News 24 Television
विद्युतीय सवारी किन्नेको भीड, आकर्षणको कारण के ?
bijuli bas
  • प्रकाश न्यौपाने

रुपन्देही । रुपन्देहीको बेलहिया नाका हुँदै विद्युतीय सवारी आयात ह्वात्तै बढेको छ । डिजेल, पेट्रोल महंगिदै जानु, पछिल्लो वर्षहरुमा राजमार्ग तथा स्तरीय होटल र पेट्रोल पम्पले समते चार्जिङ स्टेशन बनाउन थालेपछि विद्युतीय सवारी आयात बढ्दै गएको हो ।

भैरहवा भन्सार कार्यालयको पछिल्लो तथ्यांक अनुसार बेलहिया नाकाबाट डिजेल पेट्रोलबाट चल्ने सवारी भन्दा विद्युतीय सवारीको आयात ४६ प्रतिशतले बृद्धि भएको छ ।

रुपन्देहीको बेलहिया नाका हुँदै विद्युतीय सवारी आयात बढेको छ । छोटोछोटो दूरीमा गाडीलाई आवश्यक सर्भिस सेन्टर तथा चार्जिङ स्टेशनहरु धमाधम बन्न थालेपछि विद्युतीय सवारी आयात बढेको छ । पछिल्लो ७ महिनाको तथ्यांक मात्रै हेर्ने हो भने पनि डिजेल–पेट्रोलबाट चल्ने चारपाँग्रेस भन्दा विद्युती सवारी आयात झण्डै दोब्बर छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार अघिल्लो वर्षदेखि विद्युतीय गाडीको आयात बढ्न थालेको हो ।

भैरहवाबाट कहिले कति भित्रिए सवारी ?

– चालु आर्थिक वर्ष २०८०\२०८१ को साउनदेखि माघसम्म २ हजार ६६ वटा विद्युतीय कार, जीप र भ्यान

– पेट्रोल डिजेलबाट चल्ने कार, जीप र भ्यान १ हजार ५ सय ९

– अघिल्लो आवमा २ हजार २७० वटा विद्युतीय कार जीप आयात

– अघिल्लो आवमा वर्ष पेट्रोल डिजेलबाट चल्ने जीप, कार र भ्यान १ हजार ६३१ वटा आयात

– पेट्रोल डिजेलबाट चल्ने कार, जीपभन्दा विद्युतीय गाडीको आयातमा ४६ प्रतिशतले वृद्धि

अहिले सात महिनामै विद्युतीय सवारी आयात ह्वात्तै बढेको छ । विद्युतीय गाडीको तुलनामा इन्धनबाट चल्ने गाडीका करका दरहरु अधिक छन् ।

त्यसैले भारतमा सस्तोमा पाइने गाडी नेपाल भित्रिँदा अढाई गुणासम्म महँगो हुने गर्छ । इन्धनबाट चल्ने कार जीपमा भन्सार शुल्क ८० प्रतिशत, अन्त शूल्क ६५ प्रतिशत, मुल्य अभिवृद्धिकर १३ प्रतिशत र सडक विकास कर ५ प्रतिशत लाग्छ ।

कारजीप भ्यानको इन्जिन क्षमता र सिट संख्याका आधारमा महसुल लाग्छ । त्यसैगरी विद्युतीयकार जीपमा भने भन्सार शूल्क १५ प्रतिशत, अन्तशुल्क शून्य प्रतिशत, मूल्य अभिवृद्धि कर १३ प्रतिशत र सडक विकास कर ५ प्रतिशत लाग्छ ।

अन्त शूल्क नलाग्ने र भन्सार शूल्क पनि न्यून भएका कारण विद्युतीय कार जीप सस्तोमा नेपाल भित्रिने गर्छ । व्यवसायीका अनुसार आयात जसरी पछिल्ला वर्षमा नेपालमा विद्युतीय सवारीको विक्री पनि निकै राम्रो छ ।

नेपालका अन्य नाकाहरुबाट पनि विद्युतीय कार जीप बढी भित्रिरहेको तथ्यांकले देखाउँछ । इन्धनबाट चल्ने कार जीपको भन्दा मूल्यमा कम, एक पटक चार्ज गरेपछि कम्तिमा ३ सय किलोमीटरसम्म सजिलै चल्ने र पहिलेभन्दा बढी चार्जिंङ स्टेशन राजमार्गका साथै सहर बजारमा, होटलहरु तथा सर्भिस सेन्टरमा समेत उपलब्ध हुन थालेपछि यसतर्फ उपभोक्ताको आकर्षण बढ्दो छ ।

बर्सेनि अर्बौको पेट्रोलियम पदार्थ आयात भइरहेका बेला विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा यसले पेट्रोलियम पदार्थको आयात कम गर्नमा सहयोग पुग्छ नै वातावरणीय प्रदूषणमा समेत सकारात्मक प्रभाव पार्दर्छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update