
काठमाडाैँ । गत वर्ष पुस १० गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्ततः एमालेकै साथ रोजेका छन् । राष्ट्रपति निर्वाचनका बेला एमालेको साथ छाडेर कांग्रेससँग गठबन्धन गरेका प्रचण्डले फेरि पनि एमालेसँग नै किन कसरी गठबन्धन गर्ने अवस्थामा पुगे ?
संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल २०७९ साल पुस १० गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन बनाएर माओवादी केन्द्र २०७९ को आम निर्वाचनमा होमिएको थियो । निर्वाचन माओवादी तेस्रो दल बन्यो । कुनै पनि दलले बहुमत नपाएपछि तेस्रो दल निर्णायक थियो । त्यसैले प्रचण्ड आफू प्रधानमन्त्री बन्ने दाउमा कांग्रेस र एमालेसँग बार्गेनिङमा लागे । कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भएन । एमाले अध्यक्ष केपी ओलीलाई भने जसरी भए पनि चुनावमा बनेको गठबन्धन फुटाउनु थियो । आलोपालो प्रधानमन्त्री बन्ने सहमति गर्दै ओलीले पहिलो कार्यकाल प्रचण्डलाई सुम्पिए ।
तर एमालेसँगको सरकारप्रति दक्षिणी छिमेकी मुलुक भारत रुष्ट थियो । त्यसैले एमालेसँगको गठबन्धन भत्काउने प्रयास राष्ट्रपति निर्वाचनका बेला सफल भयो । एमाले प्रतिपक्षको वेञ्चमा पुग्यो । यसले केन्द्र सरकारलाई मात्र प्रभाव पारेर प्रदेश सरकारहरु पनि अस्थिर बने । प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीहरुले पटक पटक विश्वासको मत लिनुपर्ने बाध्यता आइप¥यो । कांग्रेससँगै गठबन्धन कायम गरेर अर्को निर्वाचनसम्म पुग्ने प्रचण्डको चाहना थियो । तर कांग्रेसको एउटा समूह सधैं नै माओवादीको आलोचना गरिरह्यो भने विधान अधिवेशनमा आइपुग्दा आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णयमै पुग्यो ।
आगामी निर्वाचनमा कांग्रेसको साथ नपाइने निश्चित भएपछि समाजवादी मोर्चा बनाएर नयाँ रणनीतिमा लागेका प्रचण्डले एमालेसँगको साथ खोजिरहेका थिए । यसअघि एमाले–माओवादीलाई एक बनाउन भूमिका खेलेको भारत तत्कालिन नेकपा विभाजनप्रति खुश थिएन । पटक पटक नेपालका कम्युनिस्ट पार्टीहरुको एकतामा जोड दिइरहेको चीन पछिल्लो समय प्रत्यक्ष दबाबमा उत्रियो । ८४ सालको निर्वाचनको चुनौति देखिरहेका प्रचण्ड एमालेसँग फेरि पनि एकता चाहिरहेका थिए । तर एमालेले आफ्नो विश्वास गर्ने वातावरण थिएन । त्यसैले संसदीय ब्यवस्थाकै विरोध गर्दै आएका नेत्रविक्रम चन्द विप्लवलाई समेत साथ लिएर प्रचण्डले चार दलीय समाजवादी मोर्चालाई चुनावी गठबन्धनको रुपमा अघि बढाउने रणनीतिक योजनामा थिए ।
यही बीचमा उत्तरी छिमेकी मुलुकको प्रत्यक्ष दबाबकै कारण ओली फेरि पनि विगतको तिक्तता मेटाउँदै माओवादीसँग नजिकिन पुगे । चीन एमाले माओवादीबीचको गठबन्धन मात्र नभई पार्टी एकतामै जोड दिँदै आएको छ । नयाँ गठबन्धन बन्दै गर्दा प्रचण्डले क्रान्तिकारीहरु एक हुनै पर्ने बताएका छन् । चीनले एमाले–माओवादी मात्र नभई जनयुद्धका घटक शक्तिहरुलाई पनि एकतामा ल्याउन चाहेको छ । नयाँ गठबन्धनलाई आगामी निर्वाचनअघि नै पार्टी एकता गरी अघि बढाउन चीनले निरन्तर दबाब दिइरहनेछ ।