News 24 Television
विप्लव सी अब समाजवादी पार्टी निर्माणमा !
Biplob

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव पछिल्लो समय चार दलीय समाजवादी मोर्चाको अध्यक्ष छन् । फागुन ६ गते बसेको मोर्चाको वैठकले विप्लवलाई अध्यक्ष चुनेको हो ।

यसअघि दुई कार्यकाल अध्यक्ष रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नै विप्लवलाई अध्यक्ष प्रस्ताव गरेका थिए । सत्तामा शक्तिको दाउपेचका रुपमा हेरिएको मोर्चाको अध्यक्ष बने लगत्तै विप्लवले विद्यार्थी संगठनको नाम पनि समाजवादी राखिसकेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ क्रान्तिको हुटहुटी देखाइरहने जुझारु नेता मानिन्छन् । तत्कालिन माओवादी युद्धका कमाण्डर एवम् प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्तै कुनै न कुनै तिकडम गरिरहने नेता हुन्, विप्लव ।

माओवादी शान्ति प्रक्रियामा आएलगत्तै प्रचण्डले पतनको बाटोमा गए भन्दै मोहन वैद्य ‘किरण’लाई अगाडि सारेर पार्टी फुटाए । तर वैद्यसँग २ वर्ष पनि सँगै रहेनन् । किरणदाइले क्रान्ति नगर्ने भए भन्दै छुट्टै पार्टी घोषणा गरे ।

शहरका मध्यम वर्गबाट विद्रोह हुने भन्दै ‘एकीकृत जनक्रान्ति’को अवधारणा अघि सारे । वैद्यबाट छुट्टिएपछिको केन्द्रीय समिति बैठकबाट विप्लवले माओवादी नामप्रति नै अरुची राखे ।

माओवादी बदनाम भएको भन्दै पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेर पछाडीको ‘माओवादी’ फुर्को हटाइदिए ।

त्यसपछि राष्ट्रवादी आन्दोलन चर्काउने भन्दै एनसेल टावरमा बम हान्न थाले । उनको जनक्रान्तिको क्रममा ११ जनाले ज्यान गुमाउन गुमाए भने केहीले शरिरका अंगहरु गुमाउन पुगे । क्रान्तिका लागि हतियार खरिद गर्न भन्दै चन्दा आतंक मच्चाए ।

नेता कार्यकर्तालाई समातिने मुद्दा लाग्ने क्रम बढेपछि पार्टी रित्तिदै गयो । कार्यकर्ता छुटाउन तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गर्दै भूमिगतबाट खुला राजनीतिमा उदाए । अहिले पार्टी सबै भन्दा धनी भएको स्वयम् आफैले बताउने गरेका छन् ।

अझ रमाइलो त विप्लवले कही समयअघिदेखि आफूहरुको कुनै जात, धर्म, वर्ग नहुने भन्दै आफ्ना सबै पाटी कार्यकर्ताको नामको पछाडीे ‘सी’लेख्न लगाए । अहिले आफूलाई नेत्रविक्रम चन्द नभई बिप्लव सी भन्ने गरेका छन् ।

केही समयअघि विप्लव सीले ‘प्रचण्डको महापतन’ भन्ने पुस्तक छपाए । तर उनी अहिले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव नेतृत्वको पार्टी सम्बन्ध समाजवादी मोर्चामा रहेर संविधानको रक्षा अभियानमा छन् ।

सरकारको कामको प्रचारका लागि आयोजित मोर्चाको सन्देशसभामा समाजवादको दिशामा अघि बढेको विप्लवले भाषण गर्दै हिँडे ।

माधव नेपालपछि मोर्चाको अध्यक्ष सम्हाले लगत्तै विप्लवले आफ्नो विद्यार्थी संगठनको २३ औं महाधिवेशनबाट संगठनको नाम नै अखिल समाजवादी राख्न लगाए ।

अखिल क्रान्तिकारीको लामो इतिहास मेटाउँदै विद्यार्थी संगठनको नाम नै समाजवादी लेखाएका विप्लव बाबुराम भन्दा पनि अघि समाजवादी पार्टी बनाएर प्रचण्डसँग नजिकिने स्पष्ट संकेत गरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update