News 24 Television
संसदमा सांसद : काम एकातिर विवाद अर्कोतिर ! (भिडियो)
sansad

काठमाडौं । प्रतिनिधिसभाले कानून निर्माण गर्ने र जनताका मुद्दालाई स्थापित गराउन उद्दत हुनुपर्नेमा सत्ता र प्रतिपक्षी दलका सांसदहरुको जुहारीको भड्कालोमा पर्न थालेको छ ।

सांसदहरुले संसदमा एकीकृत र कानून बमोजिमका विषयमा छलफल बहस गर्ने भन्दा पनि अराजकता देखाउन खोज्दा संसदको गरिमामाथि नै संकट देखा पर्न थालेको छ ।

प्रतिनिधिसभामा वहालवाला मन्त्रीको राजीनामा माग र उनीहरुको नैतिकताको विषयसँग विवादमा तानिएको छ ।

मन्त्रीद्वय प्रकाश ज्वाला र मोहनबहादुर बस्नेतले पदबाट राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्ने माग प्रतिपक्षले उठाइरहेको छ ।

दुबै मन्त्रीमाथि गम्भीर आरोप लागिरहेको अवस्था छ । स्वास्थ्य मन्त्री रहेका बस्नेतमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेको छ भने भौतिक पुर्वाधार मन्त्री ज्वालामाथि बालकुमारी घटनाको नैतिक जिम्मेवारी नलिएको आरोप लागिरहेको छ ।

यी विषय सर्वसाधारणमा समेत विवादमा देखिएका छन्, जुन विषयलाई प्रतिपक्षले संसदमा उठाइरहेको छ । तर, संसद अवरोधका विषय यी दुई विषय भन्दा पनि अर्कै कारण हुनुले सभामुख देवराज घिमिरेमाथि समेत कार्य क्षमताको प्रश्न भने गम्भीरतापूर्वक उठ्ने देखिएको छ ।
सभामुख देवराज घिमिरेले संसद सञ्चालन गर्ने, कार्यतालिका बनाउने, हेरफेर गर्ने लगायतका तजबिजी अधिकारको प्रयोग गर्न सक्छन् ।

उनले यस्तो अधिकार पाएपनि बिहीबारको संसदको दृश्यले उनी आलोचनाको सिकार बन्न पुगेका छन् ।

बिहीबार संसदमा राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची हटाउन एमालेले गज्जबको तरिका अपनायो ।

त्यसमा सभामुख पनि साक्षी बनिदिए । एमालेले गणपुरक संख्या नपुगेको भन्दै सभामुखको ध्याणाकर्षण गराएको थियो ।

बर्तौलाले गणपुरक संख्या एकिन गर्न माग गरेपछि सभामुखले संख्या एकिन गर्न रुलिङ गरे ।

सभामुखले यस्तो रुलिङ गरेपछि बैठकबाट विपक्षी सांसदहरु बाहिरिने क्रम शुरु भयो ।

यसरी सांसद बाहिरिपछि गणपुरक संख्या नपुगेको देखाउने एमालेको चाहनामा सभामुख साक्षी बनिदिए र उनले संख्या एकिन गर्न रुलिङ गर्दा बाहिरिएका सांसदबारे केहि बोलेनन् र बैठक स्थगित गर्दा बर्तौला र एमाले सांसद गोकुल बास्कोटा मुस्कुराइरहेका थिए ।

गणपुरक संख्याबारे कांग्रेस सांसद राजन केसीले गम्भीरतापूर्वक संसदमा आवाज उठाए । सांसद केसीले सांसद बाहिरिएको विषयलाई नाटक मञ्चनको संज्ञा दिए ।

केसीको यस्तो आरोपपछि एमाले आक्रोशित बन्यो र यसमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समर्थन जनाएपछि संसदमा शुरु भयो, वादविबाद ।

विपक्षीले संसदमा हुलदंगाको स्थिति नै सिर्जना गरेछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा जंगिदै उठे र सभामुखले दिएको समयमा आक्रोश मात्रै पोखेनन्, राप्रपालाई सांसद पदबाट राजीनामा दिएर सडकमा जान चेतावनी नै दिए ।

सांसद सापकोटाले यतिमात्रैमा रोकिने छाँट भने देखाएनन् । उनले सभामुखमाथि समेत गम्भीर प्रहार गरे । सभामुखको कानलाई कर्णप्रिय नलाग्ने विषयमा के गर्न खोजेको भन्दै कडा शब्दमा प्रहार गरे ।

संसद बैठकमा सभामुखमाथि विभिन्न समयमा प्रश्न उठ्दै आएको छ । यसअघिका सभामुखहरुले समेत विधयेक रोक्ने गरेकोदेखि विभिन्न कारबाही प्रक्रियालाई रोकेर राख्ने गरेको भन्दै विवादीत बनेको देखिन्छ ।

यसरी सभामुखले खेल्नुपर्ने भूमिकामाथि निरन्तर प्रश्न उठ्दै गर्दा यसले संसदको मर्म र भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ ।

संसदको भूमिकामाथिका प्रश्नलाई सांसद सापकोटाले कडा प्रतिवाद मात्रै गरेनन्, संसदका महासचिवको नागरिकता र राहदानी प्रकरणलाई समेत मुद्दा बनाइदिए ।

प्रतिपक्षले विरोधका लागि विरोध मात्रै गरेको आशयमा पेश भएका सापकोटाले महासचिवबारे प्रश्न उठाएपछि स्थिति केहि आक्रान्त जस्तो पनि देखिन्थो ।

यसरी विवाद र संसदमा जुहारी चलेपछि सभामुखले बैठक स्थगित गरे ।
के संसद बैठक सञ्चालनको प्रक्रिया र प्रणाली यस्तै हो ? गणपुरक संख्याको नाममा सांसद गन्ने बेला भाग्ने र सभामुखले त्यसलाई मान्यता दिदै जाने हो ? तमाम प्रश्न उठेका छन् ।

जसले संसदको गरिमामाथि मात्रै प्रश्न उठाएको छैन्, सभामुखदेखि सांसद सबैको क्षमतामाथि समेत गम्भीर आशंका उब्जाइदिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update