News 24 Television
सरकारको पक्षमा कति सांसद ? प्रचण्ड एमाले कहिलेसम्म टिक्लान् ?
Kp-oli-prachanda_oxtDpqR968_aUiJu8vtEE

काठमाडौं । माओवादी केन्द्रको नेतृत्वमा रहेको सत्ता गठबन्धन निक्कै रस्साकस्सीपछि केन्द्रसहित प्रदेशमा समेत बहुमत सिद्ध गर्न उद्दत देखिन्छ । नेकपा एमालेले सरकार गठनमा देखाएको आश्चार्यजनक लचकताले पनि एमाले नेतृत्वमाथि फेरि नयाँ कोणबाट बहस शुरु भएको छ ।

कांग्रेससँगको सत्ता गठबन्धनलाई चक्मा दिएका प्रधानमन्त्री प्रचण्ड फेरि वामपन्थी एकताको पहल भन्दै एमालेसँगको गठबन्धनमा पुगेका छन् । कांग्रेस महासमिति बैठकदेखि कोशी प्रकरणलाई गठबन्धन टुट्नुको कारण देखाएका प्रचण्ड एमालेसँग कहिलेसम्म टिक्लान् ?

यसको हिसाब बिगार्न कांग्रेसले निकै कोसिस गरिरहेको छ । कांग्रेसको दौडधुप पनि आश्चार्यजनक नै देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित माधव नेपाललाई भेटेपछि लेखकले छलफल सकारात्मक भनिदिए ।

हुनत, कांग्रेसले माधवलाई प्रधानमन्त्रीको अफर गरेको अपुष्ट समाचार सार्वजनिक नभएको पनि होइन तर, नेकपा एकीकृत समाजवादी अन्ततः वामपन्थी शक्तिसँगै सहकार्य गर्ने गरि सरकारमा सहभागी भएको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीसहितको सरकार बन्ने भएपछि अन्य साना दलपनि छलफलमा छन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसहित लोकतान्त्रिक समाजवादी पार्टी पनि नियमित सम्वादमा छ । तर उनीहरुले निर्णय गरि नसकेकाले ५ पार्टीको गठबन्धन बन्न पुगेको हो ।

कुन पार्टीका कति छन् सांसद ?

नेकपा एमाले : ७९

नेकपा माओवादी केन्द्र : ३२

राष्ट्रिय स्वतन्त्र पार्टी : २१

जनता समाजवादी : १२

नेकपा एकीकृत समाजवादी : १०

एमालेका टोपबहादुर रायमाझी जेलमा छन् भने, इलामबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भइसकेको छ ।

यता, एमालेका देवराज घिमिरे सभामुख भएकाले सरकारलाई विश्वासको मत दिनका लागि ७६ सांसद मात्रै उपलब्ध हुनेछन् ।

यस्तै, रास्वपाबाट इन्दिरा राना मगर उपसभामुख भएकाले रास्वपासँग २० मत मात्रै सुरक्षित छ ।

यति हुँदा प्रचण्ड नेतृत्वको सरकारलाई १५० सांसदको मत आउने देखिन्छ । प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न १३७ सांसद आवश्यक पर्छन् ।

ओलीको आश्चर्यजनक लचकता

प्राय खरो र कडा पेश हुने केपी ओली पछिल्लो पटक अत्यन्तै लचकताका साथ देखिए ।

सरकारमा जाने विषयदेखि मन्त्रालयको छनोटमा उनले देखाएको उदारतालाई पनि धेरैले आश्चर्यको रुपमा हेरेका छन् भने, तिक्तता मेट्न माधव नेपालको घरमै पुगेर सम्वाद गर्नेदेखि धेरै विषयमा खुलेर सम्वाद गर्ने गर्नाले सकारात्मक सन्देश प्रवाह गरेको छ ।

यसरी हेर्दा ओलीको सकारात्मकतालाई धेरैले आश्चार्यको रुपमा हेरेका छन् ।

जसपा भूराजनीतिको चपेटामा

जनता समाजवादी पार्टी मधेस केन्द्रित पार्टी हो । यस्तोमा जसपाभित्र सरकारमा जाने नजाने विषय अत्यन्तै विवादमा परेको छ ।

जसपाले मधेस सरकारलाई बटम लाइन बनाएजस्तो देखिएपनि भूराजनीतिक चपेटामा परेकै कारण पार्टीमा उपेन्द्र यादवलाई संकट पार्न खोजिएको हल्ला पनि चलेको छ । तर, गठबन्धनमा सहभागी हुने उपेन्द्रको निर्णय कार्यान्वयन भने भएरै छाडेको अवस्था छ । यद्दपी, सत्ता लुछाचुडीको यस अवस्थामा कुन बेला अर्को ट्विस्ट आउने त्यसको टुङगो छैन ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update