
- राजेन्द्र पन्त तारकिणी
काठमाडौँ । मुलुकमा पुनः राजनीतिक कोर्स करेक्सन भएको छ । करिब एक वर्षदेखि सत्तामा रहेको कांग्रेससहितको गठबन्धन टुटेर वामपन्थी धारका दलहरुको नयाँ गठबन्धन सुरु भएको छ । सोमबार बिहान नेकपा एमाले र माओवादी केन्द्रले रास्वपा तथा जसपालाई साथमा लिँदै नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेसँगै वामपन्थी दलहरु पुनः एकै ठाउँ देखिएका छन् । यद्यपि एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले भने सरकार वा नयाँ गठबन्धनमा सहभागी हुने नहुने केही निर्णय गरेको छैन, तर माओवादी केन्द्रले माधव नेपाललाई फकाएर जसरी भए पनि वाम गठबन्धनमा भित्र्याउने निर्णय गरिसकेको छ । संसदबाहिर रहेको विप्लव नेतृत्वको नेकपा समेत सहभागी समाजवादी मोर्चालाई समेत उक्त गठबन्धनमा सामेल गराउँदै बृहत् वाम ध्रुवीकरणका लागि आजैबाट सुरुआत थालिएको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसले साथ नदिएको र धोका दिँदै आएको महसुस गरी विगतका गल्ती स्वीकार्दै वाम एकताको पहल सुरु भएको बताएका छन् । सोमबार बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा नेताहरुले वामपन्थी दलहरुको मात्रै नयाँ समीकरण बनाउन प्रचण्डलाई सुझाव दिएका थिए । सोही अनुसार प्रधानमन्त्री प्रचण्डले हिजोका गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुसम्म आइपुगेको बताएका हुन् । विगतमा नेकपा र वामपन्थी एकता टुक्य्राउनु गल्ती थियो भन्ने कुरा प्रचण्डले मात्र नभई नेकपा एमालेका अध्यक्ष ओली र एमाले नेताहरुले पनि महसुस गरेका छन् । पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनालले समेत पुनः वामपन्थी एकताको खाँचो रहेको र यसको पहल ओली तथा प्रचण्डले गर्नुपर्ने आशयको अभिव्यक्ति दिँदै आएका थिए । फलस्वरुप आज राप्रपा र कांग्रेसजस्ता दलहरुलाई बाइपास गर्दै नयाँ वामपन्थी ध्रुवीकरणको पहल ओली र प्रचण्डले थालेका छन् ।
माओवादीका सचिव देवेन्द्र पौडेलले नेपालमा फेरि एकपटक वामपन्थीहरूको एकताको प्रसंग सामुन्ने आइपुगेको बताए । एकतासम्म नै नपुगे पनि अहिले एमालेसँगको सत्ता सहकार्यपछि हिजोको गल्ती स्वीकारेर वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको उनले बताए । यही कोणबाट अध्यक्ष प्रचण्डले माओवादीमा ब्रिफिङ गरेको उनको भनाइ छ । उनले वामपन्थी दलहरु एक होउन् भन्ने नेपाली जनताको चाहना रहेको र वामपन्थी कमजोर हुँदा परिवर्तनका उपलब्धि उल्टिने खतरा बढेकाले सत्ता समीकरणमा नयाँ कदम चालिएको बताए । समाजवादी मोर्चामा रहेका अन्य दलका शीर्ष नेता पनि वामपन्थी रहेकाले सबैलाई सँगसँगै लिएर अघि बढ्ने उनको भनाइ छ ।
कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमालेसँग सत्ता समीकरण थालेपछि कांग्रेस भने केन्द्रदेखि प्रदेशसम्मै एक्लिने भएको छ । गठबन्धनमा कांग्रेस एक्लिनु र माओवादी बिच्केर एमालेसँग गठजोड गर्न जानुमा कांग्रेसकै केही कमजोरी रहेका छन् । केही समयअघि सम्पन्न कांग्रेसको महासमिति बैठकमा आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निर्णय पारित भयो । उसै पनि कांग्रेसबाट आम निर्वाचनदेखि राष्ट्रिय सभा निर्वाचनसम्म धोका पाउँदै आएको माओवादी कांग्रेसको उक्त निर्णपछि बिच्कियो । राष्ट्रिय सभाध्यक्ष पद कांग्रेसले माओवादीलाई नदिने देखिएपछि र अर्थमन्त्रालय समेत माओवादीले माग्दा कांग्रेसले नदिए, मन्त्रीहरु फेरबदल गर्ने प्रचण्डको चाहनामा कांग्रेसले साथ नदिएपछि माओवादी बिच्किएको कांग्रेसकै नेताहरु बताउँछन् । अर्को कारण भनेको कांग्रेस, राप्रपा लगायत दलहरुले परिवर्तनका उपलब्धि उल्ट्याउने गरी धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध अभियान थालेपछि माओवादी सतर्क भएको देखिन्छ । साथै, टीआरसी विधेयकमा एमालेको साथ पाउनका लागि पनि माओवादीले कांग्रेसलाई बाइपास गर्दै नयाँ गठबन्धन रोजेको बताइन्छ ।
नयाँ सत्ता समीकरणसँगै कांग्रेसले संघ सरकारमा मात्रै हैन, प्रदेशमा समेत महत्वपूर्ण पदहरु गुमाउने देखिएको छ । नयाँ गठबन्धनमा जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत र एकीकृत समाजवादी पार्टी लगायत साना दलहरु सामेल हुने देखिन्छ, जसका कारण कांग्रेस झन् एक्लिनेछ । माओवादीले राष्ट्रिय सभाध्यक्ष र उपाध्यक्ष पदका लागि पनि नयाँ समीकरण बनाए जाने र प्रदेशहरुमा पनि मुख्यमन्त्री तथा मन्त्रीमा एमालेलगायत नयाँ गठबन्धनका दलहरुसँग आलोपालो तथा भागबण्डा गर्ने निर्णय गरिसकेको छ । यसो हुँदा संघ सरकारमा ९ मन्त्री र प्रदेशहरूमा ४ मुख्यमन्त्रीसहित गरेर जम्मा ३८ मन्त्री कांग्रेसले गुमाउने भएको छ । एक वर्षअघि माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गर्दा एमाले सरकारबाट बाहिरिएको थियो, त्यसको एक वर्षपछि एमाले पुनः सरकारमा आएको छ । त्यसपछि सातै प्रदेशबाट एमाले क्रमशः बाहिरिँदै र एक्लिँदै गएको थियो, कांग्रेससहितको गठबन्धनमा आबद्ध दलहरुले आलोपालो प्रदेश सरकारमा सहमति गरेका थिए । तर वाम गठबन्धन ब्युँतिएसँगै पुनः प्रदेशहरुबाट कांग्रेस एक्लिँदै जाने देखिएको छ ।
यसरी महिना, वर्ष नबित्दै सरकार परिवर्तन, मन्त्री र गठबन्धन फेर्ने खेलले मुलुकलाई भने राजनीतिक अस्थिरताको भुमरीमा धकेलेको छ । विगतमा अनेक शंका, धोकाधडी र टुटफुटको सिकार भइआएको वाम गठबन्धन पनि दिगो होला भन्ने आधार छैन, पुनः सत्ता समीकरणहरु फेरिरहने खतराले जनता झन वाक्क हुने स्थिति देखापर्नेछ ।