News 24 Television
परमेश्वरको मण्डलीद्वारा भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न
12

भक्तपुर । विश्व सुसमाचार समाज (परमेश्वरको मण्डली)ले सोमबार भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘भक्तपुर परमेश्वरको मण्डली’मा आयोजित ‘निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम १,२७९औँ विश्वव्यापी रक्तदान कार्यक्रम’मा २५० भन्दा बढीले सहभागिता जनाएका थिए । भक्तपुर लगायत बनेपा, सल्लाहघारी, दुवाकोट, तिनकुने, च्यामासिंग र गोठाटार आदि क्षेत्रहरूबाट सदश्यहरु, परिवारहरू, छिमेकी र चिनाजानका व्यक्तिहरू उपस्थित भई १६२ जनाले स्वयंसेवी रुपमा रक्तदान गरेका हुन् ।

कार्यक्रम बिहान ९ः३० बजेदेखि ४ घण्टासम्म चलेको थियो । रक्तदानका लागि अनुकूल माहोल, स्वास्थ्य चेकजाँच, रगत सङ्कलन सामग्री, आराम आदिको लागि मण्डलीले आफ्नो क्षेत्र प्रयोग गर्न दिएको थियो । सन्तहरूले पनि प्रत्येक प्रक्रिया निर्देशिका, खाजा वितरण, पार्किङ जस्ता विभिन्न स्वयंसेवा गर्दै सहभागीहरूलाई निकै व्यवस्थित र सहज तरिकाले रक्तदान गर्नमा मद्दत गरे । नेपाल रेडक्रस भक्तपुर शाखाले रक्तदानका लागि चिकित्सा सामग्रीहरू सहयोग गर्नुका साथै रक्तदाताको स्वास्थ्य चेकजाँच र रक्त सङ्कलन आदिमा पनि सहयोग गऱ्यो ।

कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष सोमप्रसाद प्रधानले ‘२०७२ को महाभूकम्पको स्वयमसेवा, नदि तथा टोल सरसफाई, विद्यालय पुनर्स्थापन र रक्तदान जस्ता सामाजिक कार्यमा योगदान पुर्याएको भिडियो क्लिप’ हेरेर एकदमै प्रभावित भएको बताए । १ जनाको रगतले ३ जनालाई बचाउँछ अनि कसैलाई बचाउन सकिन्छ भने आफुले थोरै समय दिनुपर्ने भए दिन तयार हुनु नै असल कार्य हो भन्दै उनले स्वयंसेवकहरूलाई प्रोत्साहन दिए ।

मण्डलीले गत जनवरीमा रुपन्देहीको तिलोत्तमा, फेब्रुअरीमा बाँकेको नेपालगञ्ज र पर्साको वीरगञ्जमा समेत रक्तदान गराइसकेको छ । ४ पटकसम्म आयोजित कार्यक्रममा अहिलेसम्म करिब ७०० जनाको सहभागिता रहेको मण्डलीले जनाएको छ ।

परमेश्वरको मण्डलीका सचिव बोलबहादुर मगरले ‘निस्तार–चाड’ विपत्ति पार भन्ने अर्थ बोकेको परमेश्वरको चाड रहेको बताए । यो चाडचाहिँ येशू ख्रीष्ट क्रूसमा टाँगिनुभन्दा अघिल्लो दिन उनले आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य लिई नयाँ करार स्थापना गर्दै पाप, क्षमा र अनन्त जीवनको प्रतिज्ञा गरेको चाड रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update