
काठमाडौँ । माओवादी पृष्ठभूमिका नेताहरुबीच कडा घोचपेच चलेको छ । शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरुमा घोचपेचमात्रै चलेन, देशमा उथलपुथल ल्याइरहने र आइरहने चर्चा समेत चल्यो । तर, माओवादी पृष्ठभूमीका नेताहरुबीच चर्को विवाद र चर्को मिलाप किन चल्यो त ?
शहीद प्रतिष्ठान नेपालद्वारा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा माओवादी पृष्ठभूमिमा नेताहरुले भाषण गरे । उनीहरुको एउटै स्वर थियो, कम्युनिष्टहरुबीचको एकताको विकल्प छैन् । देश बनाउनका लागि एकताबद्ध बनौं ।
एकताको खोजी गर्नुपर्ने आवश्यकता औल्याएका नेताहरुले एकताको सुत्र भने पहिल्याउन सकेको देखिन्न । प्रसंग धर्मेन्द्र बास्तोलाबाट शुरु भएको छ । धर्मेन्द्रले कार्यक्रममा भारतीय एक पुस्तकको विवरण कोट्याउदै प्रचण्डलाई इमान्दार घोडा भनिएको विषय उठाए । उनले यो विषयमा गहन छलफलको माग गर्दै प्रचण्डलाई प्रश्न नै गरे ।
यस्तो प्रश्नपछि प्रचण्डले पनि धर्मेन्द्रमाथि आक्रोश पोखे । ठूला कुरा किन गर्ने भन्दै कड्किएका प्रचण्डले अनेकन प्रश्न तेस्र्याए ।
यसरी धर्मेन्द्र र प्रचण्डबीचको विवाद चलेपनि विप्लवबारे भने प्रचण्ड नरम पेश भए । उसोतः विप्लवले पनि प्रचण्डलाई नायक भन्न भ्याए । विप्लवले प्रचण्डलाई उक्साउदै माओवादीहरु शान्त नबस्ने भन्दै उथलपुथल पार्ने घोषणा नै गरिदिए ।
विप्लवले प्रचण्डलाई अध्यक्ष भन्दै हौस्याए पनि । यसपछि प्रचण्डले पनि आफू नमरुन्जेल उथलपुथल भइराख्ने भन्दै उत्तेजना नै व्यक्त गरे ।
तत्कालीन समयमा झण्डै ११ बर्ष लामो समयसम्म चलेको जनयुद्धका सहयात्रीहरु एकता र मिलापको कुरा त गर्छन् तर, उनीहरु आ–आफ्नै पार्टी चलाउन उद्दत छन् । तर, स्वार्थको सहकार्यमा उनीहरु समावेश होलान वा क्रान्तिकारी ध्रुविकरणका लागि राजी होलान ? यो विषय भने समयक्रमसँगै खुल्दैजानेछ ।