News 24 Television
विद्रोहले जनार्दनमाथि प्रचण्डको अर्जुनदृष्टी, हल्लाखल्लाले तनाव (भिडियो)
janardan

काठमाडौं । आठौँ महाधिवेशन पश्चात नेकपा माओवादी केन्द्रमा नेतृत्वको खरो आलोचकको रुपमा नेता जनार्दन शर्मा देखा परेका छन् । पार्टीमा असन्तुष्ट जनार्दनले विद्रोह गर्छन् या नेतृत्वको चेपुवामा पर्छन भन्नेमा आमचासो छ ।

प्रचण्डको आलोचकको सूचिमा जनार्दनसँगै अन्य नेताहरुपनि रहेका छन् । उनिहरु पहिलेजस्तै डा. बाबुराम भट्टराई, मोहन वैद्य, विप्लवको पथमा जान्छन् या पार्टीभित्रै विद्रोहीका रुपमा रहन्छन्, यो सर्वाधिक चासोकोे विषय बनेको छ ।

२०७८ पुसमा सम्पन्न नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन पश्चात पार्टीभित्र आन्तरिक कलह बढ्दै गएको छ । महासचिव बन्न चाहेका जनार्दन शर्मा र बर्षमान पुनलाई बाइपास गरेर देव गुरुङलाई जिम्मेवारी दिएपछि शर्मा र पुन नेतृत्वसँग सन्तुष्ट छैनन् ।

यो विषयमा पुन त्यति खुल्न नसकेपनि शर्माले बेलाबखत आफ्नो असन्तुष्टी पोख्दै आएका छन् । २०७९ भदौमा एक सार्वजनिक कार्यक्रममा जनार्दनले प्रचण्डकै अगाडी जिम्मेवारी बाँडफाँटलाई लिएर प्रचण्डको आलोचना गरे ।

२०८० फागुनमा पार्टीको विधान अधिवेशनमा पेश भएको विधान मस्यौदामाथि पूरक प्रस्ताव राखे । २०८० फागुन १७ गते स्थायी समिति बैठकले गरेको कार्यविभाजनप्रति असन्तुष्ट हुँदै फरक मत राखे ।

जिम्मेवारी बाँडफाँटका बारेमा लिखित रुपमै असहमती जनाउने अर्का नेता हुन्, माओवादी स्थायी कमिटि सदस्य खगराज भट्ट । सुदूरपश्चिम प्रदेशको पार्टी नेतृत्वमा आफुलाई बाइपास गरेर केन्द्रीय सदस्य बिना मगरलाई जिम्मेवारी दिएकोमा उनले चर्को आलोचना गरेका छन् । केन्द्रको यो निर्णयले माओवादी पार्टीभित्र ठुलै हलचल आउने संकेत भट्टको छ ।

अध्यक्षको एकमना चल्ने माओवादीमा कुनैबेला फरक मत राख्नुको अर्थ पार्टीबाट बहिर्गमन थियो । नेतृत्वको आलोचना गर्ने नेताहरु या त आफैँ छुट्टिएर जान्थे, या त कारबाहीमा परेर निष्काशित हुन्थे ।

प्रचण्डसँग सहमत नभएका डा. बाबुराम भट्टराई, मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लब, मातृका यादव लगाएतले पार्टीनै फुटाएको वृतान्त छ् । पछिल्लो समय निरन्तर असहमति जाहेर गर्दै आएका जनार्दनले पनि अब पार्टीनै फुटाउँदैछन् भन्नेसम्मको चर्चा माओवादी वृत्तमा हुने गरेको छ ।

यद्यपी पार्टी नेतृत्वविरुद्ध खरो टिप्पणी गर्दै आएका नेता राम कार्की बाहिर आएजस्तो असन्तुष्टी पार्टीमा नरहेको दावी गर्छन् ।

माओवादीभित्रको अवस्था नियाल्ने हो भने अहिले पनि आफ्नो आलोचना गर्नेहरुप्रति प्रचण्ड अनुदार देखिने गरेका छन् । हरिबोल गजुरेल, राम कार्की हुँदै जनार्दन शर्मासम्म कहिँ न कहिँ चेपुवामा परेकै छन् । तर, माओवादी बिस्तारै लोकतान्त्रिक बन्दै गएको छ, अध्यक्ष प्रचण्ड पार्टीभित्रैपनि पहिलेजस्तो शक्तीशाली भने देखिन्नन् । त्यसैले पार्टीभित्रका विद्रोही स्वरहरु विस्तारै बिस्फोट हुने खतरा बढेर गएको छ ।

https://youtu.be/8-ZIIhKNiG0?si=UZ-Vn5jaXa4xI4ot

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update