपमा बाबुरामले प्रचण्डमाथि गरेको कटाक्षले नै यस्तो संकेत गरेको पुष्टी हुन्छ ।
बाबुराम पार्टी एकतामा किन अनिच्छुक बन्दै गएका हुन ? यो विषयमा भने विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । तर, मुल प्रश्न भने प्रचण्डले समाजवादी मोर्चा निर्माण गर्दा नेसपालाई बाइपास गर्दै अघि बढेपछि उनी चिढिएका हुन् । यतिमात्रै नभई बाबुराम प्रचण्डले बोक्ने विचारधारामै असन्तुष्ट रहेको दाबा गर्ने गरेका छन् । भने माओवादी केन्द्रले नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गर्दै पार्टी एकताको प्रस्ताव राखेर आफूलाई बाहिर राख्न खोजिएको भन्दै उनी चिढिएका छन् ।
सांसदलाई मान्यता दिन पत्राचार
बाबुराम भट्टराईले आफ्नो पार्टीका सांसदहरुलाई माओवादी केन्द्रबाट नेसपाको कायम गरिदिन पत्राचार नै गरेको फेला परेको छ । नेसपाका सांसदहरु माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएकाले संसद सचिवालयले यो विषयमा निर्णय दिन सकेको छैन् । संसद सचिवालयलाई निर्वाचन आयोगले माओवादी केन्द्रबाट निर्वाचित भएको जानकारी दिएको छ भने कैफियतमा नेसपा उल्लेख गरेको बताइन्छ । यसले पनि बाबुराम प्रचण्डसँग एकताको पक्षमा नरहेको देखिन्छ ।
पार्टीभित्र अल्पमत
माओवादी केन्द्रसँग एकता नगर्ने मुडमा रहेका बाबुराम भट्टराईलाई पार्टीभित्रैबाट माओवादीसँग एकता गर्नुको विकल्प नभएको भन्दै बहुमत सदस्यहरुले दबाब बढाइरहेका छन् । बैठकमै बाबुरामलाई एकता नगर्ने हो भने महिन्द्र राय यादवको नेतृत्वमा एकतामा जाने चेतावनी दिएपछि केहिसमय उनले पर्ख र हेरको नीति अख्तियार गरेको बताइन्छ । यता, प्रचण्ड सत्ता समिकरणको दाउपेचमा रुमल्लिएपछि दुई पार्टीबीचको एकता थप ओझेलमा पर्ने देखिएको छ ।