News 24 Television
गोदावारी तरङ्गले फेरि नजिकिए प्रचण्ड र ओली, वाम–गठबन्धनको पूर्वतयारी !
deuba
  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । दलहरुको बदलिँदो गतिविधीले सत्ता समीकरण र सरकारको नेतृत्व अदलबदल हुनसक्ने खतराको संकेतहरु देखा पर्न थालेका छन् ।

काँग्रेसमा गठबन्धनबारे चर्को आलोचना हुनु र यही छेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको निकटता बढ्नुले गठबन्धन फेरिनसक्ने शंकालाई थप बल पुर्याएको छ ।

योसँगै अब काँग्रेस माओवादीसहितको वर्तमान सत्ता गठबन्धनको भविष्य नै संकटमा पुगेको टिप्पणीसमेत हुन थालेको छ । काँग्रेस महासमिति बैठकमा गठबन्धन निरर्थक र अनावश्यक भएको भन्दै महामन्त्री गगन थापाले यसको औचित्यमाथि प्रश्न मात्रै उठाएनन् ।

उनले गठबन्धनकै कारण गत निर्वाचनमा काँग्रेसको लोकप्रिय मतमा ७ प्रतिशत ह्रास आएको प्रतिवेदन प्रस्तुत गरे ।

थापाले चुनाव अघिकै गठबन्धनलाई अस्वीकारसमेत गरेका छन् । उनले भविष्यमा काँग्रेस कार्यकर्ताले रुख बाहेक अन्य चुनाव चिन्हमा भोट हाल्न नपाउने वातावरण बनाउनुपर्ने भन्दै गठनबन्धनप्रति कडा असन्तुष्टि प्रकट गरे ।

यसका साथै काँग्रेसमा हिन्दू धर्मको एजेन्डा बोक्नेगरी धर्म निरपेक्षताको विपक्षमा आवाज उठ्नुपनि देउवाको चुनौतिको कारण बन्यो ।

हिन्दू धर्मको एजेन्डा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको लागि आमान्य विषय हो । यसैको कारण गठबन्धन टुट्नसक्ने चर्चासमेत चल्दै आएको छ । तर देउवाले महासमिति बैठकमा उठेका ती आवाजहरुलाई गठबन्धनमा प्रभाव नपर्ने गरि पछि निर्णय गरिन भन्दै बैठकको समापन घोषणा गरे । यद्यपि सरकारको नेतृत्वको गर्ने पालो कुरेर बसेका देउवाले महासमिति बैठकमै गठबन्धनको पक्षमा उभिएर आवश्यक्ता र परिस्थितिका कारण चुनावी तालमेल भएको जवाफ दिए । त्यसैको निरन्तरता स्वरुप वर्तमान सरकार बनेको देउवको प्रष्टिकरण छ ।

उता देउवाले महासमिति बैठकमा गठबन्धनमाथि उठेका प्रश्नहरुको प्रष्टिकरण दिइरहँदा यता प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले सिंहदरबारमा वान टु वान वार्ता गरे ।

त्यसपछि देउवा झन तनावमा परेका छन् । गगनले बैठकमा आफ्नो अडानलाई कायम राखिरहेको बेला सिंहदरबारमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भइरहेको थियो । पार्टीमै अफ्ठ्यारो समयको सामना गरिरहेका देउवा प्रचण्ड–ओली भेटको सूचना पाए लगत्तै वालुवाटार हानिए ।

त्यसपछि प्रधानमन्त्रीलाई भेटेर पार्टीभित्रको आन्तरिक विवादले गठबन्धनमा कुनै असर नपर्ने भन्दै विस्वस्त पार्ने प्रयास गरे । तर गठबन्धनकै कारण नेतृत्वमा भएर पनि प्रचण्डले राम्रो काम गर्न सकिरहेका छैनन् ।

काँग्रेसको पटक पटक धोकाका कारण निरास प्रचण्ड देउवासँग विश्वस्त पनि हुन नसकिरहेको अवस्था छ । यसै कारण माओवादी र एमालेको सामिप्यता दिन दिनै बढिरहेको हो । यो अवस्थामा एमाले र माओवादीको सहकार्य नरहला भन्न सकिने अवस्था अवस्था छैन ।

त्यसैले कांग्रेसले साथ छोडे एमालेको सहयोगमा सरकारलाई निरन्तरता दिने दाउमा प्रचण्ड देखिन्छन् । प्रचण्डले नै ‘व्याक फोर्स’को रुपमा गठन गरेको चार दलिय समाजवादी मोर्चाको संयोजक विप्लवले पनि केही दिनअघि एमालेसँग पनि सहकार्य हुन सक्ने भन्दै वाम गठबन्धनको संकेत गरेका थिए ।

प्रधानमन्त्री पदका लागि माओवादीले सबै कुरा गुमाएको भान गरिरहेका प्रचण्डले काँग्रेसबाट अफ्ठ्यारो महसुस गरे यो रणनीति नअंगाल्लान भन्न सकिन्न । यहीबीच विगतमा कटुता प्रकट गर्ने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सामिप्यता बढेको समेत देखिन्छ ।

विगतमा हरेक स्टेजमा एकअर्का विरुद्ध आगो ओकल्ने उनीहरु अहिले एक अर्कामा सुभकामना आदान प्रदानसमेत गर्न थालेका छन् । शुक्रबार मात्रै प्रधानमन्त्री प्रचण्डले जन्मदिनको अवसर पारेर अध्यक्ष ओलीलाई सुभकामना दिए ।

ओलीलाई टेलिफोन गरेर प्रचण्डले सु–स्वास्थ तथा दीर्घायु होस भन्दै सुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो । यसअघि मंसिरमा जन्मदिनको अवसर पारेर ओलीले टेलिफोन गरि प्रचण्डलाई सुभकामना दिएका थिए ।

एमालेले पनि निर्वाचन पश्चात नै सरकारमा सामेल हुने चाहना दर्शाउँदै आएको छ । उसले काँग्रेस तथा माओवादी दुवै दलसँग सत्ता सहकार्यको लागि भित्रभित्र प्रयास गर्दै आएको छ । तर देउवा माओवादी सँगकै गठबन्धनबाट प्रधानमन्त्री बन्ने चाहनाका साथ विकल्प खोजीहाल्ने अवस्थामा छैनन् ।

अहिले काँग्रेस भित्रको गतिविधि र प्रचण्ड–ओलीको व्यवहार हेर्दा सरकारको नेतृत्व वाम गठबन्धनतर्फ धकेलिनसक्ने अनुमान गर्न सकिन्छ । एकातर्फ काँग्रेसका नेताहरुले वर्तमान सत्ता गठबन्धनलाई अप्राकृतिक भन्दै टिप्पणी गरिरहेका छन् ।

अर्कोतर्फ एमालेले संसदबाटै काँग्रेसका मन्त्रीहरुको राजीनामा माग गरिरहेको छ । यो परिदृष्यलाई पनि वाम गठबन्धनको पूर्वतयारीका रुपमा लिन सकिन्छ । यदी यही उदेश्यले यी गतिविधि भइरहेको हो भने पालो कुरेर बसेका देउवाको प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुने निश्चित छ ।

यी गतिविधिलाई नजिकैबाट नियाली रहेका देउवाले वर्तमान सत्ता गठबन्धन टुट्न नदिन प्रचण्डलाई नै फकाउँछन् वा आफ्नै नेतृत्वमा सरकार गठन गर्न एमालेलाई नै हात लिन्छन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update