
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह फुटपाथ व्यवस्थापन गर्ने उदेश्यसहित अघि बढी रहेका छन् । मेयरमा निर्वाचित भएयताबाटै अव्यवस्थित फुटपाथलाई व्यवस्थित गर्नतर्फ अग्रसर बालेनले महानगरको धेरैजसो स्थानबाट फुटपाथ व्यावसाय हटाइसकेका छन् । तर बुधबार राति फुटपाथ हटाउने क्रममा व्यवसायी र महानगर प्रहरीबीच झडपको स्थिति सिर्जना भयो ।
राति फुटपाथ हटाउन पुगेका प्रहरी र काठमाडौंकै मुख्य चोक सुन्धारास्थित धरहरा अगाडि बसेका व्यवसायीहरुबीच झडप भएको थियो । उक्त झडपमा ५ नगरप्रहरी र ६ जना व्यावसायी घाइते भए । तर झडप कसरी भयो भन्ने विषयमा भने प्रहरी र व्यावसायीहरु बीचको दावी फरक फरकअ आएको छ ।
राति ९ बजेपछि फुटपाथमा व्यावसाय गर्न दिने महानगरको निर्णय छ । तर सो जानकारी गराउँदा पनि व्यावसायीहरुले ७ बजे नै पसल राखेपछि हटाउन खोज्दा झडप भएको महानगर प्रहरीको दावी छ ।
उता व्यावसायीहरुले भने राति ८ बजेतिर महानगर प्रहरीले आएर अमानवीय व्यवहार गरेको आरोप लगाएको थियो । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बुधबार राति नै एक विज्ञप्ति जारी गरी महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित टोलीले आक्रमण गरेको दावी गरेको थियो ।
विज्ञप्तिमा.मजदुरमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गरि माफि माग्नुपर्ने, घाइते मजदुरहरुको तत्काल उपचार गर्नुपर्ने, जफत् गरिएका सामानहरु फिर्ता गर्नुपर्ने, सन्ध्याकालिन बजारको व्यवस्था गरिनुपर्ने जस्ता माग राखिएको छ ।
संघले गम्भीर प्रश्न उठाउँदै नगरप्रहरीको नियत र व्यवहार आतङ्ककारी, अपहरणकारी र लुटेराजस्तो देखिएको भन्दै तत्काल सच्चीन आग्रहसमेत गरेको थियो ।
फुटपाथ र व्यावसायीहरुले नगर प्रहरीमाथि यस्तो गम्भीर आरोपहरु लगाएपनि मेयर बालेनले भने प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यवसायी नभएर एमाले कार्यकर्ता भएको टिप्पणी गरेका छन् ।
प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेको समेत प्रष्टिकरण दिँदैे आत्मरक्षा गर्दा सो घटना भएको बालेनको दावी छ । नगर प्रहरीमाथि रडद्वारा आक्रमण भएपछि बाध्य भएर उनीहरूले आत्मरक्षाका लागि बल प्रयोग बालेनको भनाइ छ ।
भिडियोमा देखिएकी महिला सडक व्यापारी नभइ एमाले कार्यकर्ता भएको भएको ठोकुवा गर्दै बालेनले हाल सार्वजनिक भिडियो आधा मात्र भएको र आधा भिडियो सरकारले नै मेटाएको पनि जिकिर गरेका छन् ।
पछिल्लो समय महानगरको व्यवस्थापनका क्रममा मेयर बालेन र एमाले कार्यकर्ता तथा नेताहरुबीच ठूलै टसल पैदा भएको देखिन्छ ।
यसअघि धरहरा पार्किङ खुला गरेको विषयमा पनि प्रमुख बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली र र तत्कालीन मेयर विद्यासुन्दर शाक्यमाथि पनि कडा टिप्पणी गरेका थिए ।
सो बेला पनि बालेनले सामाजिक संजालमा स्टाटस लेख्दै नाम लेखाउने मात्रै उदेश्य राखि सम्पन्न नै नभएको धरहरा ओलीले उद्घाटन गरेको भन्दै आलोचना गरेका थिए ।
त्यस्तै न्यूरोडको सडक व्यवस्थापनका लागि अव्यवस्थित पार्किङ हटाउने क्रममा पनि विभिन्न दलहरुले बालेनको निर्णयको विरोध गरेका थिए ।
तर विरोधकाबीच बालेन न्यूरोडको अव्यवस्थित पार्किङ हटाउन सफल भए । फुटपाथ व्यवस्थापनकै विषयमा पनि अहिले कार्यपालिका बाहिर र भित्रबाट पार्टीका नेता तथा कार्यकर्ताहरुले बालेनको विरोध गरिरहेका छन् ।
हाल भइरहेको फुटपाथ व्यावसायी र महानगर प्रहरीबीचको विवादकै प्रशंगमा एमाले निकट विभिन्न संगठनहरुले गरेको एक निर्णयप्रति पनि प्रमुख बालेनले कटाक्ष गरेका छन् ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी, मजदुर विशेष जिल्ला कमिटी, काठमाडौं महानगर कमिटी र नेपाल ट्रेड यूनियन महासंघका पदाधिकारी सहितको संयूक्त बैठकले सुन्धारामा भएको प्रहरी ज्यादतीविरूद्ध केही महत्वपूर्ण निर्णय गरेको भन्दै पोष्ट गरिएको स्टाटस शेयर गर्दै बालेनले ‘मै पनि एमाले सही पनि एमाले’ भन्दै व्याङ्ग्य गरेका हुन् ।
बालेनले गरेका हरेक निर्णयहरु तत्काललाई हानिकार देखिएपनि दीर्घकालीन रुपमा भने आम नागरिकको हितमै देखिन्छन् । तर विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले आफ्नो स्वार्थ सिद्ध गर्न र महानगरलाई असफल बनाउन बालेनको कदममाथि विरोध गरिरहे प्रष्ट देखिन्छ ।
विभिन्न दल तथा कार्यकर्ताले महानगरको सही कदमलाई साथ र गलतलाई खबरदारी गर्दै आगामी दिनमा जनप्रतिनिधिहरुमाथि सही दिशा निर्देश गर्न सिके मुलुकले सही गति लिन सक्थ्यो की ? आजको दिनमा सचेत नागरिक र राजनीतिक दलका कार्यकर्ताहरले पनि यसप्रति चेतना जगाउन जरुरी देखिन्छ ।
(भिडियो)