News 24 Television
रेणुको कनेक्सनमा प्रचण्ड–ओली फिट, देउवाको चाल के ?
prachanda oli

काठमाडौं । सत्ता गठबन्धनमा देखिएको खटपटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि २०७९ पुस १० कै समिकरणमा फर्कने सम्भावना बढेको देखिन्छ ।

प्रचण्डलाई आफ्नो कित्तामै राख्न कांग्रेस सभापति शेरबहादुर देउवा लचक देखिरहेका छन् भने बाजी पल्टाउने प्रयासमा एमाले अध्यक्ष केपी ओली सक्रिय देखिन्छन् । यि परिदृष्यहरुले पनि राष्ट्रियसभाको अध्यक्ष चयनका क्रममा नयाँ ट्विस्ट आउन सक्ने आकलन छ ।

वर्तमान सत्ता गठबन्धन कायम रहने वा भत्किने भन्ने कुराको निक्र्यौल राष्ट्रियसभाको अध्यक्ष चयनका समय हुने देखिएको छ । सत्ता समीकरणमा नै ट्विस्ट ल्याउने ध्याउन्नमा छ एमाले, जसका लागि पछिल्ला दिनहरुमा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग हिमचिम बढाएका छन् ।

यता, प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने बाचा पुरा गर्न नसक्ने संदेश दिएका छन् । यसमा कांग्रेसले कम्परमाइज नगरे सत्ता गठबन्धन भत्किने लगभग निश्चित भएको छ ।

जसरी राष्ट्रपति चयनका लागि यस अघि भएको निर्वाचनका समय माओवादीलाई एमालेबाट अलग बनाई देउवाले कांग्रेसलाई सरकारमा इन्ट्री गराएका थिए, ठिक त्यसैगरी राष्ट्रियसभा अध्यक्ष चयनका समय ओलीले पासा फ्याँक्ने तयारी गरेका छन् ।

चुनावी गठबन्धनबारे कांग्रेसको महासमिति बैठकको माहोलपछि बिच्किएका प्रधानमन्त्री प्रचण्डलाई फकाउन देउवाले प्रयास नगरेका होइनन् । तर बाम एकताको प्रस्तावमा प्रचण्डलाई आकर्षित गर्ने ओलीको प्रस्ताव सफल हुने देखिएको छ ।

कोशीमा गठबन्धनबाट माओवादीलाई भएको धोका र कांग्रेस महासमितिको माहोलले प्रचण्डलाई कांग्रेससँग असुरक्षा महशुस गराएको छ ।

यो अवस्थामा प्रचण्डलाई फकाउने हरसम्भव प्रयास एमाले अध्यक्ष ओलीले गरिरहेकै छन् । भरतपुरकी मेयर रेणु दाहालको नाम समेत लिन नरुचाउने ओली, रेणुकै निमन्त्रणामा भरतपुर भ्रमण वर्षको उद्घाटनमा चितवन पुगेर रेणुसँग सहकार्य गर्न चाहेको बताउनुले यसलाई पुष्टी गरेको छ ।

यस अघि बिहिबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले सरकार परिवर्तनको संदेश सार्वजनिक रुपमै दिइसकेका छन् ।

सत्ता गठबन्धन भित्रपनि प्रधानमन्त्री र एमाले अध्यक्षको पछिल्लो निकटतालाई लिएर डर पैदा भइसकेको छ । मुखैमा आएको प्रधानमन्त्री हातबाट फुत्किने महशुस कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा एसका अध्यक्ष माधव नेपालले गरिसकेका छन् ।

सत्ता गठबन्धनमा परेको भ्वाङलाई ढाकछोप गर्न उनीहरु लागिपरेका छन् । देउवा–नेपालको यो छटपटीले गठबन्धन फुटको संघारमा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँगको सहकार्यले सकस हुँदै गएको छ । मन्त्री फेर्ने कुरामा देउवाको असहयोग, अर्थमन्त्री डा. प्रकाशशरण महतको असफलता, स्वास्थ्यमन्त्री मोहन बस्नेतका कारण संसदमा प्रतिपक्षी दलको दवाव तथा आगामी निर्वाचनमा कांग्रेसबाट सहयोग नहुने परिवेशले प्रचण्डलाई सोचमग्न बनाइरहेको छ ।

यो अवस्थामा सरकारको भारी कांग्रेसको काँधबाट फेरेर एमालेको काँधमा राखि अघि बढ्ने र भविष्यमा बाम एकताकै प्रयास गर्ने विकल्पमा प्रचण्ड अगाडी बहिरहेका देखिन्छन् । यद्दपी, यसको वास्तविक परिणाम भने राष्ट्रियसभाको निर्वाचनकै समय मात्रै थाहा हुनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update