News 24 Television
कस्ले गर्ला सुवासको ‘रिप्लेसमेन्ट’ ? (भिडियो)
thumb
  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । यो सँगै सबैभन्दा बढी चर्चा इलाम क्षेत्र नम्बर – २ को भइरहेको छ । यस क्षेत्रका लागि दल तथा नेताहरुले चुनावी सरगमी तीव्र पारेका छन् ।

पूर्व सभामुख स्व.सुवासचन्द्र नेम्वाङले लामो समय प्रतिनिधित्व गरेको यो क्षेत्रमा हुन लागेको उपनिर्वाचनका कारण पनि इलाम – २ को चर्चा अत्याधिक भइरहेको हो ।
उपनिर्वाचनका लागि विभिन्न दलका आकांक्षीहरु टिकटका लागि नेता भेट्न दौडधुपमा गरिरहेका छन् । ०७९ को निर्वाचनमा यस क्षेत्रमा सत्तारूढ गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच कडा प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा नेपाली काँग्रेसका डम्बर खड्का जम्मा एक सय १४ मतले पराजित भए ।

खड्कालाई झिनो मतान्तरले पराजित गर्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । सो क्षेत्रबाट निर्वाचित नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । उनको मृत्यु भएपछि यस क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

गठबन्धन दलहरुको आ–आफ्नै दाउ

हाल नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनकै सरकार छ । तर काँग्रेस र माओवादीबीचको दरारताका कारण इलाममा पनि आ–आफ्नै उम्मेदवार उठाउने दावी भइरहेको छ ।

काँग्रेसको महासमिति बैठकमा आगामी निर्वाचन एक्लै लड्नुपर्ने नेतृत्वसामु चर्को आवाज उठाइयो । जसका कारण काँग्रेस आगामी निर्वाचनमा एक्लै जाने मुडमा पुगिसकेको छ ।

त्यस्तै हाल जारी माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल समक्ष नेताहरुले एक्लै चुनावमा जानुपर्ने मत जाहेर गरिरहेका छन् ।

जसका कारण आगामी निर्वाचनमा सत्ता गठबन्धनमा चुनावी तालमेल हुने सम्भावना कम हुँदै गएको छ ।

कुन दलबाट को–को आकांक्षी ?

इलाम – २ को उपनिर्वाचनमा काँग्रेसबाट ०७९ सालमा एमालेका उम्मेदवार नेम्वाङसँग पराजित इलाम सभापतिसमेत रहेका डम्बर खड्काको सशक्त दावी रहने निश्चित छ ।

त्यस्तै काँग्रेसकै महासमिति सदस्य भेषराज आचार्यको नाम चर्चामा रहेको छ । पूर्वजिल्ला सभापति तथा पूर्वसांसद केशव थापा र नगेन्द्र कुमाले समेत उम्मेदवारमा दावी गरिरहेका छन् ।

त्यस्तै एमालेबाट स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङको बढी चर्चा छ । युवा उम्मेदवारको उच्च डिमान्ड भइरहेका बेला सुहाङको समभावना पनि उत्तिकै बलियो छ । तर एमाले नेतृत्वले उनलाई टिकट दिए जिल्लामा विद्रोह हुने संभावना पनि उतिकै छ ।

त्यसकारण उनको उम्मेदवारी रहने नरहने भन्नेमा निश्चित छैन । यद्यपि उनले उम्मेदवारी दिनसक्ने संकेतहरु भने आइरहेको छ । त्यस्तै एमालेबाटै जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदी, स्व. नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनालको पनि चर्चा हुँदै आएको छ ।

त्यस्तै सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू, पूर्वजिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा, जिल्ला सह–इन्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईको नाम पनि चर्चामा रहेको छ ।

त्यस्तै माओवादी पार्टी त्याग गर्न लागेका पत्रकार मिलन लिम्बूले स्वतन्त्र उम्मेवारी दिने उद्घोष गरिसकेका छन् । आदिवाशी जनजाति पत्रकार महासंघका केन्द्रीय महासचिवसमेत रहेका लिम्बू माओवादीसँगै आबद्ध छन् ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद (केपी) पालुङ्वाको नाम चर्चामा रहेको छ । उनी गएको निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।

पालुङ्वालाई पहिचान पक्षधरले सहयोग गर्ने एकथरीको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी –एकीकृत समाजवादी) का तर्फबाट समेत उम्मेदवारीको चर्चा भइरहेको छ ।

पार्टीबाट पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनालको चर्चा हुन थालेको छ ।

उनी गएको निर्वाचनमा इलाम १ बाट पराजित भएका थिए । एकीकृत समाजवादीले जिल्ला कमिटीको निर्णयबाट मात्र उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि खटाएर अवस्था बुझ्ने र उम्मेदवार टुङ्गो लगाउने बताएको छ ।

रास्वपामा पनि केन्द्रीय सदस्य ‘रमेश प्रसाईंलाई टिकट दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ । रास्वपाले यो निर्वाचनमा स्थानीयलाई प्राथमिकता दिँदै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रसाईँ झापाका बासिन्दा हुन् । त्यस्तै रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि चर्चा हुँदै आएको छ । यद्यपि रास्वपामा को उम्मेदलवार बन्ने भन्ने निश्चित भइसकेको छैन ।

हाल सत्ता गठबन्धन र अन्य दलहरुबीचको चुनावी तालमेल पनि नहुने अवस्था देखिन्छ । साथै राजनीतिक दलहरुप्रति नागरिकको बदलिदो दृष्टिकोण र फरक मतले इलाम – २ को उपनिर्वाचन अझ रोचक हुने पक्का छ ।

यो अवस्थामा केन्द्रीय राजनीतिमा बलियो ‘पोर्टफोलियो’ बनाएको स्वर्गिय सुवास नेम्वाङको स्थान कस्लो प्रतिस्थापन गर्ला त्यो भने प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update