News 24 Television
ओलीको राहत प्याकेज, दोधारै-दोधारले उकुसमुकुस
Birakta_Madhav_100%

काठमाडौँ । प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका माधव नेपालको सत्ता नेतृत्व सपना लगभग तुहिन पुगेको छ । सत्ता गठबन्धन भत्किएपछि माधव नेपालमाथि राजनीतिक संकट आउने विश्लेषण हुन थालेको छ । तर, नयाँ गठबन्धनले पनि केन्द्र र प्रदेशको सत्ता समिकरणमा सन्तुलन कायम गर्नका लागि माधव नेपाललाई पनि समेटेर जाने गरि तयारी थालेपछि उनी केहि सकारात्मक बनेका छन् ।

नेकपा एमालेसँग बिद्रोह गर्दै नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्धमा सुधार हुन सकेको छैन् । ओली माधव नेपाललाई अपराधी भन्दै आत्मआलोचना नगरेसम्म कुनै स्थान नरहेको भन्दै चर्को विरोधमा उत्रिने गर्छन् ।

संसदमा मान्यता नै नपाएको दलले पनि प्रधानमन्त्री बन्न खोजेको भन्दै पछिल्लो हप्तामात्रै पनि ओली माधवमाथि खनिए । ओली माधवप्रति कति अनुदार थिए भन्ने भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममै पनि देखियो । पूर्वप्रधानमन्त्रीहरु बस्ने लहरमै रहेका माधवसँग ओलीले हात मिलाउन समेत इन्कार गरे । माधवविरुद्ध बोल्ने मौका पाउनेबित्तिकै ओली रौद्र रुप देखाइहाल्थे ।

ओलीले माधवमाथि तुष पोखेपनि माधव नेपाल भने सबैखाले तिक्तता विर्सिएर मुलुक बनाउने विषयमा सबै वामपन्थीहरु मिल्नुपर्ने प्रस्ताव नै राख्न थालेका देखिन्छन् ।

कुनै समय ओलीको अध्यक्ष भएर पार्टी नेतृत्व गरेका माधव राजनीतिक रुपमा संकटमा फस्दै गएका छन् । ओली र एमाले पंक्तिले नेकपा एसलाई हेर्ने दृष्टीकोण नै भिन्न हुने र नेकपा एसका नेताहरु एमालेमै फर्किनेक्रम बढ्नाले पनि यी दुई पार्टीबीचको तिक्तता थप बढेको छ ।

सत्ता संकटले नजिकिदै ओली–माधव

माओवादी केन्द्रले सत्ता समिकरणमा नयाँ गठबन्धनको रेखा कोरेपछि प्रदेशमा समेत यसको प्रभाव देखिन थालेको छ । प्रदेशमा देखिएको प्रभाव र प्रदेश सरकारको नेतृत्व पनि नयाँ गठबन्धनले लिने स्थितिका कारण ओली–माधवबीचको मिलन बिन्दु बन्ने संकेत देखा पर्न थालेको छ । नयाँ गठबन्धनमा ल्याउन ओली सकारात्मक बनेका मात्रै छैनन, प्रधानमन्त्री प्रचण्डलाई पठाएर आफ्नो सन्देश समेत पठाएका छन् ।

टेलिफोन सम्वादमा समेत ओलीले माधवलाई सहकार्यको प्रस्ताव गरेका छन् । यसले उनीहरुबीच सत्ता संकटले मिलाप गराउने सम्भावना बढेको संकेत मिलेको छ । माधव नेपालले आफ्नो पार्टीको बैठक समेत डाकेका छन् । बुधबारका लागि माधवले पार्टी बैठक डाकेपछि ओली–माधव सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने अपेक्षा गरिएको छ ।

माधवलाई पार्टी फुटको औचित्य पुष्टिको चुनौती

प्रधानमन्त्री रहेका केपी ओलीलाई एमालेबाट विद्रोह गर्दै सत्ता बाहिर ल्याउने भूमिका खेलेका माधव नेपालप्रति एमाले पंक्ति अत्यन्तै अनुदार देखिने गरेको छ । एमाले पंक्तिले माधव कै कारण सत्ताबाट निकालिनु परेको विश्लेषण गरेको छ । त्यो धेरैहदसम्म सत्य पनि हो । माधव नेपालले पार्टी नफुटाएको भए स्थिति अर्कै बन्थ्यो । तर, माधव पक्षीय नेताहरुले चालेको कदम ठूलो विद्रोह थियो । त्यसपछि बनेको कांग्रेससहितको गठबन्धनले माधवलाई एक वर्ष प्रधानमन्त्री दिने सहमति गरेको भएपनि गठबन्धन भत्किएपछि यो विषय सकिएको छ । यस्तोमा माधव नेपालले किन एमाले फुटाएको भन्ने विषय पुष्टी गर्न सकेको देखिन्न । एमालेसँग मिल्दा पार्टी फुटको औचित्य पुष्टी नभई थप संकटमा फसिने डर माधव पक्षलाई छ । के माधवले यस्तो जोखिम मोलेर एमालेसँग सहकार्य गर्लान ? चासो देखिन्छ ।

पार्टीमा व्याप्त निराशा

माधव नेपालको पार्टीमा निराशाको हदले सीमा नाघ्न थालेको छ । धेरै नेताहरु एमालेमै फर्किनेक्रम बढोत्तरी भएको छ । नेताहरु एकपछि अर्को गर्दै एमालेमा फर्किन थालेपछि उनको पार्टीले गति लिने विषयमा आशंका छ । पार्टीले थ्रेस होल्ड कटाउन नसकेको विषय मात्रै नभई नेता कार्यकर्तामा समेत संकट आउनु अघि माधवले अब नयाँ विकल्पको खोजि नगरे उनको पार्टीमा निराशा थप बढ्नेमा कुनै शंका छैन् । पार्टीमा बढेको निराशाकै कारण पनि माधव नेपाल र उनको पार्टीले रणनीति परिवर्तन नगर्ला भन्न सकिन्न ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update