
- कृष्ण कन्दङ्वा लिम्बू
काठमाडौं । ०७४ सालको स्थानीय तहको निर्वाचनदेखि नै राजनीतिक चर्चाको शिखरमा रहने गर्छ भरतपुर महनगर । तत्कालीन स्थानीय तहको निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनबाट महानगरको मेयरमा माओवादीकी रेणु दाहाल निर्वाचित भइन् ।
चितवन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोसमेत थलो हो । र, उनकै छोरी रेणु मेयरमा निर्वाचित भएकाले पनि यस क्षेत्रको राजनीतिक गतिविधिले केन्द्रीय स्तरमै प्रभाव राख्दै आएको छ ।
०७४ सालको स्थानीय तहको निर्वाचनका लागि महानगर प्रमुखमा कांग्रेस–माओवादीबीच चुनावी तालमेल भएको थियो । केन्द्रबाट कांग्रेसले दिनेश कोइरालालाई मेयर र पार्वती शाहलाई उपमेयरको टिकट दिएर पठाएको थियो ।
त्यसपछि कोइराला मनोनयन दर्ता गर्न हेलिकोप्टर चढेर चितवन पुगेका थिए । तर कोइरालाको टिकट प्रचण्डपुत्री रेणु दाहाले खोसिदिएकी थिइन् । कोइराला मनोनयन दर्ताका लागि चितवन पुग्दा नपुग्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले मेयरको टिकट रेणुलाई दिने सहमति गरेका थिए ।
सहमतिपछि रेणु काँग्रेसको हातबाट मेयरको टिकट फुत्काउन सफल भइन् । त्यही घटनापछि भरतपुर र केन्द्रीय राजनीति एकअर्काको परिपुरकजस्तै हुँदै आयो । निर्वाचनबाट रेणु मेयरमा विजयी भइन् । तर प्रतिद्वन्दी एमालेले आफ्नो उम्मेदवार भन्दा रेणु पछाडी परेपछि माओवादीले मतपत्र च्यातेको र धाँधली गरेको आरोप लगायो ।
त्यसबेला रेणुको प्रतिद्वन्द्वीको रुपमा एमालेबाट देवी ज्ञवाली थिए । यही विवाद पछि गएर अदालतसम्म पुग्यो । त्यसपछि भरतपुर महानगरको वडा १९ मा पुनः मतदानसमेत गरियो। सो मतदानमा पनि रेणुले एमाले उम्मेदवार ज्ञवालीलाई झिनो मतान्तरले पराजित गरिन् । यसले भरतपुरको राजनीति सरगमीलाई अझ राष्ट्रिय स्तरसम्म चर्चा गर्न बाध्य पार्यो ।
दोस्रो पटक निर्वाचन गर्दासमेत पराजित भएपछि एमालेका उम्मेदवार देवी ज्ञवालीले अदालत र निर्वाचन आयोगलाई नै प्रयोग गरेर माओवादी र काँग्रेसले आफूलाई पराजित गरेको टिप्पणी गरे । तर त्यसको केही महिनापछि नै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच नै गठबन्धन भयो ।
०७४ कै मंसिरमा भएको निर्वाचनमा चितवन – ३ बाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित भए । प्रचण्डको चुनावी कमाण्डर उनै रेणुसँग पराजित देवी ज्ञवलीले सम्हालेका थिए । पछि एमाले र माओवादी पार्टी एकता गरेर नेकपा गठनको प्रयाससम्म भयो ।
नेकपाको नेतृत्व गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली करिब ३ वर्ष प्रधानमन्त्री बने । तर अन्त्यमा नेकपा विभाजित भयो । त्यसपछि हरेकजसो कार्यक्रममा ओलीले प्रचण्डविरुद्ध टिप्पणी गर्दा रेणु र भरतपुर महानगरको निर्वाचन परिघटनाहरुलाई कोट्याउँदै माओवादीमाथि तिखो प्रहार गर्दै आएका छन् ।
गतवर्ष बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरको मेयरमा रेणु दाहाल नै दोस्रो कार्यकाल लागि निर्वाचित भइन् । सो निर्वाचनमा पनि काँग्रेस र माओवादीबीच नै चुनावी तालमेल भएको थिायो ।
दोस्रो कार्यकालका लागि निर्वाचत हुँदा पनि रेणुको प्रतिस्पर्धा एमालेसँग भयो । रेणु तालमेलको आडमा दुई दुई पटक महानगरको नेतृत्व गर्न सफल भइन । तर भरतपुरको निर्वाचनले माओवादीसँग अन्य दलका नेता कार्यकताहरु भने चिढिँन पुगे । तर शुक्रबार भरतपुर महानगरपालिले आयोजना गरेको भ्रमण वर्ष २०२४ को उद्घाटन अवसरको दृष्य भने त्यसको ठिक उल्टो थियो ।
रेणुले उक्त उद्घाटन कार्यक्रम विभिन्न दलका शीर्ष नेताहरु नै उभ्याएर तामझामका साथ गरिन् । उद्घाटन कार्यक्रममा चार पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीलाई उतारेकी थिइन् । कार्यक्रममा दलीय तिक्तताबीच ठूला दलका शीर्ष नेताहरुको लर्को नै लागेको थियो ।
माओवादी र भरतपुरको निर्वाचनप्रति सँधै कटाक्ष गर्ने एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमेत कार्यक्रममा पुगे । रेणुकै निम्तो मान्न भरतपुर पुगेका ओलीले रेणुको प्रशंसा पनि गर्न भ्याए । आगामी दिनमा रेणुसँग सहकार्य गर्नसमेत एमाले तयार रहेको सन्देश दिँदै ओलीले सबैलाई भरतपुर घुम्न अपिल गरे ।
०७४ को निर्वाचन देखि नै चर्चा र राजनीतिक केन्द्रलाई नै प्रभाव पार्ने भरतपुर महानगर शुक्रबारको कार्यक्रमपछि पुनः चर्चामा आएको छ । भरतपुरले करिब ७ वर्ष अघिको निर्वाचनका क्रममा माओवादी र एमालेसँग चिड्याएको सम्बन्धलाई हाल आएर पुनः जोड्ने कार्याको थालनी गरेको छ ।
सत्ता गठबन्धनमा खटपट आइरहेको बेला विगतमा चर्को आलोचना गर्ने एमाले अध्यक्ष ओलीले चितवन पुगेरै रेणुसँग सहकार्यको सन्देश दिनुले सत्ता समीकरण बदलिन सक्ने आँकलनलाई अझ बल पुर्याएको छ ।
ओलीको अभिव्यक्ति माओवादीसँग सहकार्यको संकेत हो वा होइन त्यो भने भविष्यले देखाउने नै छ । तर जे होस् रेणुको नेतृत्वपछि भरतपुर र त्यहाँका राजनीतिक गतिविधिहरु भने मुलुककै मुख्य चर्चाको केन्द्र बन्दै आएको छ ।
(भिडियो)