News 24 Television
वामदेवको टिप्पणी : नयाँ गठबन्धनका सूत्रधार ओली हुन्, उनले अब व्यवहार सुधार्नुपर्छ
Bamdev

काठमाडौँ । पूर्व–उपप्रधानमन्त्री र पूर्व–एमाले नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । साथै नयाँ गठबन्धन बनाउने सूत्रधार एमाले अध्यक्ष केपी शर्मा नै रहेको बताउँदै उनले अब गठबन्धन बचाउन ओलीले व्यवहार सुधार्नुपर्ने टिप्पणी गरेका छन् ।

नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको बताउँदै उनले यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने बताए । अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि अध्यक्ष ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिलेको जस्तो अस्थिरता कम्युनिष्ट गठबन्धनपछि देखाउन नहुने सुझाव दिए ।

गौतमले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः काँग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने बताए । उनले अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव पनि दिए । काँग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभई आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको उनले बताए ।

‘अहिलेको गठबन्धनको प्रमुख कारण प्रधानमन्त्री होइन, केपी शर्मा ओली नै हुन्,’ उनले भने, ‘उहाँले २०८४ भन्दा पहिला आफूलाई कम्युनिष्टहरुलाई एकताबद्ध गर्र्दै एउटा शक्तिको रुपमा अघि सार्न चाहनुहुन्छ । त्यसको निम्ति अरुतिर भन्दा त मुख्य पार्टी नेकपा (माओवादी केन्द्र) नै हो एमालेपछि । यी दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड ओलीको हो । अलिअलि खटपट भइरहेको काँग्रेसका नयाँनयाँ नेताहरुले प्रधानमन्त्रीको आलोचना गर्ने, प्रधानमन्त्री छोडेर जाऊ, केही मतलव छैन, यस्ता प्रधानमन्त्री फेरि अर्को हुन्छ भन्नेकुराहरु उठाउने, शेरबहादुरजी चुप लागेर बस्ने र मौका पर्यो भने नयाँ केटाहरुलाई उचाल्दिने गरेकाले प्रचण्डजीको मन बिग्रिएको होला । उहाँले पहिला पनि केपी ओलीलाई छोड्न चाहनुभएको होइन, केपी ओलीको व्यवहारका कारणले उहाँ जानुभयो ।’

उनले कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताए । अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री प्रचण्ड नभएर ओली नै रहेकोले टिकाउन पनि ओलीले व्यवहारमा ध्यान दिनुपर्ने बताउँदै गौतमले भने, ‘केपी ओलीको व्यवहार छुचो, अपमान गर्ने, होच्याउनुपर्ने, आफू बाहेक सबै नराम्रो हुन् भन्ने पार्ने खालको हुन्छ । त्यसले उहाँसँगै गएकाहरु सधैँभर अपमानित महसुस गर्दछन् । केपी ओली, शेरबहादुर, प्रचण्डको व्यक्तित्व एकै हो नि । हामी एकै हौँ भन्नुपर्छ नि । त्यो नगर्नाले नै यो सबै बिग्रिएको छ । अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिष्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भुल सुधार गर्नैपर्छ । केपी ओलीकै कारण काखमा पुगेका प्रचण्ड फुत्किएर फेरि काँग्रेसतिर जानुपर्ने स्थिति किन सिर्जना भयो भन्दा प्रचण्डको व्यक्तित्वलाई कहिल्यै सम्मान गर्नुभएन । प्रधानमन्त्री भएको बेलामा सबैभन्दा माथिल्लो तहको व्यक्तित्व छ उहाँको भन्ने ठान्नुपर्छ ।’

ओली र प्रचण्डले आ–आफूलाई सहमत गराई संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको गौतमको बुझाइ छ । – न्यूज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update