
काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले लुम्बिनीमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुन लागेको हो ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष सहित विभिन्न धार्मिक संघ संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ हुने भएको हो ।
विकास कोषका अनुसार फागुन २०, २१ र २२ गते गरी तीनदिनसम्म त्रिपिटक पाठ हुने छ । यसपटकको त्रिपिटक पाठले लुम्बिनीमा विश्वकै ध्यान खिच्ने आयोजकको दावी छ ।
बौद्ध दर्शनमा त्रिपिटकको बिशिष्ट महत्व रहेकाले लुम्बिनीमा हुने यस कार्यक्रमले बुद्ध दर्शन र लुम्बिनीको प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ । गौतम बुद्धले ४५ वर्षसम्म बहुजन हित सुखका लागि देशना गर्नुभएको सुत्र पिटक, विनय पिटक र अभिधर्म पिटकको संग्रह नै त्रिपिटक हो ।
जसमा ८४ हजार धर्मस्कन्धहरु समावेश छन् । अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचारप्रसार गर्नु यस कार्यक्रमको उद्धेश्य हो ।
त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापान लगायत देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागिता रहने छ ।